कोरोनामै विनपाको १ करोड ४६ लाख खर्च

विदुर, विदुर नगरपालिकाले कोरोना संक्रमण, रोकथाम र नियन्त्रणको कार्यमा १ करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ ।

     विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोकथाम तथा न्युनीकरणको लागि विदुर नगरपालिकाले मात्र डेढ करोड रुपैयाँ खर्च गरेको हो । नगरपालिकाको ठूलो खर्च स्वास्थ्य सामाग्री खरिदमा भएको छ । यस्तै, क्वारेनटाईन निर्माण तथा ब्यवस्थापन, दैनिक ज्यालादारीमा काम गर्नेलाई संक्रमणकालिन अवस्थामा राहत वितरणलगायतको शिर्षकमा ठुलो रकम खर्च भएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनु भयो । कार्यालयलाई कोरोना संक्रमण, रोकथाम र नियन्त्रणका लागि विभिन्न क्षेत्रबाट १ करोड १८ लाख रुपैयाँ सहयोग प्राप्त भएको र प्राप्त सहयोगलाई कोरोना विपद् पूर्व तयारी, क्वारेन्टाईन सञ्चालन, प्रचार–प्रसार र जनचेतनामूलक कार्यमा खर्च गरिएको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार कार्यालयले वडास्तरीय राहत वितरण कार्यक्रममा २३ लाख ८४ हजार, कोरोना विपद् पूर्व तयारीमा ९ लाख ५८ हजार ५ सय ३८ रुपैयाँ, स्वास्थ्य सुरक्षा सामाग्री खरिदमा २५ लाख ८७ हजार २ सय ९७ रुपैयाँ, रेडियो र टेलिभिजन मार्फत प्रचारप्रसारमा १ लाख ८ हजार २ सय ५० रुपैयाँ र मास्क खरिदमा ४ लाख ४५ हजार ६ सय ३४ रुपैयाँ खर्च गरेको छ ।

     नगरपालिकाले एम्बुलेन्स, शव वाहन र अन्य सवारी साधनको भाडा र मर्मतमा ७ लाख ९४ हजार २ सय ९६ रुपैयाँ, सुत्केरी राहत कार्यक्रममा ४ लाख ९ हजार ७४ रुपैयाँ, त्रिशूलीमा रहेको क्वारेन्टाईनमा १९ लाख ७७ हजार ९ सय ७४ रुपैयाँ, चैनपुर क्वारेन्टाईनमा १७ लाख २७ हजार ६ सय २ रुपैयाँ, च्वाडी क्वारेन्टाईनमा २० लाख १८ हजार ५ सय ४९ रुपैयाँ तथा त्रिशूली अस्पतालको आईशोलेसन निर्माणमा १२ लाख रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको छ । कोरोना संक्रमण, रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले ६२ लाख रुपैयाँ विनियोजन गरेकोमा संघीय सरकारबाट ३ लाख ५४ हजार ८ सय रुपैयाँ, कर्मचारी र शिक्षकको तलब सहयोगबाट १८ लाख २७ हजार, च्वाडी क्वारेन्टाईनका लागि विभिन्न गाउँपालिकाहरुबाट ८ लाख २८ हजार, प्रदेश सरकारबाट १२ लाख रुपैयाँ प्राप्त भएको विवरण सार्वजनिक गरेको हो । नगरपालिकालाई नगर क्षेत्रभित्र रहेका विभिन्न संघ, संस्था तथा सहकारीले कोरोना रोकथाम तथा नियन्त्रणको लागि आर्थिक सहयोग गरेका थिए ।