राजनीति छाडेर केशव खड्का ड्रागन फल खेतीमा

  • त्रिशूली प्रवाह
  • १६ आश्विन २०७७, शुक्रबार १५:१६

विदुर, हिजोसम्म नेपाली काङ्ग्रेसको स्थानीय नेताको रूपमा परिचित केशव खड्का अहिले ड्रागन फल खेती गर्ने कृषकको रूपमा स्थापित भएका छन् । चार दशकदेखिको राजनीति छाडेर अहिले खड्का ड्रागन फल खेतीमा तल्लीन छन् । नुवाकोटको विदुर नगरपालिका–९ आँगुटारका खड्काले ०२८ सालमा नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेविसङ्घको सदस्यता लिएर काङ्ग्रेसको विभिन्न तहमा सक्रिय कार्यकर्ताको रूपमा जिम्मेवारी बहन गर्दै आएका थिए । अहिले उनलाई काङ्ग्रेसप्रतिको मोह भङ्ग भएको छ । उद्यम गर्ने प्यासले उनलाई काङ्ग्रेसको सक्रिय कार्यकर्ताबाट टाढा बनाएको छ ।

     जिल्लाका काङ्ग्रेसका नेता कार्यकर्ता अहिले क्रियाशील सदस्य वितरण र अधिवेशनका लागि दौडधुप गरिरहे पनि खड्का भने ड्रागन फल खेतीको विस्तारमा तल्लीन देखिन्छन् । आइतबार फार्म पुग्दा उनी ड्रागन फलको गोडमेल र फल टिप्न व्यस्त थिए । पत्रकारसँगै फार्ममा पुगेका नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्की ड्रागन फलको पनि खेती हुन्छ र ? यो पनि व्यवसाय हो र भन्दै दङ्ग पर्दै थिए । अनुदान लिनका लागि कृषि पेसा गर्ने दलका नेता–कार्यकर्ताले उनीबाट सिक्नुपर्ने अध्यक्ष कार्कीले बताए । ३० वर्षदेखि कुखुरापालन र २५ वर्षदेखि गोबर ग्यास जडान गर्ने व्यवसायसमेत गरेका खड्काले यी दुवै कामलाई अहिले छाडेका छन् । विनपा वडा नं.–९ को १० रोपनी क्षेत्रफलमा परिवारको सहयोगमा उनले ड्रागन फल उत्पादन गरेर बिक्री गरिरहेका छन् ।

     नुवाकोटको पहिलो ड्रागन फल खेती गर्ने कृषकको रूपमा स्थापित खड्काले विनपा वडा नं.– २ विदुरको सदरमुकामको सात रोपनी जग्गामा समेत ड्रागन फलको बिरुवा अस्ट्रेलियाबाट ल्याएर सारेका छन् । काठमाडौं, पोखरा, चितवनलगायतका नर्सरीमा यसको बिरुवा अहिले उपलब्ध छ । तर, नेपालमै उत्पादित बिरुवा गुणस्तर नभएकाले अस्ट्रेलियादेखि उत्कृष्ट र सबभन्दा महँगो पर्पल कलरको ड्रागन फलको बिरुवा ल्याएको बताउँछन् । नेपालमा सेतो, ग्रे, मरुन कलरको ड्रागन फलको बिरुवा पाइन्छ, पर्पल कलरको पाइँदैन । उनले चार वर्षअगाडि अस्ट्रेलियामा दुई महिना बस्ना यसको विस्तृत अध्ययन गर्ने मौका पाएका थिए । नेपाल आउना साथ उनले यसको खेतीको तयारीमा लागे । अहिले खड्काले ४० लाखभन्दा बढी लगानी गरिसकेका छन् । उनले गुञ्जमान ड्रागन फल कृषि फार्म गत ०७६ फागुनमा दर्ता गरेर व्यावसायिक रूपमा होमिएका छन् । कृषि विकास बैंकबाट ड्रागन फलको उत्पादन र विस्तार गर्न १ करोड रुपैयाँ ऋण लिनका लागि प्रक्रियामा रहेको बताउने खड्काले ड्रागन फलको बिरुवा रोपेको एक वर्षमा उत्पादन दिने बताउँछन् । एकपटक रोपेको बिरुवाले राम्रोसँग मलजल, रोगको उपचार र रेखदेख पाएमा २० वर्षभन्दा बढी फल दिनेसमेत उनले बताए । एक बोटबाट वर्षमा ४० केजीसम्म फल उत्पादन हुने र यसको बजार मूल्य प्रतिकेजी एघार–बाह्र सय रुपैयाँ रहेको छ । खड्काले बन्दाबन्दी र निषेधाज्ञाको यो अवधि चार लाखभन्दा बढीको ड्रागन फल बिक्री गरिसकेका छन् । अहिले उनले फार्मबाटै एक हजार रुपैयाँ प्रतिकेजीमा ड्रागन फल बिक्री गरिरहेका छन् । सिमेन्टको पोल आठ–आठ फिटको फरकमा गाडेर टुप्पामा रिङ फिट गरेर ड्रागन फलको रोपेको बिरुवा बढ्दै त्यसमै जेलिएर फल दिन थाल्छ । यसको वरपर तरकारी खेती गर्न सकिने भएकाले थप आम्दानी लिन सकने उनको दाबी छ । सुरुमा बढी लगानी भए पनि पछि खर्च नहुने भएकोले नसोचेको आम्दानी लिन सक्ने उनको दाबी छ ।

     ड्रागन फलको बोटलाई कम्पोस्ट मल राखे पुग्ने र यसको बोट गुलियो हुने भएकोले कमिलाले भने दुःख दिने गर्छ । कमिलाका लागि उनले आफैँले अर्गानिक झोल बनाएर छर्ने गरेको र कमिलाले दुःख नदिएको बताउँछन् । तीन हजार मिटरको उचाइसम्म खेती गर्न सकिने ड्रागन फल बाँदर र अन्य जङ्गली जनावरले समेत क्षति नगर्ने र सुक्खा ठाउँमा समेत खेती गर्न सकिने हुँदा जिल्लाका २० जनाभन्दा बढी युवा कृषकले रुचि देखाएको उनले बताए । नुवाकोटको विभिन्न भागका एक दर्जन कृषकले ड्रागन फलको खेती थालेको उनले बताए । ड्रागन फलको माग बजारमा बढी भएकोले यसको खेती गर्न चाहने जोसुकैलाई उनले निःशुल्क परामर्श र प्राविधिक सहयोग दिइरहेएका छन् । गत स्थानीय निर्वाचनमा विनपा– ९ मा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेका खड्का पराजित भएका थिए । वडाध्यक्षमा पराजित नभएको भए ड्रागन फलको खेतीमा अब्बल हुने थिएनन् खड्का । राजनीतिले गरिखानेलाई बिगार्ने र अल्मलाउने उनी बताउँछन् । उनको दिनचर्या अहिले राजनीतिमा भन्दा पनि उद्यम गर्न उत्प्रेरणा दिँदैमा बित्ने गरेको छ । गफ गरेर उत्पादकत्व बढ्दैन, अनुदानका लागि मात्र कृषि पेसा गर्नेलाई सरकारले प्रोत्साहित गरिरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘कृषि कर्मबाट आफू पनि धनी बनौँ देशलाई पनि धनी बनाऊँ ।’ तीन दशकदेखि नै कुखुरापालन होस् कि गोबर ग्यास जडान गराउने पेसा जे सुरु गरे पनि चर्चामै रहँदै आएका खड्का अहिले ड्रागन फल उत्पादन गरेर जिल्लाभरि चर्चामा रहेका छन् ।

     नेपालमा अहिले निकै चर्चामा रहेको ड्रागन फल व्यवसायी खेतीको साथै कसैले बगंँचामा फलाएर त कसैले आफ्नै कौसीको गमलामा फलाएरसमेत प्रचार गरिरहेका छन् । नेपालका लागि नौलो ड्रागन फलको बाहिर जति आकर्षक छ, भित्र झन् ज्यादा देख्न सकिन्छ । खानामा अति नै मिठो नभए पनि स्वास्थ्यसम्बन्धी अत्यधिक उपयोगी भनिएकाले ड्रागन फलको चर्चा चुलिएको हो । भिआइपीले मात्र खाने आयातीत फल भनेर चिनिँदै आएको यो फल पछिल्लो समय सर्वसाधारणले समेत स्वाद लिने अवसर पाएका छन् । ड्रागन फल नेपालमा भित्रिएको लामो समय भएको छैन । तर, यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ । यो फल देख्दा जति आकर्षक हुन्छ, त्यत्तिकै स्वादिष्ट पनि । यसबाट प्राप्त हुने फाइदाले महँगो मूल्यलाई बिर्साइदिन्छ । दक्षिण अमेरिकाको मेक्सिकोबाट उत्पत्ति भएको फल सिउँडी प्रजातिमा पर्छ । यसको वैज्ञानिक नाम ‘हाइलोसेरुस अन्डटुस’ हो । यसलाई पितया, मुन लभर्स, रात कि रानी, रात कि घन्टी, क्यान्डेरेलालगायतको नामले पनि चिन्ने गरिन्छ । खेती गरेको दुई वर्षमा फल लाग्न सुरु हुने ड्रागन फलको खेती गर्न त्यति गाह्रो छैन । तराईदेखि उच्च पहाडी भेगमा पनि यसको खेती गर्न सकिन्छ । समुद्री सतहदेखि करिब तीन हजार मिटरसम्मको उचाइमा ड्रागन उत्पादन हुने भएकोले सुक्खा ठाउँबाट पनि यसको खेती फस्टाउने गरेको छ ।

     ड्रागन फलको एक बोटले थुप्रै वर्षसम्म उत्पादन दिने गर्छ । एउटा फलको तौल एक सय ५० ग्रामदेखि एक किलोसम्मको हुन्छ । घरको छत तथा करेसाबारीमा समेत बिरुवा रोप्न सकिन्छ । फूल फुलेको ४५ दिनमा यसको फल तयार हुन्छ । जेठदेखि असोज, कात्तिकसम्म फूल फुलिरहन्छ । यसले राम्रो उत्पादन दिने भएकाले खेती गरेर पनि मनग्यै आम्दानी गर्न सकिन्छ । ड्रागन फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन, ब्रान्डी, केक, गर्मी मौसममा लस्सी बनाउन सकिन्छ । ड्रागन फलको मुन्टाको तरकारी निकै स्वादिष्ट हुन्छ । यो फल सलादको रूपमा पनि प्रयोग हुन्छ । विभिन्न मिठाईका परिकारमा निकै उपयोगी हुने पाकेको यो फल त्यत्तिकै खाँदा पनि मिठो हुन्छ र स्वास्थ्यबद्र्धक पनि छ । स्वास्थ्यलाई फाइदै–फाइदा रहेको यो फल छालासम्बन्धी विभिन्न रोग निको पार्नका लागि सहयोगी भूमिका निर्वाह गर्छ । कोलस्ट्रोल, उच्च रक्तचाप नियन्त्रणमा र कब्जियत समस्यालाई समेत निको पार्ने ड्रागनफल सेवन गर्दा क्यान्सरको सम्भावनाबाट टाढा रहन सकिन्छ । रोगप्रतिरोधी क्षमता बढाउनका लागि पनि उपयोगी यो फल रोगप्रतिरोधी क्षमता बढाउन र निराश हुने र डराउने समस्या तथा आँखाको दृष्टिका लागि समेत उपयोगी रहेको छ ।