नेकपा नुवाकोटमा वर्चस्व देखाउन होडबाजी

  • त्रिशूली प्रवाह
  • १९ आश्विन २०७७, सोमबार १६:४२
Logo of trishuli prawaha

विदुर, पार्टी एकता सम्पन्न भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको करिब तीन वर्ष पूरा हुन लाग्दा पनि नुवाकोट जिल्लामा पार्टी एकताका सम्पूर्ण कामका साथै सदस्यता नवीकरण, प्रदेश तथा स्थानीय कमिटीका अधिवेशन र राष्ट्रिय महाधिवेशनसमेत सम्पन्न भइसक्नुपर्ने थियो । तर, अहिलेसम्म पनि पार्टी एकता एवम् एकीकरणका कतिपय महत्वपूर्ण कामसमेत सम्पन्न हुन सकेका छैनन् । गत ०७६ फागुनमै जिल्ला सङ्गठन कमिटीलगायतको एकीकृत कमिटी बनाउने काम सम्पन्न भए पनि स्थानीय पालिका र प्रदेशस्तरका कमिटी बनाउने काम सम्पन्न हुन सकेका थिएनन् । यिनै आवश्यकता पूरा गर्न र आमकार्यकर्ता तथा जनताबीच पनि एकीकृत पार्टीको सन्देश प्रवाह गर्न कोरोना सङ्क्रमणकै बीचमा पनि नेकपा नुवाकोटले संयुक्त कमिटीको शपथग्रहणलगायत पार्टीको भावी योजना तर्जुमाका लागि जिल्ला दौडाहा जारी राखेको छ ।

      यस क्रममा शनिबार ककनी गाउँपालिकामा नेकपाको स्थायी कमिटीकी सदस्य एवम् बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा नेकपाको एकीकृत ककनीको गाउँपालिका कमिटीको शपथग्रहण सम्पन्न भएको छ । सो कार्यक्रममा नेता शाक्यले नवगठित ककनी गाउँ सङ्गठन कमिटीका सदस्यलाई शपथ खुवाउँदै दुई पार्टीबीचको एकताले देशैभर नेकपा थप सुदृढ हुँदै गएको भन्दै एकता जोगाएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएकी थिइन् । सो कार्यक्रममा प्रदेश र जिल्लाका नेकपा नेताको बाक्लो उपस्थिति रहेको थियो । नेकपाको जिल्लास्तरीय कार्यदलले ककनीमा पूर्वमाओवादीका नेता रामहरि श्रेष्ठलाई अध्यक्ष र सचिवमा पूर्वएमालेका योगेन्द्र तामाङलाई चयन गरेपछि शनिबार शपथ कार्यक्रम तय भएको थियोे । कार्यक्रममा सहभागी नेता केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका सहइन्चार्ज हितबहादुर तामाङ, केन्द्रीय सदस्य विमला सुवेदी, प्रदेश सभासद् एवम् नेकपा मुख्य सचेतक केशव पाण्डे एवम् सभासद् बद्री मैनालीलगायत प्रदेश सङ्गठन कमिटीका नेता तथा कार्यकर्ताले एकीकृत सङ्गठन भएसँगै अब ककनी र नुवाकोटमा नेकपा थप मजबुत भएको विचार व्यक्त गरेका थिए ।

      अघिल्लो हप्ता सूर्यगढी गाउँपालिका र किस्पाङ गाउँपालिकाको पनि शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । सूर्यगढीको चोकदेमा आयोजित कार्यक्रममा अध्यक्ष, सचिवलगायत ७९ जनाको कार्यसमितिले शपथग्रहण गरेको थियो । सूर्यगढीमा पूर्वएमालेका तर्फबाट राजु रिजाल अध्यक्षमा र पूर्वमाओवादीको तर्फबाट पुरुषोत्तम अधिकारी सचिव चयन भएका छन् । कार्यक्रममा नेकपाका प्रदेश एवम् जिल्लास्तरका नेताहरू सहभागी भएका थिए । कार्यक्रममा नेकपाको तर्फबाट सङ्घीय सांसद रहेका नेता तथा नेकपा बागमतीका सहइन्चार्ज हितबहादुर तामाङ, नेकपा केन्द्रीय सदस्य विमला सुवेदी, पूर्वसांसद राजेन्द्रप्रकाश लोहनी, बागमती प्रदेशका नेकपा मुख्य सचेतक एवम् प्रदेश सांसद केशव पाण्डे, नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा, सचिव तथा सङ्घीय सांसद नारायणप्रसाद खतिवडा, प्रदेश सांसद बद्री मैनाली, प्रदेश सदस्यहरू रामशरण प्याकुरेल, बिन्दा ढुङ्गाना, कल्पना रिमाल, ठाकुर गजुरेल अतिथिका रूपमा नेकपाको गाउँ सङ्गठन कमिटीलाई शुभकामना दिएका थिए ।

      त्यसैगरी, गत हप्ता किस्पाङ गाउँपालिकामा आयोजित शपथ कार्यक्रममा नेकपा नुवाकोटका अध्यक्ष तथा बागमती प्रदेशका सांसद हिरानाथ खतिवडा, सङ्घीय सांसद एवम् जिल्ला सचिव नारायण खतिवडा, जिल्ला कार्यालय टिम, जिल्ला सङ्गठन कमिटी एवम् बागमती प्रदेश सङ्गठन कमिटीका सदस्यलगायत दर्जनौँ नेता–कार्यकर्ता सहभागी भएका थिए । ७५ सदस्यीय कमिटीको अध्यक्षमा पूर्वएमालेको तर्फबाट वीरबल तामाङ र सचिवमा पूर्वमाओवादीका नेत्र भट्ट रहेका छन् । कमिटीका अध्यक्ष तामाङले एकीकृत पार्टी भएसँगै आउँदो स्थानीय चुनावमा किस्पाङलाई नेकपामय बनाउने दाबी गरे । शपथग्रहण कार्यक्रममा अन्य अतिथिका रूपमा पूर्वसांसद राजेन्द्रप्रकाश लोहनी, नेकपा जिल्ला कमिटी सचिव तथा सङ्घीय सांसद नारायणप्रसाद खतिवडा, बागमती प्रदेश नेकपाका मुख्य सचेतक तथा प्रदेश सांसद केशव पाण्डे, प्रदेश सांसद बद्री मैनाली, आशामाया लामा, प्रदेश कमिटी सदस्य रामशरण प्याकुरेल, ठाकुर गजुरेल सुभद्रा नेपाल, कल्पना रिमाल, बिन्दा ढुङ्गाना, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितलगायतका नेताहरूले एकताबद्ध पार्टीको आवश्यकताबारे आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

      कार्यकर्ता भेटघाटले लामो समयदेखि पार्टी त छ, तर कहाँ छ भन्ने भइरहेको अवस्थामा नेता, कार्यकर्ता तथा नेकपाका शुभचिन्तक आमसमुदायमा उत्साह थपेको महसुस भएको कार्यक्रमका सहभागी बागमती प्रदेश कमिटी एवम् आर्थिक तथा योजना विभागका सहसंयोजक रामशरण प्याकुरेलले बताए । यो उत्साहको राम्रो ढङ्गले संयोजन गरेर पार्टी सङ्गठनलाई सुदृढ र मजबुत बनाउन ढिलो गर्न नहुने उनको तर्क थियो । उक्त तिनै कार्यक्रममा नेकपाका विभिन्न तहका नेता तथा कार्यकर्ताको उल्लेख्य सङ्ख्यामा सहभागिता थियो । तीनै पालिकामा आयोजना गरिएका कार्यक्रममा नेपाली काङ्ग्रेस परित्याग गरी ककनीमा १५ जना, सूर्यगढीमा ५५ जना र किस्पाङमा ३५ जना व्यक्ति नेकपामा प्रवेश गरेका थिए । यो शपथग्रहणको दौडाहा आगामी १७ गते दुप्चेश्वर गाउँपालिकामा अन्तिम हुने नेकपा जिल्ला सङ्गठन कमिटीका अध्यक्ष हिरानाथ खतिवडाले जानकारी दिए ।

     उक्त सबै कार्यक्रमहरूमा हिजोकै पञ्च¥यालीकै भान पर्ने गरी दर्जनौँ गाडीको लर्कन र आफ्ना आसेपासेसहित नेताहरूको जम्बोटोली उपस्थित रहने गरेको छ । एकताको सन्देश दिने भनेर कार्यक्रम आयोजना गरिए पनि आ–आफ्नो वर्चस्व देखाउन होडबाजी नै चलेको छ । आ–आफ्ना गुट र समूहका मानिसलाई आसनग्रहण गराउने, बोल्ने कुरामा तँछाड–मछाड गर्ने, सूचना दिने कुरामै सङ्कीर्णता देखाउनेजस्ता क्रियाकलाप पनि देखिएका छन् । सबैलाई थाहा छ, स्थितिको सही विश्लेषण र धरातलीय यथार्थलाई ध्यानमा राखेरभन्दा पनि गणितीय ढङ्गले एकता प्रक्रियाको नुवाकोटमा व्यवस्थापन गर्दा हिजो एमालेले अत्यधिक बहुमतले जितेका कतिपय स्थानमा समेत पूर्वमाओवादी केन्द्रलाई नेतृत्व सुम्पिनुपरेको कटु यथार्थलाई नबिर्सिने कार्यकर्ताको पङ्क्ति पनि नुवाकोटमा ठूलो रहेको छ । अहिले यो एकीकरणको प्रक्रिया सञ्चालन भइरहँदा यहाँसम्म कि पूर्वमाओवादी केन्द्रले नेतृत्व गरेका पालिकामा र पूर्वएमालेले नेतृत्व गरेको पालिकामा आयोजित कार्यक्रममा ब्यानर र नेताहरूको फोटो अलग–अलग राख्ने गरिएको छ । यसले साङ्केतिक रूपमा एकताको पक्षमा नभई आ–आफ्नो डम्फु बजाउने र पार्टी कब्जा गर्ने प्रयत्नका रूपमा रहेको कुरा नेकपाका कार्यकर्ता नै बताउँछन् । स्मरणीय छ, काठमाडौंमा पार्टी स्थापना दिवस मनाउँदा यही ब्यानरको विषयलाई लिएर ०७५ वैैशाख ९ गते पार्टी एकताको मर्मलाई नै ओझेल पार्ने गरी दुईथरीबीच झडप नै भएर दिनभर कार्यक्रम बिथोलिएको थियो ।