कोरोनालाई जितेर आउनेको अनुभव

विदुर, नेपाल पत्रकार महासंघ नुवाकोटका सचिव जगदिश खनाल कोरोना संक्रमित भएर जब आईसोलेसनमा उपचारका लागि पुग्नुभयो, त्यसपछि उहाँले सामाजिक भेदभाव र लाञ्छनाको पीडादायी क्षणको सामना गर्नुप¥यो । उहाँका परिवारका सदस्यले भोगेको पीडा त छँदैछ । खनालले कोरोनालाई जितिसकेर फर्किसंक्दा पनि वरपरका छिमेकबाट हेरिने पूरानो छुवाछुतको जस्तो दृष्टिकोण अझै बद्लिएको छैन ।

     गत भदौ ३ गते संक्रमण भएको खवर पाएपछि खनाल पाँच दिन आईसोलेसनमा बसेर पुनः परीक्षण गर्दा नतिजा नेगेटिभ आएको थियो । अहिले पनि टोलबासीले त्यो कोरोना संक्रमितको घर हो भनेर नराम्रो भावनाले हेर्ने गरेको खनाल बताउँछन् । पानी लिन घरबाहिर निस्कनसमेत बन्देज लगाएर अछुतको दर्जामा राखियो । सर्तक हुँदाहुँदै पनि संक्रमण भएको र कुनै पनि लक्षण नदेखिएको अनुभव सुनाउँदै खनालले संक्रमण हुन नदिन सचेत बन्नु है उत्तम भएको बताउनुभयो । उच्च मनोबल, ब्यायाम र खानपानबाटै कोरोनालाई जित्न सकिने उहाँको अनुभव छ ।

     त्यस्तै, रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं.–२, डाँडागाउँको सबिना तिमल्सिना अधिकारीलाई साउदीमा रहेका पतिसँग भेटघाट गरेर काठमाडौं फर्किएपछि कोरोना संक्रमण भएको आशंका गरियो । कोरोना संक्रमण भएको सुन्नासाथ के होला चिन्ता भयो उहाँ भन्नुहुन्छ । कालिका गाउँपालिका वडा नं.–५ जिबजिबेको ग्रामीण अस्पतालमा रहेको आईसोलेसन बसेर कोरोना जित्नुभएकी उहाँमा कोरोनाको कुनै लक्षण केही देखिएन । कोरोना संक्रमण भएपछि परिवार र समाजमा कुनै पनि नराम्रा ब्यवहार भएन उहाँले भन्नुभयो, कोरोनालाई जितेर खुसी छु । स्वास्थ्यकर्मी तथा सफल भएको बताउँदै उहाँले स्वास्थ्य सतर्कता अपनाएर कोरोनाबाट बच्न सकिने बताउनु भयो ।