बेलकोटगढी नपाको सहयोगमा नागरिकता अभिलेख बाइन्डिङ

  • त्रिशूली प्रवाह
  • १८ मंसिर २०७७, बिहीबार १६:००

विदुर, जिल्ला प्रशासन कार्यालय नुवाकोटमा रहेको नागरिकताको वर्षौं पुरानो अभिलेखलाई थप बाइन्डिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

     बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रशासन कार्यालयमा रहेका नागरिकताको पुरानो अभिलेखलाई कभरसहित पुनः बाइन्डिङ गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । ०७२ सालको भूकम्पले जिल्ला प्रशासन कार्यालय भवन भत्किएर अभिलेखसहित अन्य महत्वपूर्ण कागजात पुरिएको थियो । भूकम्पले पुरिएका अभिलेखलाई सङ्कलन गरी प्रशासनले काम चलाइरहेको थियो । नुवाकोटका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेदेखि झंकनाथ ढकालले कार्यालयलाई थप व्यवस्थित गर्दै कर्मचारीलाई प्रोत्साहन र हौसला दिँदै नयाँ रूप दिएका छन् । तीन महिनाअघि सेवा लिन पुगेका सेवाग्राही अहिले प्रशासन कार्यालय पुग्दा अन्यत्र गएँ कि भनेर महसुस गराउने गरी आन्तरिक व्यवस्थापन कार्यालयमा भइरहेको छ ।

      प्रशासन कार्यालयमा रहेको जिल्लावासीको महत्वपूर्ण अभिलेखलाई व्यवस्थित र बाइन्डिङ गर्ने कार्यमा सहयोग गरेको बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । ०३० सालदेखिको नागरिकताको अभिलेख भूकम्पले गर्दा थप क्षति भए पनि दैनिक पल्टाउँदापल्टाउँदै झुत्रो र रेकर्ड नै नासिने क्रममा पुगेको थियो । अहिले उक्त अभिलेखलाई थप बाइन्डिङ र च्यातिएको पानामा कागज टाँसेर व्यवस्थित र सुरक्षित गरिएको नागरिकता अभिलेख फाँटका गोपाल श्रेष्ठले जानकारी दिए । प्रशासनले बेलकोटगढी नगरपालिकाको सहयोगमा पाँच सय ९९ थान ढड्डालाई सुरक्षित साथ थप बाइन्डिङ गरिसकेको प्रशासकीय अधिकृत धर्मराज भट्टले बताए । थप बाइन्डिङले अभिलेख हेर्न सजिलो भएकोसमेत उनले जानकारी दिए । नागरिकतालगायतका अन्य महत्वपूर्ण अभिलेखलाई प्रशासन कार्यालयले डिजिटाइजेसन गर्दै लैजाने कार्यक्रमअनुसार एक हजार थान एकप्रति नागरिकताका अभिलेखलाई कम्प्युटरमा राख्ने कार्य भइसकेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुरेश श्रेष्ठले बताए । जिल्लावासीको महत्वपूर्ण अभिलेख, नागरिकतालगायत अन्य विवरण डिजिटाइजेसन गर्न अन्य सरोकारवालाले सहयोग गर्नुपर्ने धारणा नागरिक अगुवाहरूले गरिरहेका छन् । जिल्लाका १२ वटै पालिकाले सहयोग गरेर भए पनि अभिलेखलाई भविष्यसम्म सुरक्षित राख्नुपर्ने सुझाव नेपाल पत्रकार महासङ्घ नुवाकोटका सभापति कपिलदेव खनालले दिए । सीमित साधन र स्रोतबीच पनि प्रशासनले थालेको यो अभियानलाई सेवाग्राहीले प्रशंसा गरेका छन् ।

      सेवाग्राहीको सुविधा र हितका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट जिल्ला ‘प्रशासन सुधार वार्षिक कार्ययोजना तर्जुमा’ गरी निरन्तर रूपमा सुधार कार्य अगाडि बढिरहेको छ । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले राजस्व दाखिलाका लागि सेवाग्राहीले भोग्नुपरेको लामो समयदेखिको समस्यालाई प्रशासननजिकै रहेको एनआइसी एसिया बैंकको एक्स्टेन्सन काउन्टरमा बुझाउने सुविधा उपलब्ध गराएका हुन् । अहिलेका प्रमुख जिल्ला अधिकारी ढकाल नुवाकोटमा सेवा सुधारका लागि कार्यालयमा निःशुल्क वाइफाई, टिभी, ज्येष्ठ नागरिकका लागि विश्रामस्थान, स्तनपान कक्ष, निःशुल्क फोटोकपी, तातो-चिसो पानी, मोबाइल चार्ज गर्ने सुविधा, निवेदन लेख्नुपर्ने बाध्यताको अन्त्य, २४सै घन्टा गुनासो सुन्ने व्यवस्था, कार्यालय परिसरमा आकर्षक बगैँचालगायत कार्यालयको आन्तरिक पक्षमा धेरै सुधार गरिरहेका छन् । सेवा प्रवाहसहित जिल्लाभित्रको अन्य मानवीय चासो, शान्ति सुरक्षा, सरकारी सेवा प्रवाहका लागि पनि समन्वय र सहजीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका छन् । उनीमार्फत भए–गरेका कार्यसम्पादन निकै गुणस्तरीय र जिल्लाका लागि उपयोगी रहेको बागमती प्रदेश सभाका मुख्य सचेतक केशव पाण्डेले बताए ।