बहुप्राविधिक शिक्षालयको शुभारम्भ

  • त्रिशूली प्रवाह
  • १८ मंसिर २०७७, बिहीबार १५:५२

विदुर, नुवाकोटमा स्थापना भएको पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको शुभारम्भ भएको छ ।

      शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षालयको शुभारम्भ गर्दै गरिखाने शिक्षालाई सबै जिल्ला-जिल्लामा पु¥याउने नीति राज्यले लिएको बताए । प्राविधिक विद्यालयको आवश्यकता र स्थानीय तहको चाहनाको रूपमा विदुर नगरपालिकाभित्र बहुप्राविधिक विद्यालय सञ्चालन सुरु गरेको उनको भनाइ छ । कार्यक्रममा नेकपाका नेता एवम् प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले गरिबका बालबालिकाका लागि प्राविधिक शिक्षालय उपयोगी भएको बताए । प्राविधिक शिक्षा अध्ययन गर्न नुवाकोट, रसुवाका बालबालिका काठमाडौं जानुपर्ने बाध्यता अब हटेको उनले बताए ।

     सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले विदुर नगरपालिका क्षेत्रमा स्थापना भएको पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले नुवाकोटको मात्रै नभई रसुवा र धादिङका नागरिकका लागि समेत अवसर रहेको बताए । पहिलो चरणमा कृषि तथा बाली विज्ञानको अध्यापन सुरु भइसकेकाले क्रमशः प्राविधिक शिक्षालाई बढाउँदै अगाडि लैजाने प्रतिबद्धता जनाए । विदुर नगरपालिका-१ को इन्द्रायणीघाटमा रहेको सार्वजनिक जग्गामा विद्यालयको भौतिक संरचना निर्माण हुनेछ । नक्साका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए ।

      बान्द्रेमा रहेको सहिद स्मृति भवन, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भौतिक संरचनामा प्राविधिक विद्यालय सञ्चालन सुरु गर्न लागिएको छ । केही समयमा नै प्राविधिक विद्यालयको सुविधासम्पन्न भौतिक संरचना निर्माण हुने बताइएको छ । नुवाकोटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने र प्रदेश सभा सदस्यले साझा योजनाको रूपमा सबैले पोष्टबहादुर बोगटी बहुप्राविधिक विद्यालयको भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गरेका छन् ।