हाम्रा कुरा : शैक्षिक शत्र अलपत्र नपार !

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०७७, बिहीबार १३:४६

कोरोना संक्रमणको कारण गत चैत्रदेखि बन्द देशभरका विद्यालय धमाधममा खुल्न थालेका छन् । वैकल्पिक विधीबाट सञ्चालित कक्षा प्रभावकारी नभएपछि नुवाकोटसहित ७७ वटै जिल्लामा स्थानीयतहले सुरक्षा सावधानी अपनाएर पठन-पाठन सुचारू गर्न विद्यालयलाई निर्देशन दिएपछि कक्षा सञ्चालन हुन थालेका हुन् । विद्यालयले भौतिक दूरी कायम गर्दै कक्षामा स-सानो समुह र सिफ्टमा पठन-पाठन गर्न गत हप्तादेखि थालेका थिए । तर जिल्ला प्रशासन कार्यालयले संघीय सरकारले विद्यालय सञ्चालन गर्ने विषयमा निर्णय नगरेकोले नियमित पठन–पाठन रोक्न निर्देशन दिएको छ । प्रशासनको निर्देशनले विद्यालय बन्द भएपछि अभिभावक र शिक्षक दोधारमा परेका छन् ।

      शिक्षा मन्त्रालयले चैत्र मसान्तमा शैक्षिक सत्र अन्त्य गर्ने बताएपछि स्थानीयतह पठन-पाठन गराउन जुरमुर्राएका हुन् । शिक्षा मन्त्रालयका कारण लामो समयदेखि पठन-पाठन नभएका ग्रामिण क्षेत्रका विद्यालय विभिन्न विकल्प प्रयोग गर्दै कक्षा सञ्चालन गर्ने दबावमा रहेका छन् । नुवाकोटका १२ वटै स्थानीय तहमा धमाधम कक्षा सञ्चालन भएपछि जिल्ला प्रशासन कार्यालयले कक्षा सञ्चालनको बारेमा संघीय सरकारले कुनै निर्णय नगरेकोले नियमित कक्षा सञ्चालन नगर्न गत हप्ता विज्ञप्ती जारी गरेर सचेत गराएको छ । देशभरीका विद्यालय सञ्चालन हुन थालेको भएपनि संघीय सरकार विद्यालय सञ्चालन गर्ने विषयमा कोरोना जोखिम बढेको भनेर कुनै निर्णय गरेको छैन । तर विद्यार्थी सिकाई सहजीकरण भौतिक दूरी कायम गरी सिकाई केन्द्र वा विद्यालयमा सिकाउने सक्ने ब्यवस्था छ । यही ब्यवस्थामा टेकेर जिल्लाका १२ वटै पालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गत हप्ता शिक्षक प्रतिनिधीसँग छलफल चलाएर शुरू गरेका थिए ।

     समुदायमा रहेका वा रहने सिकाई केन्द्र वा विद्यालयमा आपसी भौतिक दूरी कायम गरी बसाई ब्यवस्था मिलाएर पाठ्यपुस्तक स्वअध्ययन वा छपाई सामाग्री प्रयोग गरी शिक्षक वा स्वयम्सेवकमार्फत सिक्ने, सिकाउने ब्यवस्था गर्ने निर्देशिकामा भनिएको छ । जारी निर्देशिकामा भौतिक, पूर्वाधार र विद्यार्थी संख्याको आधारमा भौतिक दूरी कायम गर्दै कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने भूमिका समेत तोकिएको छ । तर जिल्लाका सामुदायिक र निजी विद्यालयले कोभिड-१९ संक्रमणको बेवास्था गर्दै धमाधम ‘‘फेस टु फेस’’ कक्षा सञ्चालन गर्दै घुमाउरो पाराले भर्ना र शुल्क उठाउँन थालेपछि स्थानीय प्रशासनले अर्को सूचना नआएसम्म नियमित कक्षा सञ्चालन नगर्न निर्देशन जारी गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले गत चैत्र ६ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेपछि गत असार १ गतेदेखि वैकल्पिक विधीबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेर अनलाईनदेखि रेडियोसम्म कक्षा सञ्चालन भईरहेका थिए । तर यो विधी शहरी क्षेत्र भन्दा बाहिर प्रभावकारी हुन सकेन ।

      विद्यालय सञ्चालन गर्ने बारेमा जिल्लामा स्थानीय तह र प्रशासनबीच समन्वय नहुँदा सञ्चालन भईसकेर रोक्नुपर्दा अभिभावक र शिक्षक दोधारमा परेका छन् । विद्यार्थीको बसाई दूरी कायम गर्दै थोरै विद्यार्थी राख्ने गरी ‘फेस टु फेस’ मोडलमा विभिन्न सिफ्टमा कक्षा सञ्चालन गर्न ब्यवस्था स्थानीय प्रशासन र पालिकाले गर्नुपर्छ । चैत्रमै शैक्षिक सत्र सकिने भएकोले विद्यालयमा भौतिक रूपमै उपस्थिती गराएर शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न आवश्यक रहन्छ । यसै शैक्षिक शत्रभित्र सक्नुपर्ने बाध्यतालाई समेत ध्यान दिएर सम्बन्धित निकायले सहजीकरण गर्न जरूरी छ । एकले अर्कोलाई दोष देखाएर विद्यार्थीको भविष्यमाथी खेलबाड गर्ने अधिकार कसैलाई छैन । प्रशासन र पालिका प्रमुखको कारण शैक्षिक उपलब्धी नहुने र शैक्षिक शत्र खेरा जान नदिन अभिभावक विद्यार्थीले दबाव दिंदै स्वास्थ्य मापदण्ड अपनाएर अगाडी बढ्नुको विकल्प छैन । विद्यालयले विद्यार्थीबीच समाजिक दूरी कायम गर्दै अनिवार्य मास्कको ब्यवस्था गरेर र सरसफाईलाई प्रमुखता दिंदै स्यानीटाईजर प्रयोग गर्दै पठनपाठन शुरू गर्न संघीय सरकार, स्थानीय सरकार, समुदाय र अभिभावकको महत्वपूर्ण भूमिका रहेको छ ।