इञ्जिनियर घुससहित पक्राउ

  • त्रिशूली प्रवाह
  • २७ कार्तिक २०७७, बिहीबार ११:५४
Logo of trishuli prawaha

विदुर, बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जिनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार घुस लिंदै गर्दा पक्राउ गरेको छ ।

      घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा बेलकोटगढी नगरपालिका वडा नं.-८ का एक जना सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा पौडेलसहित उनलाई सहयोग पुराएको भन्दै बेलकोटगढी नगरपालिका वडा नं.-९ का नारायणप्रसाद भट्टलाई अख्तियारले शनिबार बट्टारबाट पक्राउ गरेको हो ।

       अख्तियारका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लकोअनुसार सेवाग्राहीसँग घुस लिए लगत्तै पौडेल र भट्टलाई बट्टारको एक होटलबाट पक्राउ गरिएको हो । सेवाग्राहीसँग रकम माग गरेको अडियो रेकर्ड, घटनास्थलमा गरिएको ‘रङ्गेहात परीक्षण’ र अख्तियारमार्फत सेवाग्राहीले दिएको ७५ हजार रुपैयाँ बरामद भएसँगै ‘घुस रिसवत भ्रष्टाचार’ मुद्दामा कारबाहीको लागि उनीहरु दुवैजना अख्तियारले पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिएको छ ।

     पक्राउ परेकालाई अख्तियारको केन्द्रीय कार्यालय काठमाडौले कारबाहीको लागि विशेष अदालतबाट हिरासतमा राख्न म्याद लिएर अनुसन्धान शुरू गरेको छ ।