रसुवाका अग्रज कम्युनिष्ट नेता सुब्बा लामाले राजनीति छाडे

  • त्रिशूली प्रवाह
  • २९ आश्विन २०७७, बिहीबार ११:१६

नेपाली समाजमा राजनीति भन्ने शब्द नै विकृत भन्दै गएकोमा चिन्तित छन् सुब्बा लामा । हिमाली जिल्ला रसुवामा तत्कालिन माले, एमाले हुँदै अहिलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकर्ता बन्न पाएकोमा दंग पनि छन् लामा । कुनै बेला रसुवामा सुब्बा लामा र एमाले पर्यायबाची थियो । तत्कालिन नेकपा एमाले रसुवाको पार्टी सचिवको जिम्मेवारी समेत पूरा गरेका लामा २००८ सालमा तत्कालिन स्याफ्रु गा.वि.स. वडा नं.-४ सानुभार्खुमा जन्मेका थिए ।

     बाल्यकालको उहाँको पढ्ने प्यास १९ वर्षको उमेरमा आएर सार्थक भयो । जिल्लामा तत्कालिन अवस्थामा विद्यालय नभएकोले अक्षर चिन्ने मौका गाउँमै पाए पनि अध्ययनलाई निरन्तरता दिने अवसर १९ वर्षको उमेरमा पुगेपछि मात्र पाएका लामाले पढ्नको लागि घर छाडेर भारत-बर्मा हुँदै भुटान हानिएका थिए । लामाले नियमित कक्षा गएर पढ्ने मौका १९ वर्षमा मात्र पाएका थिए । राजनीति सबैभन्दा आकर्षक मानिन्छ तर त्यस्तो आकर्षक सेवालाई पेशा बनाएकोमा लामालाई दुःख लागेको छ । राजनीतिलाई सेवा भन्दा पेशा बनाउँदा राजनीति विकृत भएको बताउने लामाले तिन दशक भन्दा लामो राजनीति क्रियाशिलतालाई अहिले चटक्कै छाडेर विश्राम लिईरहेका छन् । राजनीतिबाट विश्राम लिएपनि लामाले रसुवाको प्रमुख धार्मिक गोसाइँकुण्ड मार्गमा ४० वर्ष अघिदेखि खोलेको होटल ब्यवसायलाई भने निरन्तरता दिईरहेका छन् । यो मार्गमा होटल ब्यवसाय खोल्ने लामा पहिलो ब्यवसायी समेत हुनुहुन्छ ।

     कम्युनिष्ट पार्टीबाट प्रभावित लामालाई तत्कालिन जिल्ला पञ्चायत रसुवाका सभापति हुँदै राष्ट्रिय पञ्चायतका उपाध्यक्ष भएका दाजु दावाफिञ्जो तामाङले समेत परिवर्तन गराउन सकेनन् । दाजुले बारम्बार राजभक्तिको कुराले उनको आस्था र सद्भाव डगमगाएन । उहाँलाई अवसरै-अवसर र सुनौलो भविष्यको सपना देखाए पनि कम्युनिष्ट आर्दश र आचरणबाट बिचलित भएनन् । ७२ वर्ष टिकेका लामाको अहिलेसम्म कम्युनिष्ट आर्दश र आचरणमा अडिग छन् । उनी उदाहरणीय कम्युनिष्ट कार्यकर्ताको रूपमै रहेका छन् । गरिखानुपर्छ भन्ने मान्यता राख्नुहुने लामा कामदारको अभावले होटल लज सञ्चालनमा श्रीमतीसँगै खटिरहेका छन् । १९ वर्षको उमेरमा जिल्लाबाट पढ्न जाने चार जनामध्येमा छनोट भएर सिद्धार्थ वनस्थली बालाजु-काठमाडौंमा छात्रवृत्ति कोटामा अध्ययन गर्ने मौका पाए । कक्षा ४ मा १९ वर्षको उमेरमा औपचारिक अध्ययन शुरू गरेका लामाले कक्षा ४ मा एक वर्षमै राम्रो पढ्न सकेका कारण शिक्षकको सिफारिसमा कक्षा फड्किने अवसर पाए । शिक्षकले उमेरको कारण कक्षा ६ मा सिफारिस गरिदिए । कक्षा ६ बाट पनि उनको पढाईप्रतिको लगाव, मेहनतलाई देखेर कक्षा ६ बाट कक्षा ८ तीन वर्षमै फड्किने अवसर पाए । एसएलसी उत्र्तिण गरेपछि आरआर क्याम्पस प्रर्दशनीमार्ग काठमाडौंमा अध्ययन गर्ने क्रममा नुवाकोटका तत्कालिन भूमिगत कम्युनिष्ट नेता तथा शिक्षक शारदारमण नेपालको प्रेरणाबाट कम्युनिष्ट पार्टीप्रति मोह जागेको बताउँछन् लामा ।

      २०३५ देखि २०३८ सम्म जिल्लामा शिक्षण पेशा अंगालेका लामाले २०३८ साल शिक्षण पेशा छाडेर होटल ब्यवसाय शुरू गरे, त्यही ब्यवसायमा आजसम्म सक्रिय छन् । तत्कालिन नेकपा एमालेको जिल्ला कमिटी सदस्य रहेका लामालाई एमालेले रसुवाबाट २०४८ र २०५६ मा सांसदको उम्मेदवार बनाएपनि झिनो मतले पराजित भए । २०५५ देखि ०६१ सम्म रसुवामा पार्टी सचिव, २०६५ देखि २०७१ सम्म जिल्ला कमिटी सदस्य हुँदै अहिले एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा रसुवाको प्रमुख सल्लाहकार रहेका छन् । ७२ वर्षको लामालाई गत सम्पन्न स्थानीय, प्रदेश र संघको निर्वाचनमा नेकपाका जिल्ला नेताहरूले उम्मेदवार बनाउन खुव प्रयास गरेका थिए । अहिले प्रेशरको औषधी सेवन गरेका लामा कान कम सुन्छन् । प्रेशरको रोगी भएकोले राजनीति आफू खुशी छाडेको बताउँछन् । पार्टीले अहिले पनि बोलाईरहन्छ जिम्मेवारी लिनुप¥यो भनेर नेताहरूले भेटघाट र फोन गर्ने गरेको उनी बताउँछन् । होटल ब्यवसायमा सफल लामाको गोसाइँकुण्डमार्गको सिङगुम्बा, चन्दनबारीमा (३ हजार २ सय ५० मिटरको उचाई) रेडपाण्डा होटल विगत ४० वर्षदेखि सञ्चालन गरिरहेका छन् । उनको यो पेशालाई धर्मपत्नी करछेकी लामाले साथ दिईरहेकी छिन् । यो पेशा छाडेर काठमाडौं बस्न छोराछोरीले बोलाई रहेपनि हातगोडा चलुञ्जेल यतै बस्ने बताउँछन् लामा दम्पत्ति । करछेकी लामा बताउँछिन्, ‘छोराछोरी युरोप पढ्न गएका र उतै सेटल भएकाले हामी बुढाबुढीलाई काम गर्न पर्दैन, यतै बस्न आऊ ।’

      जीवनभर नेकपाको कार्यकर्ता र नेता बनेका लामा अहिले नेकपाको नेतृत्वको तीन तहको सरकारले जनपक्षीय काम गर्न नसकेकोमा चिन्तित छन् । उनी भन्छन्, सरकारले गरीव जनताको पक्षमा काम गर्न सकोस् । लामा भन्छन्, सरकारले राम्रो काम गरेको सुन्न पाए खुशी र सुखको सास फे¥थे ।