केमिकल नहुँदा पिसिआर मेसिन थन्क्यिो एक हप्तामा ३० जना संक्रमित

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०७७, बिहीबार १४:१२

विदुर, नुवाकोटबासीले कोरोना भाईरसको परीक्षण गर्न अझै केही दिन कुर्नुपर्ने भएको छ । नेपालभरमै क्वालिटीको पिसिआर मेसिन ल्याउने चौथों नम्बरमा परेको नुवाकोटमा मेसिनको सबै उपकरण सेटिङ भएर पनि केमिकलको अभावमा सञ्चालन हुन सकेका छैन ।

     विदुर नगरपालिकाले खरिद गरेको पिसिआर मेसिन तथा उपकरण जिल्ला भित्र्एिको डेढ हप्ता भईसकेको छ । उक्त मेसिनको गत मंगलबार नै त्रिशूली अस्पतालमा सेटिङ गरेर क्वालिटी परीक्षण समेत भईसकेको छ । विदुर नगरपालिकाले खरिद गरेको पिसिआर मेसिनले जिल्लाबासीको कोरोना भाईरसको परीक्षण गर्न अझै केही समय लाग्ने त्रिशूली अस्पतालकी प्रमुख डा.सुनिता केसीले जानकारी दिनुभएको छ । पिसिआर मेसिन सञ्चालनको लागि मेडिकल माईक्रोवायोलिष्ट ज्ञानेश्वर थारूको नेतृत्वमा ९ जना प्राविधिक कर्मचारीले प्रदेश प्रयोगशाला धुलिखेलबाट तालिम लिएर बसिरहेका छन् । मेडिकल माईक्रोवायोलिष्ट थारूको नेतृत्वमा पिसिआर मेसिन सञ्चालन गर्न त्रिशूली अस्पतालले सम्पूर्ण भौतिक संरचना तयार गरिसकेको छ ।

     पिसिआर मेसिन खरीदको लागि नुवाकोट क्षेत्र नं.२ का प्रतिनिधीसभा सदस्य नारायणप्रसाद खतिवडाले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगतको बजेट सोध भर्ना हुने गरी अहिले विदुर नगरपालिकाले कार्यपालिकाको बैठकले बजेट विनियोजन गरेर लगानी गरेको छ । नगरपालिकाले मेसिन मात्र खरिद गरेको, मेसिनको लागि आवश्यक केमिकल कहीँ कतैबाट ब्यवस्था नभएपछि अस्पतालले केमिकल उपलब्ध गराईदिन प्रदेश र संघका स्वास्थ्य मन्त्रालयलाई गुहारीरहेको छ । मेनका ईन्टरप्राईजेजले अमेरिकन कम्पनीको पिसिआर मेसिन भ्याटसहित ८५ लाख ९१ हजार ३ सय ९० रूपैयाँमा उपलब्ध गराएको हो । उक्त मेसिन नेपालको ठूला अस्पतालमा समेत जडान गरेकोले यसको क्वालिटीको बारेमा प्रश्न उठाउने ठाउँ नरहेको वाग्मती प्रदेशको प्रयोगशाला धुलिखेलका प्रमुख डा.नारायण कार्कीले गत शुक्रबार क्वालिटी चेकजाँच गर्ने क्रममा बताउनुभएको थियो । उहाँले भन्नुभयो, ‘नेपालका ठूलाठूला अस्पतालले मात्र प्रयोगमा ल्याएको यो मेसिन नुवाकोटले खरिद गर्न सक्नु भनेको यहाँका जनप्रतिनिधी, राजनीतिक दलको जनताको स्वास्थ्यप्रतिको जिम्मेवारीलाई महत्व दिएको महशुस हुन्छ ।’ मेसिनको खरिद प्रक्रिया र मूल्यको बारेमा थाहा नभएको समेत उहाँले प्रतिक्रिया दिनुभएको छ । पिसिआर मेसिन खरिदमा आर्थिक चलखेल भएको कुरा बाहिर आईरहेको छ । केमिकल खरिद गर्ने पैसा नभएकोले अस्पतालले कहीँ कतैबाट केमिकल नआए मेसिन थन्काउनुको विकल्प नभएको अस्पताल सञ्चालक समितिले जानकारी दिएको छ ।

      नुवाकोटमा कोरोना संक्रमितको संख्या एक हप्तामा ३० जना बढेको छ । बुधबारसम्म नुवाकोटमा थप चार जना नोबेल कोरोना भाईरसबाट संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार ककनी गाउँपालिकाका ५९, ५५, ४० र ३५ वर्षका ४ पुरुषमा कोरोना संक्रमण मंगलबार देखिएको हो । उनीहरू अहिले होम आईसोलेसनमा रहनुभएको छ । गत हप्ता नुवाकोटमा कोरोना संक्रमितको संख्या १ सय ३१ रहेको छ । काठमाडौं उपत्यकासहित देशका केही जिल्लामा दिनदिनै संक्रमितको संख्या थपिदै गएपछि नुवाकोटमा संक्रमितको संख्या घटेको जस्तो देखिए पनि संक्रमणको जोखिम बढिरहेको स्वास्थ्य कार्यालयका प्रमुख सागर घिमिरेले बताउनु भएको छ । संक्रमितको संख्या बढिरहेको जिल्लाबाट नुवाकोट आउन खुला भएपछि संक्रमणको उच्च जोखिम रहेको उहाँले बताउनु भयो । स्वास्थ्य कार्यालयले अहिले जिल्लामा संक्रमित भएकाहरूको मात्र विवरण संकलन गरिरहेको छ । स्वास्थ्य मापदण्ड पालना नहुँदा संक्रमितको संख्या बढ्दै जान सक्ने भएकोले जिल्ला प्रशासन कार्यालय नुवाकोटले स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न शुरू गरेको छ ।