बीस वर्षपछि प्रहरी आफ्नै भवनमा

  • त्रिशूली प्रवाह
  • २७ कार्तिक २०७७, बिहीबार ११:५०

विदुर, सशस्त्र युद्ध र विनासकारी भूकम्पले क्षति पुगेका प्रहरी इकाईको भवन पुनःनिर्माण अन्तरगत बेलकोटगढी नगरपालिका वडा नं.-६ मा रहेको प्रहरीचौकी झिल्टुङ्गको नयाँ भवन निर्माण भएको छ ।

      सशस्त्र द्धन्द्धको समयमा चौकी छाडेर प्रहरी जिल्लामा केन्द्रित भएपछि खाली भवनमा बम प्रहारबाट क्षति पुगेको चौकीको बीस वर्षपछि आफ्नै सुविधायुक्त भवन बनेको छ । नयाँ भवनको मंगलबार वागमति प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्दै प्रदेस मातहतका प्रहरी युनिटमा प्रयाप्त दरबन्दी, आवश्यक भौतिक संरचना र समय सान्दर्भिक तालिमको प्रबन्धमा कुनै कमी हुन नदिने बताउनुभयो ।

       बागमती प्रहरी प्रमुख बसन्तकुमार लामाले सशस्त्र युद्ध र विनासकारी भूकम्पले क्षति पुगेका भौतिक संरचना पुनःनिर्माण अन्तिम चरणमा पुगेको र प्रदेसभित्रका सबै स्थानीयतहमा प्रहरी इकाई स्थापना गरिएको बताउनुभयो । वागमती प्रदेसमार्फत प्राप्त १ करोड ८७ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको प्रहरीचौकी महिलामैत्री, अपाङ्गतामैत्री सहितको कार्यालय र ब्यारेक भवन रहेको जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) तुलबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँको अनुसार भवनमा प्रहरी युनिटको लागि आवश्यक कार्यकक्ष सहितको बहुविपत् प्रतिरोधी भवनमा नौवटा कोठा रहेका छन् ।

      प्रहरीचौकी झिल्टुङ्ग स्थापनाको समयमा साविक दुईपिपल गाविसको मुकाम रहेको स्थान डबलीमा भएपनि चौकीमा क्षति पुगेपछि पुनःस्थापनाको क्रममा स्थानन्तरण गरेर घ्याम्पेस्थित भाडाको घरबाट सञ्चालन गर्दै सोही स्थानमा नयाँ भवन बनाईएको हो । नयाँ भवन निर्माणको लागि निःशुल्क जग्गा उपलब्ध गराउने बेलकोटगढी नगरपालिका वडा नं.-६ का गोपीप्रसाद घिमिरे र उत्तरकुमार घिमिरेलाई प्रंशसापत्रले सम्मान गरिएको छ । हिजो बुधबार सशस्त्र युद्धको समयमा क्षति पुगेका प्रहरी युनिटको पुनःनिर्माण अन्तरगत किम्ताङ प्रहरीचौकीको नवनिर्मित भवन मन्त्री जमकट्टेलले उद्घाटन गर्नुभएकोे थियो ।