त्रिशूली अस्पतालमा डेढ दर्जन डाक्टर

  • त्रिशूली प्रवाह
  • २९ आश्विन २०७७, बिहीबार ११:३०
Logo of trishuli prawaha

विदुर, विगतमा सरकारी अस्पतालमा त्रिशूली अस्पतालमा डाक्टर देख्नै मुश्किल हुन्थ्यो । विशेषज्ञ डाक्टरको त कुरै नगरौं । अहिले नेकपा नुवाकोटको आग्रहमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले अस्पतालमा चिकित्सिकको दरबन्दी पूरा गरिदिनुभएको छ । विगतमा बिरामी खचाखच हुने अस्पतालमा अहिले डाक्टर खचाखच रहेको छ । जिल्लाको एक मात्र सरकारी अस्पताल त्रिशूलीमा दरबन्दीअनुसारको विशेषज्ञसहित डाक्टर बस्न थालेपछि बिरामीको चाप बढेको छ ।

     विगतमा दरबन्दी त्रिशूली अस्पतालमा कायम राखेर अधिकांश डाक्टर काजमा काठमाडौं बस्थे, अहिले त्यो प्रथा अन्त्य भएको छ । अस्पतालमा अहिले ८ जना विशेषज्ञ डाक्टर र ११ जना मेडिकल अधिकृत सेवामा खटिएका छन् । सरकारले सरकारी अस्पताललाई जनशक्ति, पूर्वाधार र स्रोत सम्पन्न गराउने योजनाअनुसार त्रिशूली अस्पतालले दरबन्दीअनुसारको चिकित्सक पाएको छ । १ सय शैøया स्वीकृति भएपनि त्रिशूली अस्पताल चिकित्सक र भौतिक पूर्वाधार नहुँदा विगतदेखि नै ५० शैøया सञ्चालनमा रहेको थियो । अहिले चिकित्सक दरबन्दी पूरा भएको छ भने कोईकाले निर्माण गरिदिएको सुविधायुक्त भवन हस्तान्तरणको प्रक्रियामा छ । भवन हस्तान्तरणपछि एक सय शैøया सञ्चालन हुने अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा.सुनिता केसीले जानकारी दिनुभएको छ । अस्पतालमा अहिले डा.केसी प्रशुती तथा स्त्रीरोग विशेषज्ञसहित आठ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । अस्पतालमा डा.अमितकुमार श्रेष्ठ मेडिकल जनरलिष्ट, डा.प्रेमप्रकाश पौडेल जनरल सर्जन, डा.सागर सेढाई रेडियोलोजिष्ट, डा.बसन्त लामिछाने आर्थेपेडिक सर्जन, डा.रिमा खड्का एनेसथेसियोलोजिष्ट, डा.विनेश थपलिया बालरोग र डा.मधुकर दाहाल प्रशुती तथा स्त्रीरोगका विशेषज्ञ कार्यरत छन् । अस्पतालमा डा.अषिम पौडेल, डा.अनुदिप कँडेल, डा.दिपेश उप्रेती, डा.निकु थापा, डा.कृष्णराज अर्याल, डा.सेलुजा हिङमाङ, डा.सुमेधा पौडेल, डा.कविता मानन्धर, डा.सन्दिप ढकाल मेडिकल अधिकृत र डा.सनम दुवाल, डा.श्रुति अग्रवाल डेन्टल सर्जनले अस्पतालमा दैनिक सेवा दिईरहेका छन् ।

     अहिले अस्पतालमा दैनिक बिरामीको चाप बढिरहेको स्थानीय समाजसेवी एवं मेडिकल सञ्चालक नवराज भण्डारीले बताउनुभयो । अस्पतालमा इमरजेन्सीसहित विशेषज्ञ सेवा दैनिक दुई सय जना भन्दा बढीले पाईरहेको अस्पतालले जानकारी दिएको छ । विगतमा साधारण रोगको समेत उपचार गर्न नसक्ने अस्पताल अहिले अप्रेसनसहित विशेषज्ञबाट निःशुल्क परामर्श सेवा दिईरहेको छ । बिरामीको रोगको अध्ययन गरेर अस्पतालको उपकरण र क्षमताले सक्ने उपचार र अप्रेसन गर्ने गरेको, त्यो भन्दा जटिललाई काठमाडौं रिफर गर्ने गरेको अस्पतालका प्रमुख डा.सुनिता केसीले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिनुभएको छ । विगतमा त्रिशूली अस्पताल बिरामी रिफर गर्ने केन्द्र बनेको थियो । त्रिशूली अस्पताल क्षमताअनुसार सञ्चालन हुन नसंक्दा सदरमुकाममा निजी अस्पताल र मेडिकल विगतमा फस्टाएको थियो । सरकारले सरकारी अस्पताललाई जनशक्ति, साधान र स्रोतले भरिपूर्ण बनाउने योजना रहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताउनुभएको छ । स्वास्थ्यमन्त्री ढकालले त्रिशूली अस्पताललाई रसुवा, धादिङको केन्द्रिय अस्पतालको रूपमा विकास गर्ने बताउनुभएको छ ।