सामाजिक सेवा दिवस मनाइयो

  • त्रिशूली प्रवाह
  • १६ आश्विन २०७७, शुक्रबार १५:३३

उत्तरगया, रसुवा जिल्लामा ‘सामाजिक क्षेत्र राष्ट्रिय गौरव’ भन्ने नाराका साथ गैरसरकारी संस्था महासङ्घलगायत सामाजिक सङ्घ–संस्थाको सहकार्यमा ०७७ असोज ९ गते ४१औँ सामाजिक सेवा दिवस उत्तरगया गाउँपालिकामा सम्पन्न भयो ।

      गैरसरकारी संस्था महासङ्घ रसुवा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामुदायिक विकास केन्द्रको संयुक्त आयोजनामा भएको अन्तक्र्रियामा प्रमुख अतिथि उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले सामाजिक सेवाभावले काम गर्ने सामाजिक सङ्घसंस्थाको महत्वपूर्ण योगदान रहेको बताइन् । उनले धेरै सामाजिक सङ्घ–संस्थाले महिला तथा पछि परेका समुदायको क्षमता विकास तथा अन्य क्षेत्रमा योगदान गरेको बताइन् । उनले उत्तरगया गाउँपालिका– २ डाँडागाउँमा झन्डै सात सय घरधुरीले प्रयोग गर्ने खानेपानी योजना एसिएफ नामक संस्थाको सहयोगमा १३ किलोमिटर टाढाबाट पानी ल्याए पनि वितरण लाइन पूरा नहुँदै योजना सकिएको र अहिले ६ महिनादेखि पानी पिउन नपाएको बताइन् ।

      इन्सेकका रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाले समाजसेवामा नागरिकको आकर्षण अनि नयाँ पुस्तालाई समाजसेवाप्रति अभिप्रेरित गर्नका लागि समाज कल्याण परिषद्ले समाजसेवा दिवस मनाउन सुरु गरेको बताए । कार्यक्रममा सहभागी कमला थापामगरले सामाजिक संस्थाले गरेको जीविकोपार्जन कार्यक्रम दोहोरोपनाको कारण समस्या आएको बताइन् । सहभागीले केही सामाजिक संस्था दबाब र प्रभावमा परेर सही ढङ्गले काम गर्न नसकेकोले पहुँच नपुगेको लक्षित वर्गमा कार्यक्रम पु¥याउन सामाजिक संस्थालाई सुझाबसमेत दिएका थिए ।

      समाजसेवाको क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाको अनुगमन, मूल्याङ्कन अनि सुपरिवेक्षण गर्दै आएको सरकारी संयन्त्र समाज कल्याण परिषद्ले यस वर्ष विभिन्न सरकारी, गैरसरकारी अनि अन्य संस्थाको उपस्थितिमा असोज ६ गते समाजसेवा दिवस मनाउने गरेको र यस वर्ष साताव्यापी रूपमा मनाइएको गैरसरकारी संस्था महासङ्घका अध्यक्ष विनोद लामिछानेले बताए । ०३४ सालमा समाज कल्याण परिषद् स्थापना भएको दिवस पारेर यो दिवस मनाउन थालिएको हो । सामाजिक सेवा दिवसको सबैलाई शुभकामना दिँदै उनले सामाजिक संस्थाले क्षमता विकास, मानव अधिकारको रक्षा तथा सामाजिक न्याय र सेवाको काम गरेको बताए ।
गैरसरकारी संस्था र यसमा आबद्ध समाजसेवीको मनोबल बढाउन र यस क्षेत्रमा लाग्न अभिप्रेरित गर्न एवम् सामाजिक क्षेत्रमा भए गरेका क्रियाकलापलाई आमजनमानसमा पारदर्शी तवरले गरिरहेको सामुदायिक विकास केन्द्रका कार्यक्रम अधिकृत राजु आचार्यले बताए ।