हाम्रा कुरा : चाडपर्वमा सुरक्षा सावधानी अपनाऊ

  • त्रिशूली प्रवाह
  • २९ आश्विन २०७७, बिहीबार ११:०६
Logo of trishuli prawaha

सन् २०१९ का अन्तिम दिन चीनको बुहानमा देखिएको नौलो रोगको संक्रमण यसरी विश्वभरी फैलिन्छ भनेर अन्तराष्ट्रिय निकायले अनुमान गरेपनि सर्वसाधारणले पत्याएका थिएनन् । नेपालमा गत वर्षको चैत्र ११ गतेदेखि देशभर बन्दाबन्दी (लकडाउन) गरिंदा केही समयमा नै हामी रोग परास्त गर्न सक्छौं भन्ने सरकार र सर्वसाधारण आत्मविश्वास थियो तर अझ असुरक्षित र भयपूर्ण अवस्था कायम छ । यसअघि महामारीकै बीचमा पनि नेपालमा प्रचलित विभिन्न चाडवाड तथा दिवस मनाईएको थियो । नेपालीको प्रमुख चाड दसैं तिहार शुरू हुन लागि सकेपनि नेपालीको मनमा पूर्ववत् हर्षोल्लास देखिएको छैन । मलमास नपरेको भए यतिखेर हामी दसैंलाई विदा गरेर तिहारलाई स्वागत गर्ने तयारीमा जुटिसक्थ्यौं । अबका एक हप्तापछि नेपालीको ठूलो चाड दसैं शुरू हुन्छ । त्यसलगत्तै तिहार, नेपाल संवत्को नयाँ वर्ष, छठ, ल्होसार जस्ता विविध चाडवाड आउँदैछन् । नेपालमा अब चिसो मौसम शुरू हुँदैछ । चाडवाडमा हुने भीडभाड र चिसो मौसम कोभिड–१९ फैलने प्रमुख कारण मानिने भएकाले अबका दिनमा अझ सुरक्षात्मक विधी अपनाउन जरूरी छ ।

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को प्रकोप बढ्दै गएकाले दसैंमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दसैं मनाउन आग्रह गरेको छ । दसैंमा आवतजावत गर्दा कोभिडको संक्रमण तिव्र फैलन सक्ने भन्दै यस्तो आग्रह गर्दा कतिको चित्त दुखेको होला । तर भौतिक उपस्थितीमा मान्यजन, ज्येष्ठ तथा आफन्तसँग आशिर्वाद लिईने ब्यापक सामाजिक अन्तरक्रियात्मक चाड दसैंमा आफन्तसँगको भेट नहुने अवस्था अप्रिय लाग्न सक्छ । कोभिडकै सन्र्दभमा यसअघि हामीले बन्दाबन्दी जस्तो अप्रिय अवस्था भोगिसकेका छौं । नागरिक जीवन कष्टपूर्ण हुने भए पनि बाध्यतावश यस्ता निर्णय लिनुपर्ने अवस्था हाम्रो लागि दुःखद हो । चाडवाडमा खुम्चिएर बस्नुपर्ने अवस्था प्रिय होइन । सरकारले नागरिक स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेकाले यस्ता अप्रिय निर्णय पालना गर्न नागरिकले हिच्किचाउन हँुदैन । यस प्रकारका अप्रिय निर्णय सरकारले नलिएको भए कोभिडको परिणाम अहिलेको भन्दा सयौं गुणा बढ्ने थियो । अझै पनि अवस्था सुरक्षित नरहेकोले असल परिणामका लागि लिईने कष्टकर निर्णयको परिपालना गर्नु नै बुद्धिमत्ता हुनेछ । दसैंमा अग्रज तथा मान्यजनको हातबाट टिका थाप्न नपाउने अवस्था र ज्येष्ठहरूलाई कोभिड महामारीबाट सुरक्षित गर्नुपर्ने दायित्वबीच सन्तुलन गर्नु अहिलेको प्रमुख कर्तब्य नागरिकको हुनेछ ।

     चाडवाड, परम्परा समग्रमा संस्कृति हुन् । संस्कृति मानसिक आवश्यकतामा बन्ने र परिमार्जन हुनेमा संस्कृतिविद् विश्वस्त छन् । वर्तमानमा उभिएर शताब्दीपूर्व शुरू गरिएका हाम्रा चाडवाडको मूल्याङ्कन गर्ने हो भने यीनको स्वरूप, तौरतरिका, प्रयोग हुने सामाग्री, चाडवाडमाथि विश्वास तथा मूल्य सबैमा परिवर्तन आएका छन् । समग्र समाज, समाजका सदस्यका आवश्यकता भन्दा चाडवाड निरपेक्ष नहुने भएकाले यीनमा हुने परिमार्जन तथा अलगावलाई अन्यथा भन्न हुँदैन । आज विज्ञानले गर्दा जो जहाँ रहे, बसेको भएपनि प्रविधीमार्फत मान्यजनबाट आशिवार्द प्राप्त गर्न सक्छन् । परम्परागत भौतिक सम्पर्कलाई ‘भर्चुअल’ भेटघाट बनाउन सकिन्छ । आस्था प्रविधीबीच सन्तुलन गर्न सके हाम्रा चाडवाडलाई समयसापेक्ष र दिर्घकालिन बनाउन सकिने छ । चाडवाडको अन्तिम उद्देश्य समाज कल्याणका नै हो । यसका लागि साँस्कृतिक, धार्मिक रूपमा केही साधन र केही साध्य तोकिएको हुन्छ । भेटघाट, टिका, उपचार, आशिर्वाद दसैंका साध्य हुन्, साध्य परिवार, समुदाय र विश्व कल्याण नै धर्मको आधार हो । परिवार, समुह र विश्व कल्याणको कामना जो जहाँ छ, त्यहीँबाट गर्न सकिने भएका दसैंलगायतका चाडवाडमा भौतिक उपस्थितिलाई सिमित गर्न आवश्यक छ । यसो गर्न सबैभन्दा पहिलो ब्यक्ति नै पहिलो सरोकारी हो । पैसा–राजनीतिक–सामाजिक प्रभावशक्तिले भाईरसलाई जित्न नसकिने भएकोले जिम्मेवार भएर सुरक्षित रहँदै चाडवाड मनाउने वातावरण तयार गरौं । ‘आफू पनि बाचौं, अरूलाई पनि बचाऊ’ यसैमा छ हामी सबैको कल्याण ।