घ्याङफेदीका पहिरो पिडितलाई तिस लाख सहयोग

विदुर, वाग्मती प्रदेश विपद् ब्यवस्थापन निर्देशक समितिको बैठकले नुवाकोटको घ्याङफेदीका पहिरो पिडितको ब्यवस्थापनको लागि ३० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

२०७२ को भूकम्पपछि जोखिममा रहेको घ्याङफेदीको सिसिपु, नेगीलगायतमा रहेको जोखिम बस्तीको तत्कालै ब्यवस्थापनको लागि यो रकम विनियोजन भएको वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ बताउनु भयो । पहिरोको अबलोकन गर्नका लागि वाग्मती प्रदेशका सामाजिक बिकास मन्त्रि युवराज दुलाल शनिबार घ्याङफेदी पुग्नुभएको थियो । दुप्चेश्वर गाँउपालिकाको सिसिपुमा भदौ २३ गते अबिरल वर्षात्का कारण पहिरो गएको थियो । पहिरोका कारण १ सय ३५ घरधुरी जोखिममा रहेका छन् । उनिहरुलाई अहिले घ्याङफेदीकै बिभिन्न सुरक्षित स्थानमा राखिएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिबाट नेपाल सरकार गृह मन्त्रालयसँगको समन्वयमा बाढी पहिरोबाट संभावित जनधनको क्षति न्यूनिकरणका लागि पहिरोबाट प्रभावित परिवारलाई तत्काल अस्थायी आवासको ब्यवस्था गर्न १ सय १४ थान टेण्ट व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो । अस्थायी आबासको लागि स्थानीय तहले विपद् ब्यवस्थापन समिति नुवाकोटमार्फत उपलब्ध टेण्ट वितरण गरेको छ ।

घ्याङफेदीकै नेगीमा गाँउमाथिको ठुलो चट्टानको कारण ४८ घरधुरी बिस्थापित भएका छन् । उनिहरुलाई पनि सुरक्षित स्थानमा सारिएको छ । प्रदेश सरकारले पहिरो र चट्टानका कारण प्रभावित भएका नागरिकलाई दिर्घकालिन ब्यवस्थापनको लागि जनता आबास कार्यक्रममार्फत सम्बोधन गर्ने सामाजिक विकासमन्त्रि दुलाले बताउनुभएको छ ।