नुवाकोटमा सङ्क्रमित घट्दो, जोखिम बढ्दो

  • त्रिशूली प्रवाह
  • १५ आश्विन २०७७, बिहीबार १३:१७

विदुर, पछिल्लो २४ घन्टामा नुवाकोटमा थप दुईजना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिकाका ३३ र ३४ वर्षीय पुरुषमा मंगलबार कोरोना सङ्क्रमण देखिएको हो । उनीहरूको त्रिशूली अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । उनीहरू दुईजनासहित नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या बुधबारसम्ममा एक सय ३१ पुगेको छ ।

     त्यसैगरी, एकैदिन नुवाकोटका चारजना कोभिड-१९ कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिकाका तीनजना र किस्पाङ गाउँपालिकाका एकजना कोरोनामुक्त भएका हुन् । पछिल्लो २४ घन्टामा विदुर नगरपालिकाका २७, ३० र ५९ वर्षीय पुरुष र किस्पाङ गाउँपालिकाका २३ वर्षीय पुरुष कोरोनामुक्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । उनका अनुसार योसँगै नुवाकोटका एक सय १६ जना कोरोनामुक्त भएका छन् । त्यसमा ९० पुरुष र २६ महिला रहेका छन् । यसैबीच, काठमाडौंलगायतका केही जिल्लामा दसैँ-तिहारमा समेत लकडाउन हुने सम्भावना बढेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजारभन्दा धेरै भए देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने भएकाले त्यस्तो अवस्थामा विभिन्न ठाउँमा पुनः लकडाउन गर्नुको विकल्प नहुने निष्कर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेको छ ।
काठमाडौं उपत्यकासहित देशका केही जिल्लामा दिनदिनै सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि नुवाकोटमा सङ्क्रमितको सङ्ख्या घटे पनि सङ्क्रमणको जोखिम बढिरहेको स्वास्थ्य कार्यालयका प्रमुख सागर घिमिरेले बताए । सङ्क्रमितको सङ्ख्या बढिरहेको जिल्लाबाट नुवाकोट आउन खुला भएपछि सङ्क्रमणको उच्च जोखिम रहेको उनले बताए ।

     स्वास्थ्य कार्यालयले अहिले जिल्लामा सङ्क्रमित भएकाहरूको मात्र विवरण सङ्कलन गरिरहेको छ । स्वास्थ्य मापदण्ड पालना नहुँदा सङ्क्रमितको सङ्ख्या बढ्दै जान सक्ने भएकोले जिल्ला प्रशासन कार्यालय नुवाकोटले स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही गर्ने जनाएको छ ।