बेत्रावती कृषि सहकारीको साधारणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • २९ आश्विन २०७७, बिहीबार ११:०८

बेत्रावतीबजार, रसुवा जिल्लामा २०६९ सालमा स्थापना भएको बेत्रावती कृषि सहकारी संस्था लिमिटेडले २०७७ साल असोज २४ गते ७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

     संस्थाका निवर्तमान उपाध्यक्ष एवं जेष्ठ शेयर सदस्य हरिबहादुर डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष सोमलाल लवटले वर्षभरी संस्थामा भएका गतिविधी तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा कोषाध्यक्ष शशी डंगोलले आ.व.२०७६÷०७७ को आर्थिक प्रतिवेदनअनुसार ६ करोड बराबरको कारोबार गरेको जानकारी गराउनुभएको थियो । रसुवा जिल्लाको उतरगया गाउँपालिका र कालिका गाउँपालिकालाई आफ्नो कार्यक्षेत्र बनाई कृषि क्षेत्र तथा कृषकलाई आवश्यक आर्थिक लगानी गर्दै आईरहेको संस्थाले त्यसको अलावा हायर पर्चेज, घरजग्गा, दैनिक ब्यवसाय गर्दै आईरहेको ब्यवसायीलाई समेत सहजीकरण गरी सर्वसुलभ तरिका र सरल ब्याजदरमा कारोबार गरिरहेको समेत सचिव एवं कार्यक्रम सञ्चालक सुरज लवटले बताउनु भयो ।

     विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को संक्रमणलाई मध्यनजर गर्दै आफ्नो ईच्छुक शेयर सदस्य र कर्मचारीको स्वास्थ्य सुरक्षामा ध्यानमा राखी कोरोना बिमा समेत गरिएकोमा स्वास्थ्य मापदण्डको ख्याल राखी बेत्रावती र कालिकास्थान घुम्ती बजारबाट आफ्नो रेमिटेन्सलगायतका अन्य सेवा सुविधा जनसमुदाय समक्ष दैनिक दिईरहेको जानकारी संस्थाका ब्यवस्थापक निर्मला श्रेष्ठले गराउनुभएको छ । संस्थाले यसपटक कोरोना संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखी साधारण तरिकाले आफ्नै कार्यकक्षमा साधारणसभा सम्पन्न गरेको थियो । संस्थामा २ हजार २२ जना शेयर सदस्य आबद्ध छन् ।