स्वास्थ्य सम्बन्धी न्युनतम मापदण्ड पालना नहुँदा : फैलंदो कोरोनाले दशैं/तिहार खल्लो

  • त्रिशूली प्रवाह
  • २९ आश्विन २०७७, बिहीबार ११:३३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय लागू हुने हो भने यो हप्ता नेपालमा पुनः लकडाउन भईरहेको हुने थियो । नागरिकले स्वास्थ्य सम्बन्धी स्वास्थ्य सम्बन्धी न्युनतम मापदण्ड पालना नगर्दा फैलंदो कोरोनाले गर्दा दसैं तिहार खल्लो हुँदै । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७८ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन् ।

     बुधबार बिहानसम्म देशभर १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ६३ पुगेको छ । देशभर ३५ हजार ९ सय १५ जना सक्रिय संक्रमित रहेका छन् काठमाडौं उपत्यकामा मंगलबार २ हजार १ सय २९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जना संक्रमित भेटिएका छन् । मंगलबार १५ हजार ५ सय ७७ जनाको पिसिआर परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ७३ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसियु र भेन्टीलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्याङ्कअनुसार ६६ जना भेन्टीलेटरमा र ३ सय ७ जना संक्रमित आईसियुमा छन् । आईसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी वाग्मती प्रदेशमा १ सय ६९ जना आईसियु र ५७ जना भेन्टीलेटर, लुम्बिनी प्रदेशमा ५० जना र पाँच जना भेन्टिलेटरमा र प्रदेश २ मा २० जना आईसियुमा उपचाररत छन् । यस्तै, सुदूरपश्चिममा ४, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १९ जना आईसियुमा उपचाररत छन् ।

     काठमाडौं उपत्यकामा पछिल्लो साता दैनिक देशभरको संक्रमित मध्ये ५० देखि ६० प्रतिशतमाथि देखिन थालेको छ । देशभर एक सय जनामा कोरोना देखिंदा काठमाडौं उपत्यकामा मात्रै ६० जनामा देखिएको छ । यसले के देखाएको छ भने बढी जनसंख्या भएको ठाउँमा कोरोना महामारीको रुपमै देखिएको छ । चाडको कारण मानिस काम र किनमेलको सिलसिलामा काठमाडौंमा केन्द्रित भएका छन् । अन्य जिल्लामा पनि शहर बजार क्षेत्रमा मानिसको चहल–पहल शुरु भएको छ । मानिसको चलयमानसँगै कोरोना संक्रमितको संख्या बढ्दै जाने पक्का भएको छ । लकडाउनको अवधिमा काठमाडौंमा मानिसको आवत–जावत कम हुँदा कोरोना देखिएको थिएन । जब मानिसको आवत–जावत बढ्दै गयो त्यसपछि कोरोना बढ्न थालेको हो । चाडको बेला मानिसको आवत-जावत बढी हुने समय हो । त्यही कारण अहिले दैनिक कोरोना संक्रमितको संख्या उकालो लागेको छ ।

     सरकारका अन्य मन्त्रीले देशको आर्थिक अवस्था बिग्रदै गएको र यही अवस्था रहेसम्म कर्मचारीलाई तलब खुवाउन समेत समस्या हुने बताएर अब लकडाउन नहुने बताई रहेपनि स्वास्थ्य मन्त्रालय भने संक्रमित बढेकोले थेग्ने अस्पताल नभएको कारण दसैं र तिहार पूर्णरूपमा लकडाउन गर्न सरकारलाई सिफारिस गरिरहेको छ । यदि उक्त सिफारिस कार्यान्वयन गर्न सरकार अगाडी बढेमा त्यसले सर्वसाधारण, उद्योगी, ब्यवसायी सबैको दसैं र तिहारमाथि कालो बादल मात्र होइन आर्थिक अवस्थालाई समेत नराम्रो घाटा पार्ने छ । नेपालमा उपभोगमा सबैभन्दा बढी पैसा खर्च हुने समय यही हो । अर्थात कार्तिकसम्म मानिसले उपभोगका लागि बढी खर्च गर्छन् । कुल ब्यापारको झण्डै आधा यही दसैं तिहार र छठको समयमा हुने गरेको छ । सरकारले लकडाउन वा निषेधाज्ञा लगाउने हो भने धेरै ब्यापार हुने बेलामा लागेको कालो बादलले देशको अर्थतन्त्रलाई प्यारालाईसिस गर्ने पक्का छ । चैतदेखि रोकिएको देशको अर्थतन्त्र अहिले केही चलायनमान हुन लाग्ना साथ स्वास्थ्य सम्बन्धी न्युनतम सावधानी नअपनाउँदा अहिले कोरोनाको संक्रमण दैनिक बढेको छ ।

     ब्यापार तथा उद्योग गर्नेले स्वास्थ्य सम्बन्धी न्युनतम मापदण्ड अपनाएर काम गर्ने हो भने कोरोना संक्रमण न्युन हुनेछ । तर, ब्यापार ब्यवसायमा सजगता नअपनाउँदा कोरोना संक्रमितको संख्या बढेको छ भने स्वास्थ्य मन्त्रालयको मागलाई पुष्टि गर्दै लगेको छ । स्वास्थ्य मन्त्रालयको अडान मानिसको स्वास्थ्य बिग्रन नदिनु हो । अर्थात जसरी पनि समाजलाई स्वास्थ राख्नु नै हो । तर, ब्यापारको नाममा लापरबाही गर्दा जोखिम बढेको छ । उद्योगी तथा ब्यवसायीले स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गर्ने हो भने सरकारले लकडाउन गर्न सक्ने छैन । तर, लापरबाही बढ्दै गयो भने विश्व स्वास्थ्य संगठनले नेपाललाई दबाव दिनेछ र जतिसुकै ठूलो चाड भए पनि दसंै र तिहारमा लकडाउन वा निषेधाज्ञा लगाउन सरकार बाध्य हुनुपर्नेछ । दशैं र तिहार तथा छठ जस्तो मानिसको दुःख, सुख साटासाट र सम्बन्ध बढाउने चाडलाई मात्र होइन देशकै अर्थतन्त्रमाथिको कालो बादल हटाउने हो भने सबैले आ–आफ्नो काम गर्दा स्वास्थ्य सम्बन्धी सरकारले तोकेको न्युनतम मापदण्डको पालना गर्नुपर्नेछ ।