स्थानीय सरकार उदासिन : रसुवाको मौलिक नामहरु लोप हुँदै

  • फुर्पा तामाङ

कुनै पनि जाति वा समुदायको भाषा, धर्म वा संस्कृति लोप हुनु भनेको त्यो जाति वा समुदायको सभ्यता नष्ट हुनु हो । भाषा पनि संस्कृतिकै एउटा पाटो हो । अतः पितापूर्खाले बोलेको भाषा संरक्षण गर्नु हामी सम्पूर्ण सन्ततीको दायित्वभित्र पर्दछ र अझ ठूलो दायित्व स्थानीय सरकारको हो ।

      मौलिक नामहरु विभिन्न कारणले लोप हुने गर्छन् । अन्य जातजाति वा समुदायमा भने यसरी गरिने नाम परिवर्तनले खासै असर प्रभाव नपर्न सक्छन् । तर, आदिवासीमा भने यसको असर प्रभाव दिर्घकालीन रुपमा पर्ने हुन्छ । किनभने उनीहरु प्रकृतिपूजक हुन् । गाउँठाउँको सिमेभूमे (नेदाशिब्दा) मान्छन् । उनीहरुको लिखित इतिहास पनि हुँदैनन् । गाउँठाउँ वा मानिसको मौलिक नाममा परिवर्तन हुँदै जाँदा उनीहरुको मौखिक/कथ्य इतिहासमै समेत असर प्रभाव पर्न जान्छ । अतः यस आलेखमा त्यसबारे केही उल्लेख गरिने छ :-

(क) शासन शक्तिमा आएको परिवर्तनका कारण :
कुनै बेला शासन शक्तिमा आएको राजा–महाराजाहरू आएपछि उनीहरुले आफ्नो नाम र रानीहरुको नामसँग जोडीदिएर परम्परादेखि रहँदै आएको नाममा फेरबदल गरिदिन्छन् । जस्तै विरेन्द्र चोक, महेन्द्र राजमार्ग, पृथ्वीनारायण चोक आदि । यसैगरी राजनैतिक दलका ठूला नेताहरुको नामसँग पनि जोडेर परम्परागत भनिंदै आएका नाममा परिवर्तत गरिदिन्छन् । जस्तै विपीमार्ग, पुष्पलालचोक आदि । त्यसरी नै शहिद र राष्ट्रिय विभूतिहरुको नामबाट पनि पूराना नाम भएको ठाउँमा परिवर्तन गरिदिन्छन् । त्यसैगरी राजनैतिक नक्सा जारी गर्दा समेत स्थानीय नामलाई बेवास्ता गरेको देखिन्छ । जस्तैः रसुवाको सदरमुकाम धुन्चेको पुरानो नाम ‘दुङल्हाङ्’ हो । यसको अर्थ शंखाको धुन बजेको ध्वनी तरङ्ग भन्ने हुन्छ । ठूलोभार्खुको पुरानो नाम बर्गोकतोक् हो । स्याफ्रुवेंशीको पुरानो नामवाङ्पी हो । शेर्पा गाउँको पुरानो नाम श्यारपाको हो । टिमुरेको पुरानो नाम सेदाङ हो । घट्टे खोलाको पुरानो नाम बोङ्सेरे हो । थुमनको पुरानो नाम थोङ्मेन् हो । गत्लाङको पुरानो नाम गलाङ हो । चिलिमेको पुरानो नाम मोगा हो । थाम्बुचेतको पुरानो नाम थाङ्माच्ये हो । राम्चेको पुरानो नाम ज्योङ्याङ् हो । गोम्बुडाँडाको पुरानो नाम गोम्बोगङ् हो । सस्र्यूंको पुरानो नाम सेस्र्योङ् हो ।

(ख) अन्य धर्मको ज्यादति वा धर्म परिवर्तन :
धर्म परिवर्तनबाट पनि मौलिक नाममा असर प्रभाव पर्दछन् । यसरी नामहरु परिवर्तन गरिंदा कुनैकुनै जातजाति वा समुदायलाई खासै असर प्रभाव पर्दैन । बौद्ध धर्म र बोन धर्म मान्ने आदिबासी जातजाति वा समुदायले आफ्नो गाउँठाउँको नाम सोहीअनुसार राख्दै आएको पाईन्छ । अन्य धर्मको ज्यादति वा धर्म परिवर्तनले गर्दा ती परम्परादेखि भनिंदै आएको गाउँठाउँको नाममा परिवर्तन देखिन थालेका छन् । उदाहरणको लागि स्थानीय तामाङ जातिले राखेको छोकरको नाम गोसाइँकुण्ड र आमाछोदिङ्मोको नाम पार्वतीकुण्ड राखिएका छन् । क्रेचोङ डुप्क्षुलाई शिखरवेंशी महाँदेव राखेको देखिन्छ । मानिसको नाउँमा पनि छिरिङपासाङ तमाङको सट्टा रामबहादुर तमाङ वा पिटर तमाङ, दावा छेन्जोम तमाङको सट्टा राधिका तमाङ वा मारियाम तमाङ राख्न पुग्छन् ।

(ग) विकास कार्य :
आधुनिक विकासको नाउँमा गरिने विकास सम्बन्धी क्रियाकलापले पनि आदिबासी जनजातिको परम्परादेखि भनिंदै आएका गाउँठाउँको नाममा पनि परिवर्तन गर्ने कामहरु भएका छन् । विभिन्न विकास आयोजनाले उनीहरु सुहाउँदो नाम राखेर आयोजना सञ्चालन गर्छन् । उदाहरणको लागि चिलिमे जलविद्युत् आयोजना । यो आयोजनाको नाम चिलिमे खोलाको नामबाट राखिएको देखिन्छ । बास्तवमा चिलिमे खोलालाई स्थानीय नामबाट ‘मोगालुङ’ भनिन्छ । मोगा गाउँलाई पनि चिलिमे भनेर राखिएछ । त्यसैगरी साङजेन हुनुपर्नेमा ‘सान्जेन’ जलविद्युत् आयोजना भएको छ । लिङलिङ छेवैको खोलाको नाम स्थानीय भाषामा क्वीलुङ वा क्षुलुङहुनु पर्नेमा सडक विभागले राखेको साईनबोर्डमा ‘कुलुङ’खोला लेखेर राखेको देखिन्छ । क्वीलुङवा क्षुलुङको अर्थ पानीखोला हो । कुलुङको अर्थ के ? पूर्वका राई, लिम्बु वाकिराँतीहरु आयो भने यो ठाउँमा कुलुङजाति रहेछ भनेर अनुमान गर्न सक्छन् । तर, कुरो सत्य होइन । यो ठाउँमा कुलुङ जाति छैन । गोल्जोङ र कोमिनको सिमाना डाँडोलाई बाहुङ वा बक्कोङल्आ अर्थात बक्कोङ लेक भनिन्थ्यो/भनिन्छ । सोमदाङ सडक खन्ने बेलामा बाहुन डाँडा भनेर साईनबोर्ड लेखेर टाँगेदेखि अहिले बाहुन डाँडा भन्छन् । यो डाँडामा कुनै बाहुन जातिको बसोबास छैन ।

      अन्त्यमा, नेपाल संघीय ब्यवस्थाको कार्यान्वयनको शुरुवातीमा छ । संघीयता कार्यान्वयनको लागि देशमा तीन तहका सरकार छन् । संघीयताको आधारभूमि वा जग भनेको स्थानीयतह नै हो । स्थानीय जनतासँग प्रत्यक्ष देखिने र सुनिने गरी सरकार हुनुपर्छ भन्ने अवधारणामै संघीय ब्यवस्थाको जन्म भएको हो । अतः स्थानीय सरकारले आफ्नो गाउँठाउँको पुरानो ऐतिहासिक आधारमा मौलिक नाम जोगाउने र नयाँ गरिने विकास कार्यमा समेत मौलिक नामको निरन्तरता दिने कुरामा ध्यान जानुपर्छ । यसअघि र अहिले पनि काम गर्दै जाँदा देखिएका कमजोरी सच्याउँदै र संशोधन गरेर जानुपर्छ । मौलिकपनको संरक्षण, सम्बर्धन र प्रयोगले ऐतिहासिक तथ्य र प्रमाणको निरन्तरता हुन्छ । धार्मिक, साँस्कृतिक पर्यटन प्रवद्र्धनमा यसको महत्व हुन्छ । इतिहास, संस्कृति र पुरातात्विक विषयमा अध्ययन अनुसन्धान गर्ने सोधकर्ता तथा विद्यार्थीको लागि उपयोगी हुन्छ । आदिवासी जातजाति र समुदायप्रति सरकारको कार्यशैली मैत्रीपूर्ण भएको देखिन्छ ।

ठूलोभार्खु, रसुवा ।
२०७७/०५/१३

                                                                                                                                                                                                                                                                                     phurpatamang10@gmail.com