रसुवागढी भन्सारबाट निर्यात शून्य

  • त्रिशूली प्रवाह
  • १८ मंसिर २०७७, बिहीबार १६:०५

धुन्चे, चीनसँगको आयात-निर्यात हुने प्रमुख नाका रसुवागढी नाकाबाट चालू आर्थिक वर्षमा निर्यात शून्य भएको छ । चालू आवको पहिलो चौमासिकमा निर्यात शून्य रहेको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ ।

       कोरोना महामारीका कारण यस आवको चार महिनामा यो नाकाबाट निर्यात शून्य भए पनि आयात भने केही भइरहेको तथ्याङ्क रसुवागढी भन्सार कार्यालयले सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा रसुवागढी नाकाबाट तीन अर्ब ७३ करोड चार लाख ८६ हजार मूल्यबराबरको सामान नेपाल भित्रिएको छ । गत आवको यो अवधिमा उक्त भन्सार कार्यालयले १९ अर्ब ४१ करोड ७४ लाख ३६ हजार मूल्यबराबरको सामान नेपाल भित्रिएको थियो । उक्त आवको भन्दा यो आवको यो अवधिमा १५ अर्ब ६८ करोड ६ लाख ५० हजार मूल्यबराबरको आयात घटेको छ । रसुवागढी नाकाबाट नेपाली व्यवसायीको सामान आयातमा कोरोना महामारीको बहाना बनाउँदै चिनियाँ पक्षले एक वर्षदेखि सहज रूपमा ल्याउन दिएका छैनन् । नेपाली कन्टेरलाई सामान लिन केरुङ जान चिनियाँ अधिकारीले नदिएपछि करोडौँ मूल्यका नेपाली व्यवसायीका सामान गोदाममा थन्किएर बिग्रिरहेको छ ।

       नेपाल सरकारको पहलमा दैनिक पाँच कन्टेनर सामान चीनले नेपाली भूमिसम्म अहिले ल्याइदिने गरेका छन् । यो अवस्था रहिरहे केरुङको गोदाममा रहेको सामान नेपाल भित्रिन एक वर्ष लाग्ने व्यवसायीले बताएका छन् । एक वर्षदेखि चीनबाट आर्यात भएका सयौँ कन्टेनर सामान केरुङको गोदाममा थन्किएको छ । यो नाकाबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता, चप्पल, मोटरका ब्याट्री, कम्प्युटरका पार्टस्, युपिएसलगायतका वस्तु आयात हुने गरेको छ ।