प्रमुख–उपप्रमुखबीच सम्बन्ध सुध्रिएन

  • त्रिशूली प्रवाह
  • ४ मंसिर २०७७, बिहीबार १०:५४
Logo of trishuli prawaha

नुवाकोटका पालिकामा चरम आर्थिक अनियमितता

विदुर, संविधानले परिकल्पना गरेको तीन सरकारमध्येको स्थानीय सरकार नागरिकका लागि भन्दा बढी जनप्रतिनिधिका लागि अवसर लिएर आएको महसुस भइरहेको छ । नुवाकोटका १० वटा गाउँपालिका र दुईवटा नगरपालिकाका प्रमुख-उपप्रमुखबीचको द्वन्द्वले विकास निर्माण र दैनिक कार्यसमेत प्रभावित भइरहेको छ । निर्वाचित भएको तीन वर्ष बितिसक्दा पनि जिल्लाका १० वटा गाउँपालिका र दुईवटा नगरपालिकाका प्रमुख-उपप्रमुखबीचको सम्बन्ध सुध्रिन सकेको छैन ।

      नुवाकोटका केही स्थानीय सरकारको कार्यशैली र गतिविधिका कारण नागरिक मात्रै होइन, अवसर प्राप्त नगर्ने जनप्रतिनिधिसमेत विपक्षमा उभिएका छन् । विशेषगरी एउटै पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखबीच विवाद चुलिँदै गएको छ । निर्वाचित भएको तीन वर्ष बितिसक्दा पनि पालिकाका प्रमुख-उपप्रमुखबीच सम्बन्ध सुधार हुन नसक्दा गाउँपालिकाको सेवा प्रवाह र विकास निर्माण प्रभावित भइरहेको हो । जिल्लाको उपप्रमुख-उपाध्यक्षहरूको अधिकार प्रयोगको विषयमा थुप्रै घटना सतहमा आएका छन् ।

      समाचार स्रोतका अनुसार अध्यक्ष र उपाध्यक्षको बोलचालसमेत नभएको स्थानीय तह पनि नुवाकोटमा रहेका छन् । अध्यक्षहरूको आफ्नै शैलीका कारण उपाध्यक्षहरूले गर्न थालेको आन्तरिक विद्रोहका कारण स्थानीय सरकारको काममा समेत समस्या आउन थालेको छ । आफ्नो पीडा र समस्याको विषयमा बाहिर अभिव्यक्ति दिने उपाध्यक्षहरूलाई गाउँपालिका अध्यक्षहरूले अहिले पेल्न थालेका छन् । यसरी अध्यक्ष र उपाध्यक्षबीचमा विवाद बढेको स्थानीय तहमा म्यागङ गाउँपालिका, सूर्यगढी गाउँपालिका, तारकेश्वर गाउँपालिका, लिखु गाउँपालिका अग्रस्थानमा छन् । त्यस्तै, बेलकोटगढी नगरपालिकामा पनि प्रमुख र उपप्रमुखबीच लामो समयदेखि ठास्स-ठुस्स चलिनै रहेको छ । म्यागङ र सूर्यगढीमा अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसबाट, तारकेश्वर र बेलकोगढीमा प्रमुख र उपप्रमुख नेकपाबाट र लिखुमा अध्यक्ष नेपाली कांग्रेसबाट र उपाध्यक्ष नेकपाबाट निर्वाचित छन् ।

      दसैँअघि लिखु गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठलाई प्रमुख अतिथि बनाएर सिलाइकटाइ तालिमको समापन गरिने भएपछि उपाध्यक्ष रोजिना राई गइनन् । उपाध्यक्ष राईले परिकल्पना गरेको कार्यक्रमअन्तर्गत विनियोजित चार लाख रुपैयाँ बजेटको सिलाइकटाइ तालिम समापनमा अध्यक्षको हस्तक्षेप रहेको भन्दै उनले कार्यक्रम बहिष्कार गरेर विरोध जनाइन् । तीन महिनासम्म चल्नुपर्ने तालिम कोरोना भाइरसको कारण छोट्याएको र गाउँपालिकाले गर्ने कार्यक्रम आफ्नै खर्चले गरेकोझैँ अध्यक्षको हस्तक्षेपलाई उनले मन पराइनन् र कार्यक्रममा सहभागी नभएको उनका सहयोगी वडाध्यक्षहरूले बताएका छन् । उपाध्यक्ष राई वडाध्यक्षसहित बहुमतमा रहेकाले गाउँपालिकाले नियमित बैठकसमेत गर्न सकेको छैन ।

      तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्ती र तारादेवी रिमालबीच लामो समयसम्म संवादहीनता रह्यो । पार्टीले सम्बन्ध सुधारका लागि पहल गरे पनि अध्यक्षको व्यवहारको कारण अहिले पनि सामान्य ‘हाइहल्लो’मै सीमित छ । उनीहरूबीचमा पनि उपाध्यक्षले प्रयोग गर्न पाउनुपर्ने अधिकारका लागि विवाद भइरहेको छ । गाउँपालिकाको सवारीसाधन अध्यक्षले निजी सवारीसाधनझैं प्रयोग गर्ने र उपाध्यक्ष गाउँपालिकाकै काममा पनि अरूसँग ‘लिफ्ट’ माग्नुपर्ने अवस्था आएपछि उनीहरूबीचको विवाद सतहमा आएको हो । गाउँपालिकाले उपाध्यक्षलाई एक थान स्कुटर खरिद गरेर उपलब्ध गराएको भए पनि तारकेश्वर गाउँपालिकाको सडक अवस्थाका कारण खासै स्कुटर प्रयोग हुने अवस्था छैन । विकास निर्माणको नाममा विनियोजन हुने बजेटमा समेत अपारदर्शिता रहेको उपाध्यक्ष रिमालको दाबी छ । पार्टीको नेताहरूलाई खुसी पार्दै आफू अनुकूल अध्यक्षले बजेट कार्यान्वयनको प्रयास गर्ने गरेकाले वडाध्यक्षहरूसमेत आन्दोलित बनिरहेका छन् ।

      म्यागङ गाउँपालिकाको तीनवटा आर्थिक वर्षको कागजात आगलागीमा परेर नष्ट भयो । उक्त आगलागीको घटना नियोजित रहेको वडाध्यक्षले बताउँदै आए पनि हालसम्म विश्वसनीय छानबिन नहुँदा आर्थिक अनियमितता लुकाउन अध्यक्षको निर्देशनमा आगलागी भएको नेकपाका स्थानीय नेता र नेकपाबाट निर्वाचित जनप्रतिनिधिले आरोप लगाइरहेका छन् । गाउँपालिकाको कार्यालयमा अध्यक्षकै निर्देशनमा आगो लागेको नाटक गरिएको आरोप एक वर्षदेखि लाग्दै आएको छ । जिल्ला प्रशासन कार्यालयले गठन गरको छानबिन समिति र उपाध्यक्ष शान्ति लामाको संयोजकत्वमा बनेको छानबिन समितिले उक्त घटनामा सुनपानी त छर्के पनि गाउँपालिका कार्यालय भवन वरपरका छिमेकी र गाउँवासीले सत्यतथ्य छानबिन हुन नसकेको बताइरहेका छन् । तर, त्यही घटना सामसुम पार्नका लागि गाउँपालिका अध्यक्ष आशा तामाङले अहिलेसम्म पनि लाखौँ रकम खर्च गर्नु परिरहेको छ । राजनीतिक दलका नेता, जनप्रतिनिधि, कर्मचारी मिलाउनका लागि उनले गाउँपालिकाको बजेट दुरुपयोग गरिरहेको आरोप लागेको छ । विरोधीलाई मिलाउन र आगलागीको घटनाको विषयमा चर्चा साम्य पार्न गाउँपालिकाकै कोषबाट विभिन्न शीर्षकमा उनले तिहारअघिसम्ममा विभिन्न व्यक्ति र पत्रकारलाई रकम भुक्तानी गरिरहेका थिए । उनले दिगो हुने विकास निर्माणमा भन्दा क्षणिकका निर्माण कार्यलाई प्राथमिकता दिएर बजेट छुट्याउने, कामभन्दा बढी प्रचार गर्न बजेट खर्च गरेको भनेर नेपाली कांग्रेसले सचेत गराउँदै सच्चिन निर्देशन दिएको छ । तीन तहमा नेकपाको सरकार भए पनि म्यागङ गाउँपालिकामा अध्यक्ष आशा तामाङको अनियमित काममा स्थानीय नेकपाका नेता साक्षी बसिरहेका छन् ।

      सुर्यगढी गाउँपालिकाका उपाध्यक्ष मञ्जु बुढाथोकीले आफ्नो पदीय अभ्यास गर्न नपाएको र प्रायः काममा अध्यक्षको हस्तक्षेप रहँदै आएको गुनासो गर्दै आएकी छिन् । गाउँपालिकाले सम्पादन गर्ने काममा सामान्य सोधनी हुने गरेको भए पनि निर्णयगत तहमा आफ्नो कुनै हैसियत र भूमिका नरहेको उनको भनाइ छ । बेलकोटगढी नगरपालिकामा प्रमुख र उपप्रमुख नेकपाकै छन् । तर, नगरपालिकाले गर्ने काम र नागरिकको ‘कनेक्सन’मा व्यापक ध्रुवीकरण छ । पूर्वएमालेनिकटका नागरिक प्रमुख राजेन्द्ररमण खनाल र पूर्वमाओवादी केन्द्रकी उपप्रमुख कविता ढुङ्गानाको समेत सम्बन्ध सुमधुर छैन । प्रमुख खनालले उपप्रमुख ढुङ्गानालाई ‘मेजर’ कुरामा ‘बाइपास’ गर्ने गरेको चर्चा वडाध्यक्षले गर्ने गरेका छन् । कोरोना सङ्क्रमण सुरु भएपछि प्रमुख खनालले नगरपालिकाको कार्यालयभन्दा पारिपट्टि डाँडोमा रहेको ‘क्वाटर’बाट नगरपालिकाको काम गरिरहेका छन् । उपप्रमुख ढुङ्गाना नगरपालिकाको कार्यालयसँगै रहेको ‘क्वाटर’मा रहेर काम गरिरहेकी छिन् । उपप्रमुख ढुङ्गाना अहिले सुत्केरी छिन् । उपप्रमुखमार्फत आएको काम भन्नेबित्तिकै फाइल नै हुत्याउने गरेको गुनासो सेवाग्राहीले पटक–पटक बाहिर ल्याएका छन् । वल्लोडाँडा र पल्लोडाँडामा बसेर नगरपालिकाको कामकाज समालेका प्रमुख र उपप्रमुखबीच गतिलो संवाद हुने गरेको छैन । कोरोना सर्ने भन्दै गएको चैतदेखि युनोप्सको फिल्ड अफिसको भवनसँगै बसेका प्रमुख खनालले तारबारले घेरेर भित्र कसैलाई प्रवेश दिएका छैनन् । तारबार बाहिरैबाट नगरवासीले प्रमुखसँग संवाद गर्नुपर्ने र उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसमेत तारबार बाहिरबाट प्रमुखसँग ठूलो-ठूलो स्वरमा बोलेर छलफल गरिरहेको अवस्था छ ।

      माथि उल्लेख भएकाबाहेक कोरोना भाइरसको नाममा पालिकाले गरेको खर्च अन्धाधुन्द छ । अन्य शीर्षकमा राख्न नमिल्ने वा गाउँ सभाले तोकेकोभन्दा बाहिर खर्च भएका रकम सबै कोरोना नियन्त्रण र रोकथाममा भन्दै खर्च राख्ने गरिएको छ । यो सबै स्थानीय तहको साझा विकृतिको रूपमा रहेको छ । नुवाकोटमा विदुर नगरपालिकाबाहेकका कुनै पनि स्थानीय तहले कोरोना भाइरसको नाममा गरेको खर्च सार्वजनिक गर्न सकेको छैन । लाखौँ रुपैयाँ कोरोनाकै नाममा स्वाहा पारेका कारण ती स्थानीय तह कोरोनाको शीर्षकमा भएको खर्च सार्वजनिक गर्न डराएका हुन् । उता ककनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षकै आडमा सडक कार्यालयको जग्गा र भवन स्थानीय सङ्घसंस्था, सरकारी कार्यालय र स्थानीयवासीले अतिक्रमण गरिरहेको खबर बाहिर आएको छ । ककनीको पर्यटकीय क्षेत्रदेखि पासाङल्हामु राजमार्गको थुप्रै स्थान र विद्यालय परिसरमा समेत सार्वजनिक जग्गा अतिक्रमण बढेको स्थानीय समाजसेवी अशोक लामाले फोन गरेर सम्बन्धित निकायलाई जानकारी दिने गरे पनि रोकिएको छैन । यसरी अतिक्रमित सरकारी जग्गा खाली गराउनुको सट्टा अतिक्रमण गर्न प्रोत्साहन गरेको आरोपसमेत जनप्रतिनिधिलाई लागेको छ ।