जिल्लाका १२ पालिकालाई प्रशासनको सेवा बारअनुसार

  • त्रिशूली प्रवाह
  • ४ मंसिर २०७७, बिहीबार ११:००
Logo of trishuli prawaha

विदुर, कोरोना सङ्क्रमणको जोखिम बढ्न नदिन जिल्ला प्रशासन कार्यालय नुवाकोटले १२ वटा पालिकालाई बारअनुसारको सेवा दिन थालेको छ ।

     प्रशासनमार्फत प्रवाह हुने सेवा गत हप्तादेखि एक दिनमा चारवटा स्थानीय तहका सेवाग्राहीले पाइरहेका छन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना जारी गर्दै कात्तिक २१ गते शुक्रबारदेखि एक दिनमा चार स्थानीय तहको मात्र काम गर्ने जनाएको थियो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालद्वारा जारी सूचनामा एक दिनमा चार स्थानीय तहको मात्र काम हुने र त्यसका लागि जिल्लामा रहेका १२ स्थानीय तहलाई तीन समूह बनाइएको छ । एक सातामा एक स्थानीय तहका सेवाग्राहीले दुई दिन मात्र सेवा पाइरहेका छन् । प्रशासनको तालिकाअनुसार विदुर नगरपालिका, सूर्यगढी, तादी र दुप्चेश्वर गाउँपालिकाका सेवाग्राहीले आइतबार र बुधबार मात्र सेवा पाइरहेका छन् । यस्तै, बेलकोटगढी नगरपालिका, तारकेश्वर, म्यागङ र किस्पाङ गाउँपालिकाका सेवाग्राहीलाई सोमबार र बिहीबार मात्र सेवा उपलब्ध भइरहेको छ । यस्तै, पञ्चकन्या, शिवपुरी, लिखु र ककनी गाउँपालिकाका सेवाग्राहीले मंगलबार र शुक्रबार सेवा पाइरहेका छन् ।

      जिल्ला प्रशासन कार्यालयले सामाजिक दूरी कायम राख्न तथा स्वास्थ्य सुरक्षाको मापदण्ड कार्यान्वयन गराउन चुनौती भएकाले स्थानीय तहलाई एक सातामा दुई दिन मात्र सेवा उपलब्ध गराउने गरेर तालिका सूचना जारी गरेर जानकारी दिएको थियो । सार्वजनिक तालिका अनिश्चित समयका लागि कायम हुने उल्लेख गरिएको छ ।