हाम्रा कुरा : सरकार परिवर्तनमा नलागौं !

  • त्रिशूली प्रवाह
  • २० कार्तिक २०७७, बिहीबार ११:२१
Logo of trishuli prawaha

यो हप्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद छताछुल्ल भएको छ । पार्टी फुटको संघारमा पुगेको समाचार बाहिर आउँदा राजनीतिक स्थायित्व सुनिश्चित नहुने हो कि भन्ने पिरलोमा पार्टी कार्यकर्ता रहेका छन् । देशबासीले भने संघीयता कार्यान्वयन नहुने हो कि भन्ने चिन्ता ब्यक्त गरिरहेका छन् ।

     नेकपाको केन्द्रिय नेताहरूले यो हप्ता सामाजिक सञ्जाल फेसबुकमा पार्टी एकता गम्भिर संकटको मोडमा पुगेको भन्दै पार्टी एकताको रक्षाको लागि सकरात्मक योगदान गर्न नेता कार्यकर्तालाई आग्रह गरिरहेका छन् । नेताको भनाईबाट यतिबेला पार्टी एकता गम्भिर संकटको मोडमा आईपुगेको प्रष्टिन्छ । नेतृत्वतहमा उत्पन्न अन्तर विरोधले पार्टी एकताको औचित्य खण्डित हुने हो कि भन्ने चिन्ता कार्यकर्तामा पैदा भएको देखिन्छ । जीवन्त पार्टीमा विचार तथा राजनीतिक छलफल हुनु स्वाभाविक हो । नेताहरूबीच हुने संवाद, अन्तरक्रिया तथा उठबसले परिणाममुखी नतिजा दिन सकेन भने कालान्तरमा यसले लोकतन्त्रमाथी नै आघात पु¥याउन सक्छ । सामुहिक नेतृत्वबाट राज्य सञ्चालन गर्ने हाम्रा दलहरूको पुरानो संस्कार हो । यही सोचले समयसमयमा समस्या खडा गरिदिएको छ । सबै दलमा यस्तै प्रकारको समस्या छ । नेकपाभित्र अहिले देखिएको उतारचढाव यसैको परिणाम हो । दलहरूले न त संबैधानिक अभ्यास गरे न त दलिय परिपाटी अङ्गाले । दुवैलाई एकैसाथ आत्मसात् गर्न खोज्दा समस्या आईरहेको छ । अझ एउटा दलमा दुईवटा अध्यक्ष बनाउँदा समस्या झनै थपियो । सरकारको नेतृत्व एउटाले र दलको नेतृत्व अर्कोले गर्ने भनि निर्णय हुँदा पनि समस्या समाधान हुन सकेन । सरकारको नेतृत्व एउटाले र दलको नेतृत्व अर्कोले गर्न नसंक्नाले अहिलेको स्थिती उत्पन्न भएको हो । संसदीय ब्यवस्थामा सरकार प्रमुखले सरकार सञ्चालन गर्ने हो । दलको चुनावी प्रतिबद्धतालाई मध्यनजर राख्दै संबैधानिक ब्यवस्थाअनुसार शासन गर्ने हो । पार्टीको मार्ग निर्देशनअनुसार चल्ने हो । तर यसको अर्थ उसलाई घेराबन्दी गरेर कामै गर्न नदिने भन्ने होइन ।

     सरकार सञ्चालनमा पार्टीले हस्तक्षेप गर्न थाल्यो भने संबैधानिक मूल्य र मान्यता विपरीत हुन जान्छ । तर सरकारको काम कारबाही जनअपेक्षा अनुकूल देखिएन भने सरकारलाई सचेत गराउने जिम्मेवारी दलकै हो । हिजोको रवैयाले आज काम गर्दैन । सत्ता र शक्तिका लागि मात्र हामी राजनीति गर्छौं भने त्यसले लोकतन्त्र कमजोर हुन्छ । प्रतिक्रान्ति हुने प्रबल सम्भावना रहन्छ । सरकार परिवर्तनको खेलमा नलागौं । कमी कमजोरीसँगै बसेर समाधान गर्नुको विकल्प छैन । संवादको. विकल्प छैन । जनता यही चाहन्छ । सम्झौता पालना गरौं । सरकार चलाउनेले दलका गतिविधीमा हस्तक्षेप नगरौं र दल सञ्चालन गर्नेले सरकारको काममा अनावश्यक हस्तक्षेप नगरौं । महाधिवेशनसम्मका लागि यही नै उत्तम विकल्प हुन सक्छ । यसैमा नेकपाको भविष्य रहेको छ ।