पिसिआर परीक्षण नुवाकोटमा सुरु, सङ्क्रमित छाडा

  • त्रिशूली प्रवाह
  • २० कार्तिक २०७७, बिहीबार ११:२४
Logo of trishuli prawaha

विदुर, नुवाकोटमा गत कात्तिक ६ गतेदेखि पिसिआर परीक्षण जिल्ला अस्पताल त्रिशूलीमा भइरहेको छ । अस्पतालमा कोरोनाको पिसिआर परीक्षण गर्न बिरामीभन्दा पनि लक्षण नै नदेखिएका व्यक्तिको भिड हुन थालेको छ । कोरोना परीक्षणका लागि राजनीतिक दलका नेताहरूको सिफारिस चाहिने भएपछि सङ्क्रमित भएकाहरूले परीक्षण गर्ने अवसर पाएका छैनन् । सङ्क्रमित सवारीसाधन र मोटरसाइकलमा ओहोरदोहोर गरिरहेका छन् । जसले गर्दा विदुर नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या नियन्त्रण गर्न नसक्ने अवस्थामा पुग्ने हो कि भन्ने चिन्ता चिकित्सकले गरेका छन् ।

    जिल्लामा पिसिआर परीक्षण हुन थालेपछि मंगलबार एकैदिन ६० जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये ५२ जना विदुर नगरपालिकाका मात्रै रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । बढ्दो सवारी चाप, जनघनत्व र चहल–पहल भएका कारण विदुर नगरपालिकामा दिनकै ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । थपिएका सङ्क्रमितमध्ये विदुर नगरपालिकामा ३१ जना पुरुष र २१ जना महिला रहेका छन् । उनीहरू सबैजना अहिले होम आइसोलेसनमा बसिरहेका छन् । ६० जना सङ्क्रमित पुष्टि भएकामध्ये लिखु गाउँपालिकामा दुईजना महिला, पञ्चकन्या गाउँपालिकामा तीनजना पुरुष र एकजना महिला, तादी गाउँपालिकामा एकजना महिला र ककनी गाउँपालिकामा एकजना रहेका छन् । नुवाकोटमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या मंगलबार तीन सय ४७ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले बताए । अहिले नुवाकोटमा पाँच सय ७३ जना कोरोना सङ्क्रमित पुगेका छन् । सबैभन्दा बढी विदुर नगरपालिकाभित्र रहेका छन् । नुवाकोटमा बुधबारसम्म ६ हजार चार सय ७६ जनाको स्वाब सङ्कलन गरिएको छ । कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका, सङ्क्रमणको लक्षण देखिएकाको मात्रै स्वास्थ्य कार्यालयले स्वाब सङ्कलन गर्ने गरेको छ । सङ्कलन भएको स्वाबमा अहिले पनि दुई सय ३२ जनाको परीक्षण हुनै बाँकी रहेको छ । बुधबार थप एकजनामा कोरोना सङ्क्रम पुष्टि भएको छ ।

     हाल त्रिशूली अस्पताल नुवाकोटमै पिसिआर प्रयोगशालाको स्थापना भएपछि स्वाब सङ्कलन तथा परीक्षणमा सहज भएको छ । यसभन्दा अगाडि स्वाब सङ्कलन भएको एक सातापछि मात्रै नतिजा आउने गरेकोमा अहिले एक दिनमै नतिजा आउन थालेको छ । यससँगै नुवाकोटमा कोरोना सङ्क्रमितको पहिचान र उपचारमा सहज हुँदै आएको छ । पछिल्लो समय सङ्क्रमण पुष्टि भएकालाई होम आइसोलेसनमै बस्न स्वास्थ्य कार्यालय नुवाकोटले आग्रह गरेको छ । स्वास्थ्यमा कुनै जटिलता आएमा मात्रै अस्पताल आउन आग्रह गरेको छ । त्रिशूली अस्पतालमा रहेको पिसिआर मेसिनले पाँच सय ८७ जनाको सेम्पल परीक्षण गरेकोमा तीन सय १३ जनामा पोजेटिभ र दुई सय ७४ जनामा नेगेटिभ देखिएको जानकारी त्रिशूली अस्पतालकी प्रमुख डा. सुनिता केसीले जानकारी दिइन् । उनले दिएको जानकारीअनुसार रसुवा र धादिङका स्थानीय निकायको सिफारिसमा पिसिआर परीक्षण निःशुल्क गरिएको छ । नुवाकोटका कोरोना सङ्क्रमितलाई पनि पालिकाको सिफारिसमा मात्र पिसिआर परीक्षण हुँदै आएको छ । अस्पतालमा रहेको पिसिआर मेसिनको क्षमता एकपटक रन गर्दा ९५ जनाको सेम्पल परीक्षण हुन्छ । परीक्षणको रिपोर्ट आउन आठदेखि १० घन्टा लाग्ने गरेको छ ।