रसुवामा पर्यटक आउन थाले

  • त्रिशूली प्रवाह
  • २० कार्तिक २०७७, बिहीबार १५:२९
Logo of trishuli prawaha

धुन्चे, पर्यटकीय सिजन सुरु भएसँगै रसुवाको पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक देखिन थालेका छन् । जिल्लाको मुख्य आयस्रोतको रूपमा रहेको पर्यटन क्षेत्र विगत १० महिनादेखि ठप्प रहेको थियो ।

      कोभिड-१९ का कारण गत वर्षको माघदेखि पर्यटक आएका थिएनन् । चीनमा कोरोना सङ्क्रमण सुरु भएदेखि नै जिल्लाको पर्यटकीय क्षेत्र सुनसान बनेका थिए । अहिले पर्यटक आउन थालेपछि होटेल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । जिल्ला भित्र्एिका प्रायः पर्यटक गोसाइँकुण्ड तथा लाङटाङ गइरहेका होटेल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाले जनाएको छ ।पर्यटनको मुख्य सिजन सुरु भएसँगै दैनिक डेढ सयको हाराहारीमा पर्यटक जिल्लामा भित्रिन थालेका छन् । पर्यटक आउने क्रम सुरु भएसँगै गोसाइँकुण्ड, लाङटाङ तथा तामाङ सम्पदा मार्गलगायतका क्षेत्रमा रहेका होटेल, लज तथा चिया पसल खुल्न थालेका छन् । गोसाइँकुण्डमा अहिले दैनिक ८०-९० जनासम्म पर्यटक आउने गरेको गोसाइँकुण्ड होटेल तथा लज व्यवस्थापन उपसमितिका अध्यक्ष रेन्जन तामाङले बताए ।बाँकी पर्यटक लाङटाङलगायत अन्य पर्यटकीय क्षेत्रमा पुग्ने गरेका छन् । जिल्लामा आउने पर्यटक लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदा मार्ग, रसुवागढी, नागथली, पार्वतीकुण्डलगायतका क्षेत्रमा जाने गरेका छन् । सामूहिक रूपमा घुम्न मन पराउने युवा न्यूनतम दुईजनादेखि १५ जनासम्मको समूहमा आउने गरेको उपसमितिले जानकारी दिएको छ ।

      जिल्लाको पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्न थालेपछि व्यवसायीमा केही आशा पलाएको होटेल रेडपान्डा एन्ड लज सिङगुम्बा (चन्दनबारी)का प्रोपाइटर सुब्बा लामाले बताए । लामो समय व्यवसाय ठप्प हुँदा व्यवसायीमा निराशा छाएको थियो । अहिले बिस्तारै पर्यटकको आगमन बढ्न थालेपछि व्यवसायी उत्साहित बनेका छन् । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर व्यवसाय अगाडि बढाउन जिल्लाका सबै व्यवसायीलाई अनुरोध गरिएको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताए ।