विनपा र नेपाल बैंक लिमिटेडबीच सम्झौता

  • त्रिशूली प्रवाह
  • २० कार्तिक २०७७, बिहीबार ११:३१

विदुर, नुवाकोटको विदुर नगरपालिकाले कृषि तथा पशुपन्छीजन्य कृषि उद्योगको उत्थानका लागि नेपाल बैंक लिमिटेडसँग एकीकृत ब्याज अनुदान र बिनाधितो ऋणसम्बन्धी सम्झौता गरेको छ । गत हप्ता भएको सम्झौताअनुसार विदुर नगरपालिकाभित्रका वैदेशिक रोजगारीमा गएर आएका र परम्परागत सीप र पेसालाई आधुनिकीकरण गर्न चाहने युवाले अवसर पाउने भएका छन् ।

     नगर प्रमुख उद्यमशीलता विकास कार्यक्रम निर्देशिकाअनुसार विदुर नगरपालिकाले नेपाल बैंकसँग एकीकृत ब्याज अनुदान र बिनाधितो ऋणसम्बन्धी सम्झौता गरेको हो । विदुर नगरपालिकाको जमानतमा नेपाल बैंकले निर्देशिकामा तोकिएका मापदण्डअनुसार कृषि कर्जा प्रवाह गर्नेछ । जसका लागि विदुर नगरपालिकाले सहजीकरण गर्नेछ । नगरपालिकाको जमानतमा बिनाधितो ऋण प्रवाह तथा ब्याजमा अनुदान दिँदै स्वरोजगारको प्रवद्र्धन गर्न कार्यक्रम सञ्चालन गर्न लागेको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले जानकारी दिए । वैदेशिक रोजगारीबाट फर्किएका र उनीहरूको सीप र दक्षतालाई नगरपालिकामै पुनरुत्थान गर्न बैंकसँग बिनाधितो ऋण र ब्याजमा अनुदान दिने कार्यक्रमलाई अगाडि बढाएको उनले बताए ।

     विदुर नगरपालिकाको नगर प्रमुख उद्यमशीलता विकास निर्देशिकाअनुसार महिला उद्यमशीलता विकास गर्ने, दलित समुदायको परम्परागत सीप र पेसालाई आधुनिकीकरण गर्ने, जनजाति सीमान्तकृत, अपाङ्गता तथा विपन्न वर्गलाई विशेष प्राथमिकता दिँदै आय-आर्जनमा सहजता प्रदान गर्ने बताइएको छ । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण अधिकारी र विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा नेपाल बैंक लिमिटेड बागमती प्रदेश प्रमुख सुन्दर पन्थी र नेपाल बैंक त्रिशूली शाखाका प्रबन्धक सुजन राजकर्णिकार, विदुर नगरपालिकाका उपप्रमुख गीताकुमारी दाहाल, प्रमुख प्रशासकीय अधिकृत सुदेवकुमार पोखरेलको सहभागिता रहेको थियो । बिनाधितोको ब्याजमा नेपाल बैंकले ६ प्रतिशत र नगरपालिकाले ३ प्रतिशत अनुदान दिने सम्झौतामा उल्लेख छ ।