शंखपार्क निर्माण

  • त्रिशूली प्रवाह
  • २७ कार्तिक २०७७, बिहीबार १२:१४
Logo of trishuli prawaha

धुन्चे, रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा धुङलाङ (शंख) पार्क निर्माण सम्पन्न भएको छ ।

      गोसाइँकुण्ड गाउँपालिका र मानेकोर सोसाईटी नेपाल अन्तर्गत सञ्चालित युएनडिपीसँगको साझेदारीमा सञ्चालित सामुदायिक संरचना तथा जिविकोपार्जन सुधार परियोजनाको संयुक्त साझेदारी तथा रसुवा संरक्षण तथा साँस्कृतिक कला समुहको सहजिकरणमा सदरमुकाम धुन्चेमा शंखपार्क निर्माण गरिएको हो । उक्त पार्कको गत महिना गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङ, टुल्कुछोलिङ गुम्बाका प्रमुख लामा नुर्पू छोवाङ घले, संविधान सभाका सदस्य छोवाङ तेन्जिन तामाङले विधिवत रुपमा उद्घाटन गरेका थिए । उद्घाटन लगत्तै पार्कको साँचो गोसाइँकुण्ड गाउँपालिका वडा नं.-६ का वडाध्यक्ष दावासिदार वाइवालाई हस्तान्तरण गरिएको थियो ।

     गोसाइँकुण्ड गाउँपालिकाको १० लाख, मानेकोर सोसाईटीको ५ लाख र उपभोक्ता समितिको जनश्रमदानबाट १ लाख ७३ हजार गरी कुल १७ लाख ३३ हजार रूपैयाँको लागतमा शंखपार्क निर्माण गरिएको पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष उमेश तामाङले बताउनु भयो । टुल्कुछोलिङ गुम्बाले जग्गा उपलब्ध गराएसँगै पार्क निर्माण भएको हो । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले गाउँपालिकाको पहिचान दिनका लागि शंखपार्कले योगदान पुग्ने बताउनु भयो । गाउँपालिकाभरी धेरै सम्भावना रहेको र क्षेत्रलाई कसरी ब्यवस्थापन गर्ने, बढी प्रचार गर्ने, र आन्तरिक एवम बाह्य पर्यटक कसरी भित्र्याउने भन्ने विषयमा आफूहरू लागि परेको समेत उहाँले बताउनु भयो ।
निर्माण गरिएको शंखपार्कमा तिन वटा बोर्ड झुन्डाईएको छ । एउटा बोर्डमा गोसाइँकुण्ड गाउँपालिकाको पर्यटकिय क्षेत्र, गाउँपालिकाको ६ वटै वडालाई सम्बोधन गर्ने फोटो र पर्यटकिय पदमार्गको नक्सा राखिएको छ ।

     बौद्ध धर्मअनुसार भगवान र मानव युगमा मानव बस्ति छनौट गर्ने क्रममा भगवानले परापुर्व कालमा बोङजो डाडाँबाट शंख फुक्दा हाल धुन्चेको ब्राबल भन्ने स्थानमा उक्त शंख अडिन पुगेको र उक्त शंख अडिएको स्थानलाई मानव बस्ति बस्न योग्य र सधैब भगवानको कृपा रहने स्थान हुनेछ भनि फ्याकिएको सो शंख ठाडो भई अडिएकोले स्थानिय भाषामा शंखलाई धुङ र ठाडो भई अडिएकोलाई लाङ्ग भनिएको हो । यी दुई शब्द मिलि बनेको धुङलाङ शब्दबाट सदरमुकाम धुन्चेको नामाकरण रहन गएको किम्बदन्ति रहेको छ ।