पोष्टबहादुर बोगटीको छैटौं स्मृती दिवस

विदुर, तत्कालिन नेकपा (माओबादी केन्द्र) का केन्द्रिय उपाध्यक्ष पोष्टबहादुर बोगटीको छैटौं स्मृति दिवसमा मंगलबार नुवाकोटमा श्रद्धाञ्जली अर्पण गर्दै स्मरण गरियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटका अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य हिरानाथ खतिवडाको उपस्थितीमा भएको कार्यक्रममा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान नुवाकोटका अध्यक्ष एवं नेकपा वाग्मती प्रदेश सचिवालय सदस्य पुष्प लामिछाने, नेकपाका केन्द्रिय सदस्य एवं संविधानसभा सदस्य बिमला सुबेदी, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितलगायतले उहाँको आवश्यकता अहिलेसम्म खड्किरहेको भन्दै चर्चा गर्नुभएको थियो । नेता पोष्टबहादुर बोगटीको निधन भएको ६ पुरा भएको छ । २०७१ साल भदौ ३० गते बिहान ७ बजेर २५ मिनेटमा बोगटीको निधन भएको थियो । हृदयघात र मस्तिष्कघात भएपछि उहाँलाई सहिद गंगालाल हृदयरोग केन्द्र काठमाडौंमा भर्ना गरिएकोमा मुटुको शल्यक्रियापछि नर्भिक अस्पताल लगिएको थियो । उनको नर्भिकमा निधन भएको थियो ।

नुवाकोटको तत्कालिन क्षेत्र नम्बर ३ बाट २०६४ को संविधानसभा निर्वाचनमा निर्वाचित सभासद् रहनुभएका उहाँ दोसं्रो संविधानसभा निर्वाचन २०७० मा पराजित हुनुभएको थियो । विदुर नगरपालिका वडा नं.–७ तुप्चेमा जन्मिएका बोगटीले उर्जा, सञ्चार, पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । नेपाली आन्दोलनको ऐतिहासिक चरणहरु २०३६ सालको पञ्चायत सुधारको आन्दोलन, २०४६ सालको बहुदल स्थापनाको आन्दोलन, २०५२ सालदेखिको एक दशक लामो जनयुद्ध, २०६२÷६३ सालको दोस्रो जनआन्दोलनमा प्रत्यक्ष नेतृत्व गरेका बोगटी दमन, गिरफ्तार, यातना र कयांै चुनौती माझ पनि नझुक्ने निडर क्रान्तिकारी योद्धा थिए ।

स्वर्गिय पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान नुवाकोट शाखाले स्मृति सभा गर्दै उहाँको विचार र लगावमा नेकपा उत्प्रेरित हुनुपर्ने बताएको छ । सोही दिन बोगटीको जन्मस्थान विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेमा रहेको उहाँको शालिकमा माल्यापर्ण गरी स्मृति दिवस मनाईएको थियो । उहाँको अर्धकदको शालिक स्थलमा उपस्थित भएर स्थानीय उहाँका परिवारजन, आफन्त तथा विभिन्न राजनितिक दलका नेताले श्रद्धाञ्जली अर्पण गरेका थिए । बोगटीको निधनले सिङ्गो देशलाई क्षति पुगेको र नुवाकोट विकास र सम्बृद्धिको यात्रामा निकै पछाडी धकेलिएको भन्दै सहभागीले स्वर्गिय बोगटीको योगदानको स्मरण गरेका छन् ।