बिना धितो ऋण प्रवाह गर्न तादी गापा र कृषि बैंकबीच सम्झौता

  • त्रिशूली प्रवाह
  • १७ मंसिर २०७७, बुधबार १६:२४

खरानीटार, नुवाकोट उद्योग वाणिज्य संघको पहलमा तादी गाउँपालिका र कृषि विकास बैंक खरानीटार शाखाबीच नेपाल सरकारको सहुलियतपूर्ण कर्जा तथा ब्यवसायिक कर्जा प्रवाहको लागि बुधबार सम्झौता भएको छ ।

      गाउँपालिकाको सिफारिस र नुवाकोट उद्योग वाणिज्य संघको समन्वयमा बैंकले ऋण प्रवाह गर्नेछ । गाउँपालिकाको कार्यालय खरानीटारमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे र बैंकका शाखा प्रबन्धक राजु मिजारले नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीलाई साक्षी राखेर सम्झौता गर्नुभएको छ । गाउँपालिकाको ६ वटा वडामा कृषि तथा पशुपक्षीजन्य तथा अन्य क्षेत्रको ब्यवसायिक प्रर्वद्धन गर्नको लागि सरकारको सहुलियतपूर्ण कर्जा लगानीको लागि आवश्यक सहयोग र सिफारिस गर्ने प्रतिबद्धता अध्यक्ष पाण्डेले गर्नुभएकोे छ । सरकारले सहुलियतपूर्ण कर्जाको लागि आवश्यक प्रक्रिया र कागजात हेरेर उचित देखिएका काम गर्न ईच्छुकलाई सिफारिस गर्ने अध्यक्ष पाण्डेले प्रतिबद्धता जनाउनुभएको छ ।

      बिना धितो कर्जा प्रवाहको लागि कार्यविधीअनुसार स्वरोजगारीको अवसर तथा उद्यम प्रबद्धन गर्न, विदेशबाट फर्केका युवाको विदेशमा आर्जन गरेको सिप र ब्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिला उद्यमशिलता क्षमताको विकास गरे दलित समुदायको परम्परागत सिप र पेशालाई आधुनिकीकरण गरी ब्यवसायिक अभिबृद्धि गर्न जनजाति सिमान्तकृत अपाङ्गता तथा विपन्न वर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदान गरी उद्यमशिलता विकास तथा बित्तीय पहुँच बढाउने उद्देश्यले बैंक र गाउँपालिकाबीचत सम्झौता भएको छ । यो कर्जा ९ प्रतिशत ब्याजमा प्रदान गरिने र ५ प्रतिशत अनुदान राष्ट्र बैंकले दिने कार्य विधीमा उल्लेख छ । उक्त सम्झौता गर्नु भन्दा पनि कार्यान्वयन गराएर उद्यमी बृद्धि गरी स्वरोजगार बनाउन नुवाकोट उद्योग वाणिज्य संघ सक्रिय रहने अध्यक्ष कार्कीले सो अवसरमा प्रतिबद्धता जनाउनुभएको छ । सम्झौता कार्यक्रममा गाउँपालिकाका प्रशासकिय अधिकृत बिनोदराज खरेल, गाउँपालिकाकी उपाध्यक्ष ईश्वरी उप्रेती, नुवाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शरणउत्सुक सापकोटालगायतको सहभागिता थियो ।