गेर्खुटारमा औद्योगिक ग्राम

  • त्रिशूली प्रवाह
  • २७ कार्तिक २०७७, बिहीबार १२:०९
Logo of trishuli prawaha

गेर्खुटार, नुवाकोटको विदुर नगरपालिका वडा नम्बर-१० मा औद्योगिक ग्राम स्थापना हुने भएको छ ।

      साबिक गेर्खु गाविस वडा नम्बर-३ को शुभघाटमा रहेको १ सय ८३ रोपनी जग्गा क्षेत्रफलमा औद्योगिक ग्राम स्थापना हुन लागेको विदुर नगरपालिकाले जनाएको छ । उद्योग मन्त्रालयले औद्योगिक ग्रामको अध्ययन गरी मन्त्रि परिषद्मा पेश गरेको छ । आवश्यक प्रकृया पूरा गरी औद्योगिक ग्राम स्थापनाको लागी मन्त्रि परिषद्मा पेश भएको बिदुर नगरपालिकाले जानकारी दिएको छ । नुवाकोटमा औद्योगिक ग्राम स्थापनाको लागी चालू आर्थिक वर्षमा १ करोड बजेट समेत उद्योग मन्त्रालयले बिनियोजन गरेको छ ।

      हाल तत्कालै ४७ रोपनी क्षेत्रमा औधोगिक ग्रामको लागी पुर्वाधार विकास हुनेछ । मन्त्रिपरिषदको निर्णयसँगै बिदुर नगरपालिकामार्फत औद्योगिक ग्रामको पुर्वाधार विकास शुरु हुने मेयर सञ्जु पण्डितले जानकारी दिनुभयो । उद्योग मन्त्रालयको औद्योगिक ग्राम सम्बन्धी निर्देशिका अनुसार उद्योगग्राममा साना तथा मझौला उद्योग मात्रै स्थापना गर्न पाउने प्रावधान रहेको छ ।

      निर्देशिका अनुसार ग्राम भित्र उद्योग स्थापनाको लागि सुची दर्ता भई पास भएसँगै उद्योगको बाहिरी संरचना औद्योगिक ग्रामले नै निर्माण गरिदिनेछ । सिमित तोकिएको रकम तिरेर ग्रामभित्र साना तथा मझौला उद्योग सञ्चालन गर्न पाउने ब्यवस्था रहेको मेयर पण्डितले बताउनु भयो ।