मेयर पण्डित योजना निरीक्षणमा

  • त्रिशूली प्रवाह
  • १८ मंसिर २०७७, बिहीबार १५:५३
Logo of trishuli prawaha

विदुर, नगरपालिकाका प्रमुख सञ्जु पण्डित आफ्नो नगरभित्रका सबै योजनामा प्रत्यक्ष निरीक्षणमा सक्रिय भएका छन् ।

       विदुर नगरपालिकाका सबै भित्री सडक कालोपत्रे गर्ने अभियानअन्तर्गत धमाधम कालोपत्रे काम सुरु भएको स्थानमा नगर प्रमुख आफैँ अनुगमनमा जान थालेका छन् । नगरपालिकाले विनियोजन गरेको बजेट र प्रदेश सङ्घसँगको साझेदारीमा स्तरोन्नति भइरहेका योजनाको प्रत्यक्ष अनुगमनका लागि नगरप्रमुख पण्डित आफैँ पुग्ने गरेका हुन् । नागरिकबाट गुणस्तरीय काम हुन छाडेको र निर्माण पक्षले आलटाल गर्न थालेको गुनासो नगरपालिकामा आउन थालेपछि नगरप्रमुख पण्डित आफैँ आयोजनाको अनुगमनमा जान थालेका हुन् ।

       विदुर नगरपालिका-४ स्थित युनाइटेड आधारभूत विद्यालयदेखि बट्टार क्याम्पस चौरसम्मको सडकमा कालोपत्रे तथा नाली निर्माणको काम तीव्र गतिमा भइरहेको छ । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित आफैँ योजनाको निरीक्षण र अनुगमनका निमित्त कार्यस्थलमै पुगेका छन् । त्यसैगरी वडाध्यक्ष टलकमान श्रेष्ठले पनि जनताका समस्या र आवश्यकतालाई प्राथमिकताका आधारमा बजेट विनियोजन तथा निर्माण गरिने बताए ।