- प्रेमराज सिलवाल
अमेरिकालाई फेरि महान् बनाऔँ (मेक अमेरिका ग्रेट अगेन)को चुनावी नारामा रिपब्लिकन पार्टीबाट सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीकी चर्चित उम्मेदवार हिलारी क्लिन्टनलाई झिनो इलोक्ट्रोरल मतले हराएर राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावमा विजयी भएका थिए । उग्र राष्ट्रवादी नारासहित अमेरिकी जनताको हित र आप्रवासी एवम् गैरअमेरिकनप्रति कडा बनेका ट्रम्पको सो नारा त्यतिबेला औधी बिकेको थियो र उनी पूर्वानुमानविपरीत विजयी भएका थिए । चुनावपूर्वका सबैखाले पूर्वानुमानहरूलाई नतिजाले हावा ख्वाएर ढलाएको थियो । विश्वको शक्तिशाली अमेरिकी राष्ट्रपतीय निर्वाचनको विश्व–राजनीतिमा ठूलो र चौतर्फी असर तथा प्रभाव पर्ने गरेकाले नेपाल र नेपाली राजनीतिमा समेत अस्ति मंगलबार भएको निर्वाचनले नेपाली राजनीतिलाई पनि जोडेको देखिन्छ ।
विश्व राजनीतिमा अमेरिकी राष्ट्रपति निर्वाचनले समग्र पक्ष र क्षेत्रमा विविध चर्चा हुन थालेका छन् । राष्ट्रपति ट्रम्पको उग्रता, हठी स्वभाव तथा कार्यशैलीका कारण बहुसङ्ख्यक अमेरिकी निराश भएको भनिएका छन् । उनले तत्कालीन समयमा गरेका निर्वाचन पूर्वका घोषणाहरू पूरा हुन नसक्नु, सबै पक्ष र नागरिकप्रति उदार हुन नसक्नु र हालैको कोरोना र त्यसले ल्याएका अनेकौँ जटिलतामा पनि राष्ट्रपति ट्रम्पलाई नै विभिन्न गम्भीर आक्षेप र आरोप लाग्ने गरेकाले सन् यसपटकोे निर्वाचन भने राष्ट्रपति ट्रम्पका लागि फलामको चिउरासमान हुने राजनीतिक अड्कलबाजीहरू गरिएको छ । विश्वको एक नम्बर शक्तिशाली अर्थतन्त्र र समृद्ध मुलुकको निर्वाचनको कारण विश्व राजनीति र कूटनीति अनेक दृष्टिले चर्चा र बहसको केन्द्रमा रहेको देखिन्छ ।
अमेरिकी निर्वाचन र चुनावी मुद्दाहरू :
अमेरिकी निर्वाचनमा प्रमुख दलका रूपमा दुईवटा राजनीतिक दलहरू डेमोक्रेटिक र रिपब्लिकन पार्टीहरूका बीचमा इतिहासदेखि नै चुनावी प्रतिस्पर्धा हुँदै आएको छ । सन् १७७६ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै पूर्णसङ्घीयतासहितको प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय निर्वाचनलाई लागू गरिएका छन् । हरेकजसो निर्वाचनमा यी दुई पार्टीबीच नै घम्साघम्सी पर्दै आएको छ । रिपब्लिकन पार्टी परम्परागत मान्यतालाई मान्ने, आदिवासी र गोराहरूको बढी वकालत गर्ने, कानुनहरू कडा गर्नुपर्ने, मृत्युदण्डलाई अझै कडा गर्नुपर्ने, गैरकानुनी विदेशी तथा आप्रवासीहरूप्रति कडा हुनुपर्ने, अफ्रिकन–अमेरिकनहरूप्रति पनि कडा नीति लिँदै आएको तथा बढी राष्ट्रवादी नारा उराल्ने गरेको देखिन्छ । अर्काेतर्फ डेमोक्रेटिक पार्टी रिपब्लिकनको तुलनामा उदार (लिबरल), नरम, विदेशी आप्रवासीहरूप्रति नरम रवैया लिएको छ । डेमोक्रेटिक पार्टी ‘शक्तिशाली अमेरिका र सबैको अमेरिका’ भन्ने नारा र नीतिमा रहेको छ । ऊ अफ्रिकन–अमेरिकनहरूप्रति समेत नरमखाले धारणा राख्दछ । त्यति मात्र होइन, उसले सन् २००८ को निर्वाचन र सन् २०१२ को निर्वाचनमा लगातार दुईपटक काला जातिमै जन्मेका बाराक ओबामालाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । ओबामाले दुवैपटक सानदार तरिकाले जितेका थिए । उनी अमेरिकामा मात्र होइन विश्वभर लोकप्रिय भए र आज पनि रहेका छन् । यसरी हरेक निर्वाचनमा डेमोक्रेटिक र रिपब्लिनक पार्टीको चुनावी मुद्दाहरू बन्दै आएको सुरक्षा, विदेश सम्बन्ध, व्यापार, कर, विकासलगायतका विभिन्न मुद्दाहरूले अमेरिका र विश्वभरको भूराजनीतिमा बहस बन्ने गरेको देखिन्छ ।
अमेरिकी राष्ट्रपति निर्वाचन र विश्वमा प्रभाव :
अमेरिकी राष्ट्रपतिको निर्वाचनबाट विश्वभरको राजनीति तात्ने गरेको छ । निर्वाचिनमा राष्ट्रपति कुन पार्टीको हुने र उसले कस्ता–कस्ता नीति लिने भन्ने कुराले विश्वभर चासो, सरोकार र चिन्ताहरू लिइने गरिएका छन् । भूराजनीति, कूटनीति, व्यापार, वाणिज्य, सुरक्षा, सहयोग, संयुक्त राष्ट्र सङ्घ र यसको भूमिका, लगानी, विदेशी कामदारहरूलाई विभिन्न शीर्षकमा दिइने अनुमति (भिसा), विभिन्न आयोजनामा सहयोगजस्ता अनेकौँ विषय तथा सन्दर्भमा विश्वका सबैजसो मुलुकले चासोका साथ हेरिरहेका हुन्छन् र छन् । सन् २०१६ मा चर्का र उग्रराष्ट्रवादी नारा दिएर चुनाव जितेका ट्रम्पले यसबीचमा चुनावी घोषणाबमोजिम कार्य गर्न नसकेको आरोप लाग्ने गरेका छन् । छिमेकी मेक्सिकोको सीमामा पर्खाल लगाएर विदेशीलाई नियन्त्रण गर्ने, गैरकानुनी कामदार निकाल्ने, करोडौँको रोजगारी सिर्जना गर्नेजस्ता महत्वाकाङ्क्षी नारा ट्रम्पले दिएका थिए । जसका कारण अमेरिका र विश्वभर त्यो चर्चाको शिखरमा पुगेको थियो । तर, कार्यान्वयनमा हेर्दा ती नाराहरू नारामै सीमित रहेको देखिन्छ । अर्काेतर्फ सन् २०१९ को अन्तमा चीनबाट सुरु भएको कोभिडका कारण पनि अमेरिकी समाज र अर्थतन्त्र एक हिसाबले ध्वस्तप्रायः बन्न पुगेको छ । सुरुमा कोरोनालाई ‘केही होइन’ भन्दै चीनलाई सराप्न पुगेका राष्ट्रपति ट्रम्पले ‘पर्ख र हेर’ भन्दै ‘केही नगरेको र मुलुकलाई ध्वस्त गरेको’ भन्ने आरोप डेमोक्रेटिकका उम्मेदवार जो बाइडिनले पहिलो राष्ट्रपतीय विवाद (प्रिसिडेन्टल डिबेट)मा सार्वजनिक आरोप लगाएका छन् । विश्वको शक्तिशाली अर्थतन्त्रको एक नम्बरमा रहेको अमेरिकामा कोरोनाको महामारीको हिसाबले पनि पहिलो नै रहेको छ । यसरी त्यसको चौतर्फी आरोप ट्रम्पलाई लागेको देखिन्छ । चीनबाट सुरु भएको भए पनि त्यहाँ नियन्त्रणमा आइसकेको सार्वजनिक भएका छन् । तर, अमेरिकामा निरन्तर व्यापक हुँदै गइरहेको कोरोनाको असर र दुष्प्रभावका बाछिटाहरू विश्वभर परेको छ । व्यापार, सुरक्षा, पर्यटन, लगानी, शिक्षा र स्वास्थ्य, विदेश सम्बन्धलगायत अनेकौँ पक्ष र क्षेत्रमा कोरोनाको पनि असर देखिन्छ । अमेरिका र अमेरिकी प्रभाव तथा लगानीका हजारौँ आयोजना र गैरसरकारी क्षेत्र विश्वभर क्रियाशील हुनु, अमेरिकासँग व्यापार, वाणिज्य तथा आवतजावतजस्ता क्रिया बढी हुनुले त्यसले विश्वमा चौतर्फी असर पारेको हो । कोरोनाकै बीचमा भएको राष्ट्रपति निर्वाचनको चुनावी दौडमा डेमोक्रेटिक पार्टीबाट बाइडिन र रिपब्लिकनबाट ट्रम्पले एक–अर्काप्रति चुनावी आगो र धावा बोलेका थिए ।
अमेरिकी राष्ट्रपति निर्वाचन र नेपाल :
सामान्य दृष्टिकोणले हेर्दा अमेरिकी राष्ट्रपतीय निर्वाचनको नेपाल र नेपालीमा खासै प्रभाव पर्दैन कि भन्नेजस्तो लाग्न सक्छ । तर, बृहत् राजनीतिक–कूटनीतिक तथा आर्थिक पक्षबाट विश्लेषण गर्ने हो भने त्यसले नेपाल र नेपालीका विभिन्न पक्षमा असर र प्रभाव पर्ने देखिन्छ । आज डिभीको माध्यमबाट होस् वा अन्य माध्यमबाट, हजारौँ नेपाली अमेरिकामा विभिन्न पेसामा स्थायी र अस्थायी रूपमा बसोवास गरिआएका छन् । अमेरिका र अमेरिकी राष्ट्रपतिले लिने विदेश नीति र आप्रवासी तथा कामदारहरूप्रति लिने विभिन्न नीतिले नेपाल र नेपालीहरूलाई समेत असर पर्ने हुन्छ । विश्व राजनीतिमा अग्रणी भूमिका र महत्व भएको अमेरिकाले नेपालको विकास र विभिन्न क्षेत्रमा सहयोग र लगानी गर्दै आएकाले पनि अनेक पक्षमा अर्थ र महत्व भएको हो । अर्काेतर्फ नेपाली हस्तकला र टुरिस्ट वस्तुको बजारको केही हिस्सामा अमेरिकीहरूको पनि हात रहेको देखिन्छ । यसरी नेपाल र नेपालीका विभिन्न विषय, पक्ष, क्षेत्र र सन्दर्भहरूमा अमेरिकाको महत्वपूर्ण भूमिका भएकाले अमेरिकी निर्वाचनबाट नेपाल र नेपाली पनि प्रभावित हुने हुन्छ । संयुक्त राष्ट्र सङ्घमा अमेरिकी भूमिका चौतर्फी रहेको छ । कुल खर्चको ३५ प्रतिशतसम्म अमेरिका एक्लैले संयुक्त राष्ट्र सङ्घ सञ्चालनमा सहयोग गरिआएको छ । सन् १९५५ अक्टोबर २४ मा सदस्य भएको नेपालले पनि संयुक्त राष्ट्र सङ्घ र उसका विभिन्न निकायबाट अनेक खालका सहयोग लिइरहेको छ । यस दृष्टिकोणले पनि अमेरिकी निर्वाचन नेपाल र नेपालीका लागि अर्थपूर्ण भएको हो ।
विश्व राजनीति र कूटनीतिमा अध्ययन र रुचि राख्ने हरेक सचेत, अध्ययनशील बौद्धिक व्यक्ति र समूहका लागि अमेरिकी चुनाव एउटा थप अध्ययन र अनुसन्धानको विषय पनि हो । प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय मोडेलमा सन् १७७६ पछि निरन्तर एउटै राजनीतिक र शासकीय प्रणालीमा रहेको एवम् पूर्ण सङ्घीय शासन लागू गरेको अमेरिकी निर्वाचन हाम्रा लागि यस पक्ष र अर्थमा पनि उत्तिकै महत्वपूर्ण रहेको छ । सन् २०१५ को नयाँ संविधानबाट नेपाल सङ्घीय मुलुक भएको छ । सङ्घीयताका विभिन्न विश्व अनुभवबाट नेपाली सङ्घीयताले पनि धेरै कुरा सिक्न र अनुभव गर्न आवश्यक छ । विगतमा कतिपय राजनीतिक सन्दर्भमा प्रत्यक्ष कार्यकारीको चर्चा र बहस नेपालमा पनि भएको वा हुने गरेका थिए । नेपाली शासन र राजनीतिमा अमेरिकाले लागू गरेको प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको निर्वाचनको मोडेलको विभिन्न पक्षबाट अध्ययन गर्नुपर्छ । यसरी अमेरिकी राष्ट्रपतिको निर्वाचन नेपाल र नेपालीका लागि समेत चासो, सरोकार र बहसको विषय हुन पुगेको देखिन्छ । यसैले पनि होला अमेरिकामा रहेका कतिपय नेपाली समुदाय र व्यक्ति डेमोक्रेटिक पार्टीको चुनावी प्रचार र सहयोगमा समेत लागेका देखिन्छन् ।