सामाजिक विकास मन्त्री दुलालद्वारा न्यानो कपडा वितरण

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०७७, बिहीबार १३:४८

देवीघाट, राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा असोज १५ गते वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले देवीघाट जेष्ठ नागरिक प्रतिष्ठान नुवाकोटको आश्रम भवनमा रहेका बृद्धबृद्धालाई न्यानो कपडा वितरण गरेको छ ।

       वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा देवीघाट जेष्ठ नागरिक प्रतिष्ठान नुवाकोटको आश्रम भवनमा पुगेर बृद्धबृद्धालाई न्यानो कपडा वितरण गर्नुभएको थियो । मन्त्री दुलालले बृद्धबृद्धा समाजका महत्वपुर्ण सम्पति भएको उल्लेख गर्नुहुँदै सबैले जेष्ठ नागरिकलाई सम्मान गर्न आग्रह गर्नुभयो । अहिलेको नेकपा नेतृत्वको सरकारले सामाजिक सुरक्षा र जेष्ठ नागरिकको हितमा धेरै महत्वका निति र कार्यक्रमहरु ल्याएकै कारण हाम्रो नेपाली समाज बाबुआमालाई हेला गर्ने युगबाट अब हेर्ने र वास्ता गर्ने युगमा प्रवेश गरेको उहाँले बताउनुभयो । त्यसका लागि वाग्मती प्रदेश सरकारले जेष्ठ नागरिकको सामाजीक सुरक्षाका क्षेत्रमा सबैभन्दा बढी ध्यान केन्द्रित गरेर योजना र कार्यक्रम ल्याएको समेत जानकारी दिनुभयो । मन्त्री दुलालले अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसलाई एउटा पर्वको रुपमा मनाउन र पिर चिन्ता छोड्न जेष्ठ नागरिकसँग अनुरोध गर्दै परिवार छोडेर बृद्धाश्रममा आई पुग्न बाध्य हुनुभएका आमाबाबुका लागि माया गर्ने छोराछोरी बनेर सरकार उपस्थित भएको बताउनु भयो ।

       प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट आश्रममा रहनुभएका ५० जना भन्दा बढी जेष्ठ नागरिकलाई खाद्यान्न, लत्ताकपडा, औषधीलगायतका सामाग्री वितरण गर्नुभएको थियो । बृद्धबृद्धालाई न्यानो कपडा, मोजा, तातो पानी राख्ने हट ब्याग, बिस्कुट, दुध, पनिर, फलफुल, खिरको परिकारलगायतका सामाग्री मन्त्री दुलालले वितरण गर्नुभएको थियो । सो अवसरमा वाग्मती प्रदेशका सांसद एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, उपप्रमुख गिताकुमारी दाहाल, नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा.केदार नरसिंह केसी, समाजिक विकास मन्त्रालय जेष्ठ नागरिक शाखाकी ईन्दिरा ओझा, विदुर नगरपालिकाका पूर्व नगरप्रमुख ठाकुरप्रसाद गजुरेल, विदुर नगरपालिका वडा नं.५ का अध्यक्ष शिवकुमार चित्रकारलगायतले बृद्धबृद्धालाई सम्मान गर्ने संस्कारको विकास भईरहेको धारणा राख्नुभएको थियो ।

       उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विष्णु नेपाल, सचिव हेमप्रसाद अधिकारी, सहसचिव रामहरि गजुरेल, कोषाध्यक्ष बिन्दा अर्याल, सदस्य गोबिन्दलाल चित्रकार, भरतकाजी चित्रकार, मदन चित्रकार, बलराम अधिकारी, शम्भु शर्मा, केदार कंडेल, मीनकुमार खतिवडालगायत सल्लाहकार सदस्यहरूको उपस्थिती रहेको थियो । आश्रमलाई विगत एक वर्षदेखि बेलकोटगढी नगरपालिका वडा नं.-१० निवासी राजु कंडेलले मासिक एक सय किलो भन्दा बढी मौसमअनुसारका ताजा हरियो तरकारी निःशुल्क उपलब्ध गराईरहनुभएको छ । काठमाडौंको कालिमाटी बजारमा तरकारी ब्यवसायी गरिरहेका कंडेलले आश्रममा रहेका बृद्धबृद्धालाई तरकारी उपलब्ध गराउन पाउँदा पुण्य मिलेको बताएका छन् । प्रतिष्ठानमा रहेका बृद्धबृद्धालाई बेलाबेलामा विभिन्न क्षेत्रका समाजसेवीले खाद्यान्न, लत्ताकपडा, औषधीलगायत सामान उपलब्ध गराईरहेको अध्यक्ष विष्णु नेपालले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो ।

        जेष्ठ नागरिक दिवसको अवसरमा असोज प्रतिष्ठान र यसोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रष्टको आयोजनामा प्रतिष्ठान भवनमा र देवीघाट वरपरका बस्तीमा रहनुहुने ७० वर्ष उमेर समुह भन्दा माथिका १ सय ५० जना बृद्धबृृद्धाको निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरण गरिएको थियो । नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष एवं प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा.केदार नरसिंह केसीको नेतृत्वको टोलीले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी औषधी निःशुल्क वितरण गर्नुभएको थियो । सो कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति एवं संविधानसभा सदस्य जगदिश नरसिंह केसी, विदुर नगरपालिकाका पूर्व मेयर शिवप्रसाद गजुरेल, प्रतिष्ठानका सचिव हेमप्रसाद अधिकारी, सह-सचिव रामहरि गजुरेल, कोषाध्यक्ष बिन्दा अर्याललगायतले प्रतिष्ठानमा सहयोगी हातहरू थपिरहेको बताउनुभयो ।