बालाजु-ककनी सडकमा काम सुरु

  • त्रिशूली प्रवाह
  • १९ आश्विन २०७७, सोमबार १६:४१
Logo of trishuli prawaha

ककनी, नुवाकोटको ककनी-बालाजु सडकखण्डको निर्माण काम ठेकेदारले पुनः थालेको छ ।

     ०७०/७१ मा ठेक्का सम्झौता गरेको एआईपिएल शैलुङले सडक निर्माण गर्ने क्रममा व्याक कटिङ र स्ट्रक्चर वाल लगाउने काम छाडेर गएपछि आयोजनाले ताकेता गर्दा गत भदौ महिनामा सम्पर्कमा आएको छ । बालाजु-त्रिशूली-छहरे-विदुर सडक आयोजनाका प्रमुख नीरज घिमिरेले दिएको जानकारीअनुसार कार्यस्थलमा निर्माण सामग्री जम्मा गर्न ठेकेदार कम्पनीले थालेको छ । नुवाकोट बागेश्वरीका ठेकेदार शारदाप्रसाद अधिकारीले निर्माण ठेक्का लिएको काठमाडौंको तारकेश्वर नगरपालिकाको मुड्खुदेखि नुवाकोट ककनी गाउँपालिका रानीपौवा बजारसम्म दसैँअघि नै बेस राख्ने र खाल्डा-खुल्डी पुर्ने काम गर्ने प्रतिबद्धता आयोजनासँग गरेका छन् । उक्त खण्डमा ठेकेदारले कटिङ र वाल लगाउने काम विगतमा नै गरिसकेकोले पुस, माघसम्म बेस राखेर एक तहको पिच (कालोपत्रे)को काम सक्ने आयोजना प्रमुख घिमिरेले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । काम छाडेर भागेको ठेकेदारलाई पेनाल्टी तिराउनेदेखि पत्र पठाएर ताकेता गर्नसम्म आयोजनाले बाँकी राखेन । आयोजनाको सम्पर्कमा नआएका ठेकेदार शारदाप्रसाद अधिकारीलाई नुवाकोटका राजनीतिक दल, सांसद, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको निरन्तर दबाब र पहलमा काममा फर्केको आयोजना प्रमुख घिमिरेले जानकारी दिएका छन् ।

     आयोजनाको कार्यक्षेत्रभित्रको छहरे-ढिकुरे-वराफेदी सडकको काम केही भागमा मुआब्जा नबुझेको र घर–टहरा नभत्काएकोले काम गर्ने साइत नपाएको उनले बताए । छहरेदेखि ढिकुरे पुलसम्मको क्षेत्रमा दसैँअघि पिचको काम सक्ने उनले बताए । छहरे-वराफेदीको निर्माण ठेक्का एआइपिएल पप्पु मृत्तसञ्जीवनीले गरिरहेको छ । रानीपौवा-पीपलटारको ३४ किलोमिटर सडकको ठेक्का पाएको दिनेशचन्द्रलाल अग्रवाल नार्गाजुन कोसीले काम छाडेर भागेपछि नेपाल सरकारले ठेक्का सम्झौताअनुसार ठेक्का तोडेको थियो । ठेकेदार काम गर्ने वातावरण भएन भनेर उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेपछि अहिले उक्त खण्ड यथास्थितिमा छाड्ने अदालतले आदेश दिएको छ ।