विद्यालयको पुनःनिर्माण अन्तिम चरणमा

  • रामहरि न्यौपाने

विदुर, पाँच वर्षअघिको विनासकारी भूकम्प र त्यसपछिका पराकम्पले नुवाकोटका विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पु¥याएको थियो । सरकार र दाताको सहयोगमा नुवाकोटका अधिकांश विद्यालयको पुनःनिर्माण शुरू भएको थियो । अहिले विद्यालय पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।

      गत २०७२ बंैशाख १२ गतेको भूकम्पको कारण क्षतिग्रस्त सामुदायिक विद्यालयको अहिले सुविधा सम्पन्न नयाँ भवनको निर्माण भई हस्तान्तरणको क्रममा रहेको छ भने केही विद्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । २०७२ फागुन १७ गते क्षतिग्रस्त सामुदायिक विद्यालयको पुनःनिर्माणका लागि केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)को स्थापना भएपश्चात थालिएको भवन निर्माणको कामले नुवाकोटमा उल्लेख्य उपलब्धी हासिल भएको इकाई प्रमुख दिनानाथ गौतमले जानकारी दिनुभयो । उहाँको अनुसार जिल्लाको क्षतिग्रस्त विद्यालयको पुनःनिर्माणका कार्यमा सहजीकरण र नेतृत्वदायी भूमिका अरु जिल्लाको लागि पनि उदाहरणीय बनेको छ ।

     भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणका लागि केही कानुनी ब्यवस्था गरिएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्बन्धित ऐन, नियमावली र कार्यविधी भाग-१, विद्यालय पुनःनिर्माण कार्यविधी, (पहिलो संशोधन) २०७५, पुनःनिर्माण सहयोगी पुस्तिका, २०७७, विद्यालय पुनःनिर्माण अभिलेख पुस्तिका, २०७७ लगायतका निर्देशिका र कार्यविधीले पुनःनिर्माण कार्यमा सहजिकरण र गुणस्तरीय कायम गराउन मद्दत पुगेको छ । विनासकारी भूकम्पको समयमा नुवाकोटमा ४ सय ५३ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका थिए । त्यसमध्ये ३ सय ६४ पूर्णक्षति र १ सय २० आंशिक क्षति भएको तथ्याङ्क छ । २०७७ असार मसान्तसम्म विद्यालय ब्यवस्थापन समितिमार्फत निर्माण गरिने २ सय ८५ वटामध्ये २ सय ३२ विद्यालयको पुनःनिर्माण सम्पन्न भईसकेका छन् ।

      त्यसैगरी जापान सरकारको ऋण सहयोगमा पुनःनिर्माण गरिने ५७ विद्यालयमध्ये ५० वटा र भारत सरकारको अनुदान सहयोगमा पुनःनिर्माण गरिने ५ विद्यालयमध्ये ३ वटाको निर्माण सम्पन्न भईसकेको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण तथा अनुदान सहयोगमा विपत् उत्थानशील विद्यालय परियोजना मार्फत ६ वटा विद्यालयमा पुनःनिर्माणका कार्य भईरहेका छन् । त्यस्तै ३ वटा विद्यालयको प्रवलिकरण लागि बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । आ.व.२०७६/०७७ देखि भारत सरकारको अनुदान सहयोगमा थप चारवटा विद्यालय भवन पुनःनिर्माण शुरु भएको छ । गैरसरकारी संस्था र ब्यक्तिगत दाताले पनि जिल्लाका १ सय ८७ विद्यालयको भवन र शौचालय पुनःनिर्माण गरेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का इकाई प्रमुख गौतमले जानकारी दिनुभएको छ । नुवाकोटमा नेपाल सरकारको अनुदान, जापान सरकारको ऋण सहयोग, भारतीय सरकारको अनुदानबाट विद्यालय भवन पुनःनिर्माणको काम भईरहेका छन् ।

       नेपाल सरकारले आ.व.२०७३/०७४ देखि २०७७ असार मसान्तसम्म विद्यालय ब्यवस्थापन समिति मार्फत निर्माण भएका विद्यालयका आपतकालीन विद्यालय पुनर्निर्माण आयोजना अन्तर्गत जापान सरकारको ऋण सहयोगमा ५७ वटा विद्यालयको लागि २ अर्ब १५ करोड ३० लाख ८५ हजार ६ सय १७ रुपैयाँ लागत अनुमान रहेको छ । त्यसैगरी विपद् उत्थानशील विद्यालय परियोजनामार्फत ६ वटा विद्यालय पुनःनिर्माण भइरहेका छन् । त्यसको लागत अनुमान २४ करोड ८७ लाख ५४ हजार ६ सय ६८ रहेको छ । भारत सरकारको अनुदानबाट ९ वटा विद्यालय भवन पुनःनिर्माणको कार्य भईरहेका छन् । तिनको लागत अनुमान करीब ४२ करोड दुई लाख रुपैयाँ छ । जापान सरकारको अनुदान सहयोगमार्फत त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय त्रिशूली बजारको १० करोड ११ लाख निर्माण सम्पन्न भईसकेको छ ।