नुवाकोटमा ७ दिनमा ८ कोरोना संक्रमित

विदुर, सरकारले लामो लकडाउन र स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा बिहीबारबाट केही क्षेत्र बाहेक सम्पूर्ण खुला भएको छ । सरकारले असोज १ गतेदेखि स्थानीय यातायात, होटल, रेष्टुरेण्ट, अन्तरजिल्ला यातायातलगायतका क्षेत्रमा खुला गरेसँगै कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ । बुधबारसम्म नुवाकोट जिल्लामा कोरोना संक्रमितको संख्या १ सय २३ पुगेको छ । जिल्लामा ७ दिनमा ८ जना कोरोना संक्रमित थपिएका छन् ।

     संक्रमितमध्ये त्रिशूली अस्पतालको आईसोलेसनमा १४ जनाको उपचार भईरहेको छ भने १ सय ८ जना उपचारपछि निको भएर घर फर्केका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका जनस्वास्थ्य निरीक्षक जनार्दन सिलवालका अनुसार तादी गाउँपालिका ठेगाना भएका २३ वर्षिय एक पुरुष होम आईसोलेसन नुवाकोटमा बसेका छन् । नुवाकोटमा कोरोना निको भएर घर फर्कनेको संख्या १ सय ८ जना पुगेको छ । जसमा ८२ पुरुष र २६ जना महिला रहेका छन् । पिसिआर परीक्षणको नतिजा बुधबारसम्म ६८ पुरूष र २५ महिला गरी ९३ जनाको प्राप्त हुन बाँकी रहेको कार्यालय प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो । अहिलेसम्म जिल्लाका ४ हजार ४ सय ९ जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिसकेको बताउनु भयो ।