लैङ्गिक हिंसा, यौन तथा प्रजनन अधिकारबारे तालिम

  • त्रिशूली प्रवाह
  • १६ आश्विन २०७७, शुक्रबार १५:३४

धुन्चे, सामाजिक कल्याण तथा वातावरण सोसाइटी रसुवाको आयोजनामा टेवाको सहयोगमा उत्तरगया गाउँपालिकामा लैङ्गिक हिंसा, यौन तथा प्रजनन अधिकारबारे तीनदिने तालिम सम्पन्न भएको छ ।

      ४१औँ सामाजिक सेवा दिवसको सन्दर्भसमेत पारेर ०७७ असोज ७ देखि ९ गतेसम्म सञ्चालित तालिममा स्थानीय आमा समूह, जनप्रतिनिधि, सहकारी सामाजिक संस्थामा आबद्ध ३२ जना महिला सहभागी थिए । तालिमको शुभारम्भमा गैरसरकारी संस्था महासङ्घ रसुवाका अध्यक्ष विनोद लामिछानेले र समापन उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए । तालिममा प्रजनन अधिकार तथा सुरक्षित मातृत्व र कोभिड–१९ बाट सिर्जित समस्याबारे उत्तरगया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र ठकुरी, महिला अधिकार तथा विद्यमान कानुनी व्यवस्थाबारे महिला बालबालिका शाखा प्रमुख विनिता कार्की, गाउँपालिकाले गरेको लैङ्गिक हिंसाविरुद्धको प्रयास र विद्यमान अवस्थाबारे उपाध्यक्ष चमेली गुरुङ र लैङ्गिक हिंसा, त्यसको स्वरूप तथा परिणामबारे सामाजिक कल्याण तथा वातावरण सोसाइटीकी गायत्री लामिछानेले सहजीकरण गरेका थिए ।