दुई निरङ्कुश नेताको निरन्तरको लडाइँले नेकपा सङ्कटमा

  • त्रिशूली प्रवाह
  • २० कार्तिक २०७७, बिहीबार १३:५५

जनतामा कम्युनिस्टप्रति नै वितृष्णा बढ्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुई निरङ्कुश नेताको निरन्तरको लडाइँले कम्युनिस्ट सरकारकै बदनाम हुन पुगेको छ । नेकपा पार्टी गठन भएपछि दुई अध्यक्ष छन्– केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड । प्रचण्डले कहिल्यै पनि अरूको नेतृत्व स्वीकार गरेको इतिहास छैन । उनी जहिले पनि आफ्नै नेतृत्व मात्र रुचाउने स्वभावका निरङ्कुशताका पक्षधर हुन् । उनी आफू कमजोर भएर अरूलाई नेता मान्ने सहनशील नेताको रूपमा देखा पर्न नसक्ने अवस्थामा छन् । ०५२ सालमा जनयुद्ध सुरु भएदेखि मात्र होइन त्यसभन्दा अगाडि पनि उनी अरूलाई नेतृत्व दिएर आफू पछिपछि हिँड्ने थिएनन् । जुनसुकै तिकडम अपनाएर भए पनि आफ्नोवरिपरि नै कार्यकर्ता घुमाउने बानी उनको पुरानो हो ।
जनयुद्धकालमा उनले पार्टीको एकल नेतृत्व गरे । जनयुद्धपछि शान्तिप्रक्रिया आएपछि पनि उनले माओवादीको महाधिवेशनको नाटक गरे । कसैलाई पनि नेतृत्व दिन तयार भएनन् । उनको निरङ्कुश शैलीको माओवादीभित्रै विरोध भयो । तर, उनले नेतृत्वमा आउन कसैलाई दिएनन् । उनी आफू मात्र नेता बन्न चाहे । आफूले नेतृत्व गरे पार्टी रहने नत्र नरहने मानसिकताबाट उनी सधैँ गुज्रिरहे । उनले तत्कालीन माओवादीलाई शक्तिशाली होइन खियाउँदै सानो एउटा गुटको रूपमा पु¥याए । उनले आफू नेतृत्वमा टिकिरहनका लागि नेपाली काङ्ग्रेससँग चुनावी तालमेलसमेत गरे । तर, स्थानीय चुनावमा उनले सोचेकोभन्दा ठीक विपरीत परिणाम आएपछि उनी आत्तिए । एमालेसँग चुनावी तालमेल गर्ने योजना बनाए र आमनिर्वाचनमा एमालेसँग तालमेल गरे । स्थानीय तहको परिणामको आधारमा सिट सङ्ख्या बाँडफाँड भयो । त्यसपछि प्रचण्ड केही खुम्चिए ।

      आमनिर्वाचनमा परिणाम आएपछि प्रचण्ड एमालेसँग पार्टी एकता गर्न कार्यकर्ता दबाबमा परे । यदि आफूले पाएका सबै सिटमा जित्न सकेको भए उनी पार्टी एकता गर्ने पक्षमा थिएनन् । उनी आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने बाटो खुला गर्ने अभियानमा लागे । त्यहीअनुसार लिखित सहमति पनि गराए । तर, त्यो लिखितलाई केपी ओलीले धोती लगाइदिए । अनि प्रचण्ड त्रसित बने, मभन्दा निरङ्कुश त ओली छ भन्ने सोचे । ओली पनि के कम, प्रचण्डलाई पेलेको पेलै गरेर लैजान्छु भनेर प्रचण्डभन्दा निरङ्कुश बन्ने योजना बनाए । प्रचण्डले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक नपाएसम्म ओलीलाई अगाडि बढ्न नदिने योजना सार्वजनिक गरे । ओलीले प्रचण्डलाई कार्यकारी अधिकारसहितको अध्यक्ष दिए, तर काम गर्न दिएनन् । पार्टीमा प्रचण्ड कार्यकारी अधिकारसहितको अध्यक्ष छन्, तर ओलीले काम गर्न दिएका छैनन् । सरकारमा ओली सुविधाजनक बहुमतमा छन्, तर पाइलापाइलामा अवरोध भोग्नु परिरहेको छ ।

       ओलीले विगतमा पार्टीभित्र अरूको नेतृत्व स्वीकार गरेको देखिन्छ, तर जोरजबर्जस्त रूपमा पनि स्वीकार गरेको इतिहास छ । आफ्नै पार्टीका महासचिवलाई बेलाबेलामा घेराबन्दी गरेर आफूले नै शक्ति हत्याउन ओलीले धेरै तिकडम गरे पनि अन्ततः नेतृत्व भने स्वीकार गरेका छन् । तर, अहिले नेकपामा भने प्रचण्डले शक्तिबिना बस्नै नसक्ने लक्षण देखाएपछि ओली पनि खतरनाक निरङ्कुश शासक बनेर निस्किएका छन् । प्रचण्डलाई शक्तिमा आउनै नदिने । अहिले नेकपामा एकजना जसरी पनि शक्ति खोस्ने र अर्को जसरी पनि शक्ति आफूमा निहित राख्ने अवस्थामा छन् । त्यही भएर मिलेको भनेको विवाद तत्काल बल्झिने गरेको छ । यसले नेकपाको सरकारका काममै अवरोध आएको छ । नेकपामा प्रचण्ड पुराना निरङ्कुश र ओली नयाँ निरङ्कुश हुन् । यी दुवै निरङ्कुशको कारण जनतामा कम्युनिस्टप्रति नै वितृष्णा जगाएको छ ।