एकल पुरुषलाई भत्ता

  • त्रिशूली प्रवाह
  • ४ मंसिर २०७७, बिहीबार १०:५५
Logo of trishuli prawaha

बुढीसेरा, सामाजिक सुरक्षा भत्ता कार्यक्रमअन्तर्गत एकल महिला र ज्येष्ठ नागरिक ७० वर्षभन्दा माथिका व्यक्तिलाई मात्रै सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएकोमा अब ६० वर्षदेखिकै एकल पुरुषले समेत मासिक एक हजार रुपैयाँ भत्ता पाउने भएको छ । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकाले ६० वर्षदेखिकै एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको छ ।

      पालिकाले वडा नं.-५ को शेराबगरमा रहेको गाउँपालिकाको पुरानो भवनमा डाक्टरसहितको स्वास्थ्य सेवा सुरु गरेको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएका बिरामीका लागि समेत सेवा दिने गरेर गाउँपालिकाले स्वास्थ्य सेवा सुरु गरिरहेको अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए । उनका अनुसार गाउँपालिकावासीका लागि स्वास्थ्य जाँच तथा परीक्षणका लागि सेवा सञ्चालनमा ल्याएकाले त्यसको लाभ उठाउन आग्रह गरेको छ । गाउँपालिकाले सङ्क्रमित बिरामीलाई घरकै एकान्तवासमा बस्ने सङ्क्रमितलाई पौष्टिकयुक्त खानाका लागि सहयोग पुग्ने उद्देश्यले एकमुष्ट तीन हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेकोे छ ।

      गाउँपालिकामार्फत जारी गरिएको सूचनाअनुसार लक्षण नभएका सङ्क्रमितले घरकै एकान्तवासमा बस्न पाउने र त्यो समयमा खानपानका लागि सन्तुलित तथा पौष्टिकयुक्त खाना आवश्यक पर्ने भएकाले त्यसका लागि पालिकाले तीन हजार रुपैयाँ दिने जनाएको हो । यसैगरी, गाउँपालिकाले ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषका लागि पनि मासिक एक हजार रुपैयाँ भत्ता दिने प्रक्रिया अगाडि बढाएको छ ।