हाम्रा कुरा : सञ्चार क्षेत्र पनि सङ्कटमा !

  • त्रिशूली प्रवाह
  • १८ मंसिर २०७७, बिहीबार १६:०४
Logo of trishuli prawaha

कोरोना भाइरस (कोभिड-१९) को महाव्याधि तीव्र गति र स्तरमा विस्तार हुँदा सबै क्षेत्रले धेरथोर सङ्कटको सामना गरिरहेका छन् । यस महाव्याधिको कडा मारमा सञ्चार क्षेत्र सबैभन्दा बढी परेको क्षेत्र हो ।

     कोरोना भाइरस नियन्त्रणका लागि अपनाइएका लकडाउन तथा भौतिक दूरी कायम गर्नुपर्ने परिस्थितिको कारण समाचार सङ्कलन, प्रशोधन तथा प्रकाशन/प्रसारणको क्षमतालाई खुम्च्याइदिएको छ । नागरिकलाई सुसूचित गर्ने र सरकारलगायत अन्य शक्तिको जवाफदेहिता माग गर्ने दायित्व अझ बढिरहेको छ । यस्तो परिस्थितिमा पनि सञ्चारमाध्यमले दायित्व निर्वाह गरिरहेका छन् । यो महाव्याधिमा देशमा भ्रष्टाचारमा वृद्धि भइरहेको अनुसन्धानले देखाएको छ । विपत्मा द्रुत विधि अपनाउने बहानामा भष्टाचार एवम् अनियमितता गर्न सहज भएको छ । यो अवस्थाको चिरफार गरी जनतालाई सुसूचित गराउन पत्रकारिता तथा सञ्चारमाध्यमको आवश्यकता अझ बढेको छ ।

      जिल्लामा सङ्कटको यो अवधिमा आपूर्ति भएका गुणस्तरहीन माक्स, स्यानिटाइजर एवम् अन्य स्वास्थ्य सामग्री एवम् उपकरणको खरिदमा स्थानीय निकाय र गैरसरकारी सङ्घसंस्थाले ठूलो धनराशि खरिद गरिरहेका छन् । त्यसको खोजीमा सञ्चारकर्मीले सक्रियता प्रदर्शन गर्न नसक्दा अनियमितता मौलाइरहेको छ । स्थानीय तह र सरकारीमातहतका जिम्मेवारी बोकेकाले सही सूचना दिन नचाहने अवस्था र सञ्चारमाध्यम कमजोर हुँदा कोरोनाको नाममा गरिएका खर्चको उत्खनन हुन नसक्दा अनियमितता गर्न पल्केकाहरूको मनोबल बढिरहेको छ । यो सङ्कट सामना गर्न नसक्दा संसारभरका धेरै सञ्चार गृह बन्द हुँदा धेरैको रोजीरोटी खोसिएको छ । नेपालमा पनि आर्थिक रूपमा जिल्लामा रहेका तथा कमजोर साना, मझौला र ठूला आकारका सञ्चारगृह बन्द हुँदा सयौँ पत्रकार बेरोजगार बनिरहेका छन् ।

      नेपाल पत्रकार महासङ्घको तथ्याङ्कअनुसार चार सयभन्दा बढी पत्रकार कोरोना सङ्क्रमित र चारजना पत्रकार कोरोनाकै कारण मृत्यु भएको छ । यी त भए पत्रकारिता क्षेत्रको अवस्था त्योबाहेक पत्रपत्रिकाबाट कोरोना भाइरस सर्ने अफवाहले पत्रपत्रिकाको दूरी बढाउने काम भइरहेको छ । यो त्यस्तो अफवाहको कारण कोरोना कालमा पत्रपत्रिका दुब्लाउँदै जानु र बन्द गर्नुपर्ने बाध्यता आएको हो । सामाजिक सञ्जालमा पत्रपत्रिकाबाट कोरोना सर्ने हल्लाले पत्रपत्रिका घरघर पु¥याउनसमेत असर प¥यो । बिस्तारै कोरोनाविरुद्धको खोपको सफल परीक्षणका खबरले समाजमा सकारात्मक उत्साह थपिएको छ । कोरोनाविरुद्धको सङ्घर्षमा मानव जगत्ले जित हासिल गर्न अझै एक डेढ वर्ष लाग्न सक्छ । यो सङ्कटको ढिलो-चाँडो पार हुने आसले सञ्चार क्षेत्रमा सुधार आउने छनक देखिँदै छ । सञ्चार क्षेत्र सशक्त नबनेसम्म आर्थिक सामाजिक अवस्था सुधारदेखि लोकतान्त्रिक व्यवस्था स्थापित र कोरोना महाव्याधिबाट पार लगाउन भइरहेको प्रयास सफल हुन सक्दैन ।