मिनी गोसाइँकुण्ड खण्डहर

  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं.–५ मा पर्ने त्रिशूली नदी किनार घट्टेखोला तिवारी बगरमा गोसाइँकुण्ड जान नसक्नेका लागि बनाईएको मिनी गोसाइँकुण्ड खण्डहरमा परिणत भएको छ ।

      २०७० साल बंैशाख २० गते तत्कालिन रसुवाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठको अगुवाईमा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङको समन्वयमा निर्माण भएको मिनी गोसाइँकुण्ड २०७२ को भूकम्पले ध्वस्त भएको थियो । भूकम्पपछि स्थानीय र जिल्ला सुरक्षा निकायको पहलमा मर्मत गरी कुण्ड सञ्चालनमा आएको थियो । उक्त कुण्डको उचित प्रचार–प्रसार र सम्भारको अभावमा अहिले पानी बिहिन पोखरीको रूपमा परिणत भएको छ । त्रिशूली नदीसँगै रहेपनि कुण्ड बनाईएको पोखरीमा अहिले पानी छैन । पत्कर र फोहर थुप्रिएका छन् । गोसाइँकुण्ड पुग्न नसक्नेहरू मिनी गोसाइँकुण्डमा नुहाएर भएपनि धार्मिक लाभ लिन सकिन्छ भनेर बनेको कुण्डको सञ्चालन र रेखदेखमा कसैको ध्यान गएको देखिंदैन । कुण्ड निर्माण भएको दुई साल जनैपूर्णिमा र गंगा दशहरामा भब्य मेला लाग्ने गरेको थियो । धुन्चे बजारबाट आधा घण्टाको पैदल यात्रामा पुग्न सकिने गोसाइँकुण्डको फेदीमा निर्माण भएको मिनी गोसाइँकुण्ड अहिले खण्डहरमा परिणत भएको छ ।

     जिल्लाको शान र मानको रुपमा रहेको गोसाइँकुण्डको फेदमा रहेको मिनी गोसाइँकुण्ड उच्च रक्तचाप बुढाबुुढीलगायत बच्चा जो उकालो जान नसक्नेको लागि स्नान गर्न सानो पोखरी बनाईएको थियो । पानी पनि राखिएको थियो तर मिनी गोसाइँकुण्डमा पनि नुहाउन सकिन्छ भन्ने प्रचारप्रसार हुँदै गएको थियो । अहिले त्यहाँ पानी नहुँदा विगतमा माछा पाल्ने पोखरी होकि कुण्ड हो छुट्टाउन सकिन्न । स्थानीय सरकार बनेपछि त्यस कुण्डको चासो दिनुपर्ने र प्रचार–प्रसारमा जुट्नुपर्ने स्थानीय निकाय अहिले थाहा नपाएको भान गरिरहेको छ । अन्य गाउँपालिकामा पर्यटक प्रवद्र्धनको लागि पर्यटक आकर्षण गर्ने पूर्वाधार निर्माण गर्न होडबाजी चलेपनि यहाँ बनेको पूर्वाधारको संरक्षण र मर्मतमा गाउँपालिकाले ध्यान नदिएको गुनासो उक्त निर्माण भएको कुण्डलाई मर्मत र पूर्ण सञ्चालनको लागि गाउँपालिका र वडा कार्यालयको चासो नदिएको गुनासो गोसाइँकुण्ड होटल तथा लज ब्यवस्थापन उप–समितिका अध्यक्ष रेन्जन तामाङले गर्नुभएको छ । धार्मिक आस्था बोकेको गोसाइँकुण्ड भैरवकुण्ड, सरस्वतीकुण्डलगायतका कुण्डबाट बगेर आएको पानी मिनी गोसाइँकुण्ड हुँदै बगेपनि मिनी गोसाइँकुण्डमा अहिले सुख्खा बालुवा र झारपात देखिन्छ ।

     गोसाइँकुण्ड पुग्न नसक्नेको लागि निर्माण गरिएको मिनी गोसाइँकुण्ड निर्माणको बेलाको जस्तो सक्रियता नदेखिंदा अहिले ओझेलमा परेको छ । मिनी गोसाइँकुण्डलाई पुनः गुल्जार गर्न गाउँपालिकाले यस वर्ष बजेट छुट्याईएको अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनु भयो । धुन्चेदेखि मिनी गोसाइँकुण्डसम्म सडक मार्ग पु¥याउने, धुन्चेमा आएका आन्तरिक एवं बाह्य पर्यटकलाई त्यहाँसम्म सहजरूपमा जाने वातावरण मिलाई पर्यटन प्रर्वद्धन गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयो ।