तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ११ मंसिर २०७७, बिहीबार १३:२२
Buddha Eyes

कोरोना सङ्क्रमणको त्रास बढिरहे पनि नुवाकोटमा कोरोना नियन्त्रण गर्ने निकायका प्रमुखहरू नै उद्घाटन, शिलान्यास, गोष्ठीमै रमाइरहेका छन् । सर्वसाधारण पनि के कम, मेला, पर्व, विवाह, भोज चलाइनै रहेका छन् । सार्वजनिक सवारीसाधनको त कुरै नगरौँ । प्रहरी प्रशासनले निर्णय गरिदिएको सामाजिक दूरी कायम भए-नभएको, माक्स र स्यानिटाइजरको अवस्थाको निगरानी कसले पो गर्ने ? प्रशासनले गत कात्तिक २५ गतेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको भए पनि देउसी र भौलोका लागि मात्र भयो । रोग नियन्त्रणको जिम्मा पाएकाहरू नै औपचारिक कार्यक्रममा ठेलमठेल गरिरहेकाले कोरोना नियन्त्रण र रोकथाम कागजमै सीमित हुने हो कि भन्ने चिन्ता लागेको छ तेस्रो आँखालाई । जिल्ला कोरोनाको हटस्पट बन्नेतर्फ उन्मुख भए पनि जिल्लाका नेता, जनप्रतिनिधिलाई भने अवैध गिटी, बालुवालाई वैध बनाउनै व्यस्त । कोरोना नियन्त्रणबाहिर गएमा प्रशासक र स्थानीय निकायबीच आरोप–प्रत्यारोप हुने चिन्ता सर्वसाधारणलाई ।