रानीपौवा–चतुराले–ढाडेफेदी सडक स्तरोन्नती

ककनी, नुवाकोटलाई राजधानी काठमाडौंसँग जोड्ने तीन वटा छोटो दूरीको सडक स्तरोन्नतीको क्रममा रहेको छ ।

      हाल तीन वटा सडकले नुवाकोटलाई काठमाडौँसँग जोडेको छ । तीन मध्येको सबैभन्दा छोटो सडक गगटे–चतुराले–रानीपौवा–बालाजु सडक खण्ड हो । यो सडक स्तरोन्नती वाग्मती प्रदेश सरकार र ककनी गाउँपालिकाको संयुक्त लगानीमा गर्न लागिएको छ । निर्माणधिन अवस्थामा रहेको रानीपौवा–चतुराले–ढाडेफेदी मोटरबाटोलाई चालु आर्थिक वर्ष २०७७/०७८ मा २ करोड रुपैयाँ विनियोजन भएको छ । वागमती प्रदेशबाट १ करोड रुपैयाँ र ककनी गाउँपालिकाबाट १ करोड रुपैयाँ विनियोजन भएको १३ किलोमिटर लम्बाई रहेको यो सडकको सर्भेको काम सकिसकेकोले केही दिनमा नै टेन्डर आह्वान गरिने ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले बताउनुभएको छ । उक्त मोटर बाटो स्तरोन्नती गर्दा १५ घरटहरा हटाउनुपर्ने भए तापनि गत मंसिर महिनाको १७ गतेको सूचनालाई ब्यवस्था गरेकोले गाउँपालिकाले पुनः उक्त घरटहरा तत्काल हटाउन गाउँपालिकाले सूचना प्रवाह गरेको छ । सडकको केन्द्रबाट दायाँवायाँ १०/१० मिटर छोड्नुपर्ने छ । उक्त सडकमा पर्ने घरटहरा यथाशिघ्र हटाएर निर्माण कार्यमा सहयोग गरिदिन गाउँपालिकाका अध्यक्ष लामाले आग्रह गर्नुभएको छ ।

       यथाशिघ्र घरटहरा नहटाएमा प्रहरी प्रशासनद्वारा भत्काईने र उक्त कार्य गर्दा लाग्ने क्षतिपूर्ति सम्बन्धित घरधनीले ब्यहोर्नुपर्ने समेत उहाँले बताउनुभएको छ । हाल विनियोजन बजेटबाट सडकको काम नसकिने भए पनि आगामी आर्थिक वर्षको बजेटमा पनि प्राथमिकता दिइने गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभएको छ । हाल प्रयोगमा आईरहेको त्रिशूली पैतिसकिलो ककनी बालाजु सडकको दूरीमा यो सडक बनेपछि करिव २० किलोमिटर छोटिने छ ।