स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापना

  • त्रिशूली प्रवाह
  • १८ मंसिर २०७७, बिहीबार १५:५४

बट्टार, विदुर नगरपालिका-३ खड्गभञ्ज्याङ स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापना भएको छ ।

     बिरामीमा के रोग लागेको भनेर थाहा पाउन रगत, खकार, दिसा-पिसाबको परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । स्थापना गरिएको प्रयोगशालाको आइतबार विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गीताकुमारी दाहाल, वडा नं.-३ का वडाध्यक्ष बद्री रिमालले संयुक्त रूपमा उद्घाटन गर्दै सेवा सञ्चालन भएको थियो । यसअघि स्वास्थ्यचौकीमा जाँच, सुत्केरी सेवा (बर्थिङ सेन्टर)लगायतको सुविधा भए पनि जाँच गर्ने प्रयोगशालाको अभावले बिरामीलाई अन्यत्र पठाउनुपर्ने समस्या रहेकोमा आइतबारदेखि अन्त्य भएको छ । प्रयोगशालाको स्थापनासँगै कोरोना रोगको परीक्षणका लागि स्वाब सङ्कलनका लागि समेत सहज भएको छ ।

     प्रयोगशालामा आवश्यक सामग्री, व्यक्तिगत सुरक्षा-साधनसमेत उपलब्ध भएकाले स्वास्थ्यचौकीले कोरोना जाँच गर्न नमुना सङ्कलन गरेर त्रिशूली अस्पतालको प्रयोगशालामा पठाउन सहज भएको छ । विदुर नगरपालिकाले यो वर्ष कल्याणपुर, गेर्खु, नुवाकोट र चारघरेमा रहेको स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापना गर्ने कार्यक्रम राखेको छ ।