होम आइसोलेसनमा बस्नेलाई पाँच हजार

  • त्रिशूली प्रवाह
  • २२ आश्विन २०७७, बिहीबार १५:५६

बेलकोटगढी, नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोरोना लागेर होम आइसोलेसनमै बस्नुपर्ने अवस्था भएका संक्रमित ब्यक्तिलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन पौष्टिक तथा सन्तुलित खानपानको प्रबन्धका लागि एकमुष्ट ५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । नगरपालिकाले नगरभित्रका अपाङ्गता भएका ब्यक्ति एवं आर्थिक अवस्था कमजोर रहेका १ हजार ३ सय जनाको कोरोना बिमा गरिदिने समेत निर्णय गरेको छ ।

      नगर कार्यपालिकाको ४१औं बैठकले नगरपालिकामा रहेका १३ वडामा प्रत्येक वडाबाट १ सयको दरले १ हजार ३ सयको कोरोना बिमा गर्ने निर्णय गरेको हो । नगरप्रमुख राजेन्द्ररमण खनाल अध्यक्षताको बैठकले प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा गठन गरिएको वडास्तरीय कोरोना रोकथाम समुहमार्फत सिफारिस गर्नुपर्नेछ । कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले स्थानीयलाई सहयोग गर्ने उद्देश्यले एक ब्यक्तिका लागि ६ सय रुपैयाँको दरले लाग्ने खर्च नगरपालिकाले ब्यहोर्ने छ । त्यसका लागि आवश्यक बजेट नगरपालिकाले विनियोजन गरेको छ । आर्थिक र शारीरिक रुपमा कमजोर वर्ग÷समुहलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर सेवा पु¥याईरहेको बेल्कोटगढी नगरपालिकाका प्रमुख खनालले बताउनुभयो ।

      बेलकोटगढीबासीलाई कोरोना लागेर होम आइसोलेसनमै बस्नुपर्ने अवस्था भए संक्रमित ब्यक्तिलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन पौष्टिक तथा सन्तुलित खानपानको प्रबन्धका लागि एकमुष्ट ५ हजार रुपैयाँ दिने निर्णय नगरपालिकाले गरेको छ । ‘रोगको जोखिम बढ्दै गएकाले आगामी दिनमा जोसुकै संक्रमित हुन सक्ने अवस्था छ । त्यसका लागि १ हजार जना घरकै आइसोलेसनमा बस्नुपर्ने अवस्थालाई दृष्टिगत गरी ५ लाख बजेट बिनियोजन गरेको छ । कोरोना संक्रमणका कारण नगरबासीको दैनिकी प्रभावित भएकाले थप आर्थिक ब्यवभार नपरोस् भनेरै कमजोर वर्गलाई बिमा र होम आइसोलेसनमा बस्नेलाई रकम दिने निर्णय भएको नगर प्रमुख खनालले जानकारी दिनुभयो ।