टोखा-छहरेमा यातायात सञ्चालन

विदुर, गत चैत ११ गतेदेखि बन्द रहेको नुवाकोटको टोखा-छहरे खण्डमा गत हप्तादेखि सार्वजनिक यातायात सञ्चालन भएको छ ।

कोरोना संक्रमणबाट सुरक्षित रहने कडा मापदण्ड अपनाएर सरकारले सार्वजनिक यातायात सञ्चालनमा खुला गरेसँगै नुवाकोट प्रवेशको सबैभन्दा छोटो र सजिलो टोखा-छहरे सडकखण्डमा चहल-पहल बढेको हो । सार्वजनिक सवारी साधनले सिट क्षमता भन्दा आधा यात्रु चढाउनुपर्ने नियम कडाई साथ पालन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीले ठाउँ-ठाउँमा चेकजाँच गर्ने ब्यवस्था मिलाएको छ । साबिक भाडामा ५० प्रतिशत बढाएर लिने तर सिट क्षमताको आधा यात्रु मात्र चढाउने निर्णय सरकारले गरेको छ । साथै यात्रु तथा बसका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाईजरको प्रयोग र सवारी साधनभित्र समेत सामाजिक दूरी कायम हुनुपर्नेछ । सार्वजनिक सवारी साधन सञ्चालन शुरु भएसँगै बजारमा चहल-पहल बढेको छ । कोरोनाको जोखिम बढेपछि ६ महिनादेखि बन्द रहेका विभिन्न क्षेत्र र सेवा खुलेसँगै बजार क्षेत्रमा भिड बढ्न थालेको छ ।

कोरोनाको जोखिम कम नभए पनि जनजीवन र आर्थिक गतिविधी सामान्य बनाउन भन्दै सरकारले बजार, पसल, सार्वजनिक गाडी खुलाएको हो । विद्यालय, मनोरञ्जनस्थल, धार्मिक र साँस्कृतिक गतिविधी, भोजभतेर र जमघट बाहेक धेरै क्षेत्र अहिले खुला भएको छ । यसबाट संक्रमण झनै बढ्न सक्ने भन्दै सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनतालले स्वास्थ्यले तोकेको मापदण्डको प्रटोकलअनुसार मात्रै घरबाहिर निस्कनको लागि आग्रह गर्नुभएको छ । कोरोनाको जोखिम कम नभए पनि धेरै क्षेत्र खुला भएपछि ब्यक्ति आफैंले कोरोनाबाट बच्ने उपाय खोज्नुपर्ने विज्ञको सुझाव छ । कोरोनाबाट बच्नको लागि नागरिक आफैले सचेतना अपनाउन स्वास्थ्य कार्यालय नुवाकोटले आग्रह गरेको छ ।