सशस्त्रको जग्गा नहुँदा पूर्वाधार निर्माणमा समस्या

  • त्रिशूली प्रवाह
  • ४ मंसिर २०७७, बिहीबार १०:४९
Logo of trishuli prawaha

विदुर, नुवाकोट जिल्लाको सुरक्षा व्यवस्थापनमा विगत दुई वर्षदेखि खटिएको सशस्त्र प्रहरी बलको आफ्नै नाममा जग्गा नहुँदा भौतिक पूर्वाधार निर्माण गर्न समस्या परेको छ ।

     सरकारले ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बलको युनिट स्थापना गर्ने नीतिअनुरूप नुवाकोटमा २०७७ भदौदेखि स्थापना भई राज्यले सुम्पिएको दायित्व निर्वाह गर्दै आइरहेको छ । जिल्लाको शान्तिसुरक्षा कायम गर्न अहरोत्र खटिएको सशस्त्र प्रहरी बल नेपालको नम्बर १९ गुल्म हेटक्वार्टर बस्ने ठाउँ र जग्गाको अझै टुङ्गो लागेको छैन । जिल्लामा स्थापना भएदेखि सशस्त्र प्रहरी बलका लागि जिल्ला समन्वय समिति, विदुर नगरपालिका र सांसदको सिफारिसमा जिल्ला सुरक्षा समितिले निर्णय गरेर विदुरमा रहेको भूसंरक्षण कार्यालयको निर्माणाधीन भवन परिसरमा त्रिपाल टाँगेर कार्यालय स्थापना गरेको थियो । खारेजीमा परेको भूसुरक्षण कार्यालयको भवन अहिले सशस्त्र प्रहरीले कार्यालय र ब्यारेकका लागि प्रयोग गरिरहेको छ । उक्त कार्यालय खारेजीमा परेको र अन्य स्थानमा जग्गा व्यवस्था गर्न सहज नभएकाले उक्त ११ रोपनी जग्गा र भवन सशस्त्र प्रहरीलाई हस्तान्तरण गर्न जिल्ला समन्वय समिति र विदुर नगरपालिकाले सम्बन्धित निकायमा सिुफारिस गरेर प्रदेश र सङ्घीय सांसदले पहल गरिरहेको भए पनि हालसम्म निर्णय भएको छैन । सशस्त्रको स्थायी कार्यालय र ब्यारेक नहुँदा स्तरोन्नति र वृत्ति विकासमा बाधा पुगेको छ ।

     गत हप्ता बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले जिल्लामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म हेडक्वार्टरको निरीक्षण गरी जग्गा व्यवस्था गरी अफिस तथा ब्यारेक बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए । जिल्लामा सुरक्षा व्यवस्था मजबुत बनाउन सशस्त्र प्रहरी अपरिहार्य भइसकेकाले स्थायी कार्यालय र ब्यारेकका लागि सदरमुकाममै व्यवस्था गर्न उनले प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ र विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितलगायत राजनीतिक दलको नेताहरूसँग छलफलसमेत गरेका थिए ।

      सशस्त्र प्रहरीले नुवाकोटमा स्थापनादेखि नै विपत् उद्धार, सडक दुर्घटना, अवैध नदीजन्य उत्खनन नियन्त्रण, राष्ट्रिय गौरवका आयोजनाको सुरक्षा, महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, कोरोना रोकथाम, नियन्त्रण तथा निषेधाज्ञाको कार्यान्वयन एवम् सामाजिक क्रियाकलापमा सीमित साधन र स्रोतको बाबजुद अहरोत्र समर्पित भइरहेको छ । त्रुटिहीन सुरक्षा व्यवस्थापनमा खटिएको सशस्त्र प्रहरी बलको मनोबल बढाउन सदरमुकाममा रहेको सरकारी कार्यालयको बेवारिसे अवस्था रहेको जग्गा र भवनको संरक्षण र सुरक्षा गर्न पनि सशस्त्र प्रहरीलाई राख्नुपर्ने सुझाव नागरिक समाजका अध्यक्ष बाबुराम लामिछानेले दिएका छन् ।