रसुवा र नुवाकोटमा कोरोनाले भयाबह रुप लिंदै

  • त्रिशूली प्रवाह
  • २९ आश्विन २०७७, बिहीबार ११:४९

विदुर, रसुवा र नुवाकोटमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको छ । नुवाकोटमा बुधबारसम्म २ सय २९ र रसुवामा ३२ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । असोज २१ गतेसम्म नुवाकोटमा १ सय ६१ जना संक्रमित रहेकोमा हिजो बुधबारसम्म संक्रमित ६८ जना पुगेको छ ।

      हालसम्म नुवाकोटको विदुर नगरपालिकामा महिला २२ र पुरूष ७२ गरी ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या बेलकोटगढी नगरपालिकामा महिला ५ र पुरूष १२ गरी १७, तारकेश्वर गाउँपालिकामा महिला ४ र पुरूष १७ गरी २१, म्यागङ गाउँपालिकामा पुरूष ४, तादी गाउँपालिकामा महिला २ र पुरूष १४ गरी १६ रहेका छन् । त्यसैगरी, दुप्चेश्वर गाउँपालिकामा महिला ८ र पुरूष ९ गरी १७, किस्पाङ गाउँपालिकामा महिला २ र पुरूष ६ गरी ८, सुर्यगढी गाउँपालिकामा पुरूष ३, ककनी गाउँपालिकामा महिला ३, पुरूष १० गरी १३, पञ्चकन्या गाउँपालिकामा महिला २, पुरूष ७ गरी ९, लिखु गाउँपालिकामा महिला २, पुरूष ७ गरी ९, शिवपुरी गाउँपालिकामा महिला ३, पुरूष १० गरी १३ र अन्यमा १ जना कोरोना संक्रमित रहेका छन् । बुधबार संक्रमित ४ जनाको ठेगाना खुल्न बाँकी रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनुभयो । नुवाकोटमा असोज २२ गते एक जना, २३ गते दुई जना, २४ गते २४ जना, २५ गते २६ जना, २७ गते ११ जना र २८ गते ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । संक्रमितहरूमध्ये २४ जना अस्पतालको आईसोलेसनमा, १७ जना गाउँपालिकाको आईसोलेसनमा र ५५ जना होम आईसोलेसनमा रहेको जानकारी सूचना अधिकारी खनालले दिनुभयो । अहिलेसम्म संक्रमितमध्ये उपचारपछि निको भएर १ सय २९ जना घर फर्केका छन् ।

      त्यसैगरी, रसुवा जिल्लामा आईतबार ६ जना कोरोना संक्रमित थपिएपछिको संख्या ३२ पुगेको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा ४ जना, आमाछोडिङ्मो गाउँपालिकामा १ जना, कालिका गाउँपालिकामा ८ जना, उत्तरगया गाउँपालिकामा ६ जना, नौकुण्ड गाउँपालिकामा ९ जना र जिल्ला बाहिर ४ जना कोरोना संक्रमित भएका थिए । जिल्लाका संक्रमितमध्ये २१ जना निको भएर घर फर्किसकेका छन् । सक्रिय संक्रमितमध्ये चार जना आईसोलेसन सेन्टर र ७ जना होम आईसोलेसनमा रहेका छन् । रसुवा जिल्लामा हालसम्म १ हजार १ सय १६ वटा स्वाब संकलन गरिएको छ । अब ४७ वटाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रसुवाका कुमार श्रेष्ठले जानकारी दिनुभयो । रसुवा जिल्लामा ३५ शैयाको आईसोलेसन रहेको छ ।