घरमै एकान्तवास बस्नेको अनुभव कोरानाबाट सुरक्षित गाउँघर

  • त्रिशूली प्रवाह
  • १८ मंसिर २०७७, बिहीबार १६:१०
  • फुर्पा तामाङ

नतर्सिनु होला ! सङ्क्रमित भए पनि माथि उल्लेखित खानेकुरा खाने, घरमै आराम गर्ने र घरेलु उपचार नियमित गरे कोरोनालाई जित्न सकिन्छ ।

       राज्यको कमजोर व्यवस्थापन, नागरिकको लापरबाहीपनले गर्दा गाउँघरमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण दसैँ अघिदेखि नै फैलिएको थियो । परीक्षण गर्ने प्रयोगशाला जिल्ला अस्पतालमा नहुनु र कोरोनारोगीप्रतिको समाज तथा राज्यले गर्ने दुव्र्यवहारले गर्दा कसैले पनि कोरोना लागेको भन्दैनन् । उनीहरू आफूलाई रुघा लाग्यो भन्छन् । के-के हुन्छ ? कस्तो भयो ? कसरी निको भयो ? भनेर सोध्दा कोरोना लाग्दा हुने लक्षणसँग हुबहु मिल्ने बताउँछन् । सुरुमा ज्यान मान्छेले कुटेसरी वा भिरबाट लडेजस्तै दुख्यो भन्छन् । बढीमा दुई दिन ज्वरो आयो । नाक, मुख सुक्खा भयो । घाँटी खसखस भयो । तीन–चार दिनपछि बिस्तारै नाकले गन्ध थाहा नपाउने भयो वा अर्कै खालको गन्ध आयो । जिब्रोको स्वाद घट्यो । खाना मन लागेन । सिरक ओढ्दा गर्मी भएजस्तो चिटचिट पसिना आउने । सिरक हटायो जाडो महसुस हुने । कम्मर, जोर्नी, ढाड र टाउको दुख्ने । सुतेर बस्न मन लाग्ने । निद्रा लाग्ने । कमजोर र थकान महसुस हुने बताउँछन् । यति भनेपछि यो कोरोना हो कि रुघा ? के लक्षण मिलेन त ?

      गत साता गाउँमा गएको थिएँ । छिमेकी काका तेम्बादर्के तामाङको सातदिने नेपर अर्थात् घेवा (मृत्यु) संस्कार थियो । उक्त कार्यक्रममा सहभागी गाउँलेले मलाई यसरी बताए । कुरा गर्दा के थाहा पाइयो भने भार्खु गाउँमा करिब ९० प्रतिशत घरधुरी सङ्क्रमित भएकोजस्तो लाग्यो । कोही निको भइसकेको र कोहीचाहिँ सङ्क्रमित भइरहेको बुझियो । बिरामी भए पनि आजसम्म कसैको पनि मृत्यु नहुँदा गाउँलेमा ठूलो आत्मबल रहेको पाइयो । केहीले रक्सी तताएर खाएकोले निको भयो पनि भने । यो नै खुसी लाग्यो । रुघा लागेको भन्नेहरू तर कोरोना लक्षण भएका धुन्चे, सानोभार्खु, स्याफ्रुबेंसी, चिलिमे र टिमुरेमा पनि अत्यधिक रहेको धेरैले बताएका छन् । म आफू दसैँमा चाड मनाउने क्रममा गाउँ जाँदा सङ्क्रमित भएको रहेछु । कात्तिक ८ को रातिदेखि म र श्रीमतीलाई उपरोक्त लक्षण देखा प¥यो । १० गतेबाट कान्छो छोरालाई पनि ज्वरो आयो । हामीलाई पनि हल्का ज्वरो आयो । सुरुको दुई-तीन दिन जिउ दुखेर सहनै नसकिने । एक हप्ता साह्रै कमजोर हुने रहेछ । श्रीमतीलाई कहिलेकाहीँ सास फेर्न हल्का समस्या भयो । हामी कात्तिक १० गतेदेखि मङ्सिर ८ गतेसम्म घरमै एकान्तवास बस्यौँ । पूर्ण रूपमा लक्षण हराउन १४/१५ दिन लाग्यो । पाँचवटा जति लोकल भाले खायौँ । साह्रै तागत मिल्यो, भालेको मासुको सुप खानाले । कहिलेकाहीँ खसीको मासु र ब्रोइलर कुखुरा । गेडागुडीको झोल । ताजा सागसब्जी खायौँ । दैनिक स्याउ खाइयो । करुको पिठो र छुर्पीको खोले । काजु, बदाम, सुकेको अङ्गुर र ओखर खायौँ । घरेलु ओखतीमा बेसारपानी, तुलसी र गुर्जाेपानी । दैनिक तीनपटक तातोपानीको बाफ लिने ग¥यौँ । मेरो अनुभवमा तातोपानीको बाफले निकै राम्रो गर्दाेरहेछ ।

      १४ दिनपछि आकाश खुलेकोझैँ छ्याङ्ग हुँदो रहेछ । हराएको नाकको गन्ध र जिब्रोको स्वाद फर्कियो । मनमा निकै खुसी छायो । अनि परीक्षणका लागि रसुवा जिल्ला अस्पतालका डाक्टर अनिल खरेल र जनस्वास्थ्य अधिकृत किरण श्रेष्ठसँग फोनबाट सम्पर्क गरेँ । लक्षण हरायो भने परीक्षण गर्नुपर्दैन । सरकारको नीति र विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो प्रोटोकलअनुसार लक्षण हराएपछि परीक्षण गर्नु नपर्ने बताउनुभयो । साथै, यहाँ परीक्षण नहुने र स्वाब सङ्कलन गरेर त्रिशूलीको ल्याबमा पठाउनुपर्छ । त्रिशूलीको ल्याबले पनि कीट अभाव छ, स्वाब नपठाउनू भन्छन्, यसरी बताएपछि परीक्षण गर्न सहज नभएको बुझियो । नतर्सिनु होला ! सङ्क्रमित भए पनि माथि उल्लेखित खानेकुरा खाने, घरमै आराम गर्ने र घरेलु उपचार नियमित गरे कोरोनालाई जित्न सकिन्छ । गाउँघरमा परीक्षण गरे सयौँको सङ्ख्यामा सङ्क्रमित भेटिन सक्छ । तर, घरमै स्याहार गर्ने भएकाले बिरामी मर्न पाएका छैनन् । तैपनि सङ्क्रमित खुला हिँड्नुभएन । मास्क लगाऔँ । जथाभावी नथुकौँ । साबुनपानीले मिचििमची हात धोऔँ । हात धुने अवस्था नभएमा स्यानिटाइजर प्रयोग गरौँ । सामाजिक दूरी कायम गरौँ । कोरोनाबाट सङ्क्रमित हुनबाट बचौँ । अरूलाई रोग सार्ने क्रियाकलाप नगरौँ । आफू पनि बाँचौँ, अरूलाई पनि बचाऔँ । यसैमा तपाईं/हामी सबैको भलो छ ।

      गत महिना नयाँ खोप आउने समाचार आएसँगै तपाईं/हामी सबैमा आशा जगाएको छ । खोप आउने सुनिश्चितताले कोरोना महामारी छिट्टै अन्त्य हुने अपेक्षा गरौँ । अधिकांश खोप उत्पादकले अनुसन्धान र विकास खर्च खोपको मूल्यमा राख्ने र नाफाका लागि निर्माण गर्ने हुनाले सुरुका दिनमा खोपको मूल्य बढी हुन सक्छ । अमेरिकाको बायो टेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोपको प्रभावकारिता लगभग ९५ प्रतिशत छ र यसलाई दुईदेखि आठ डिग्री सेल्सियसमा ३० दिनसम्म र कोठाको तापक्रममा २४ घन्टासम्म सुरक्षित राख्न सकिन्छ । खोपको यस्तो विशेषताका कारण उत्साह थप बढेको हो । तर, खोप अमेरिकामा बन्दै छ, नेपालमा होइन । हाम्रो गाउँठाउँमा यो उपलब्ध हुन अझै कुर्नुपर्नेछ । कति समय लाग्छ भन्ने कसैलाई थाहा छैन । स्वास्थ्य मन्त्रालयले खोप बन्नेबित्तिकै आयात गर्न आवश्यक ऐन, कानुनको तर्जुमा गरिसकेको भए पनि खरिदको प्रक्रिया अगाडि बढाउन समय लाग्नेछ । त्यसलाई प्रत्येक घरघरमा छिट्टै पु¥याउन सक्ने स्वास्थ्य संरचना हामीसँग छैन । परीक्षण मेसिन ल्याएर परीक्षण गर्न त हामीलाई धौ-धौ भयो झन् खोप नै लगाउन कतिको गाह्रो होला । बनाएको ३० दिनभित्र खोपको प्रयोग गरिसक्नुपर्छ । हाम्रा लागि यो कत्तिको सम्भव हुन्छ हेर्न बाँकी छ । खोप बनेर खुसी भए पनि हामीसम्म नआइपुग्दासम्म स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्नुको विकल्प छैन । मास्क लगाउने र भौतिक दूरीको पालना गर्नु अपरिहार्य छ ।

       स्वास्थ्य मन्त्रालयले महामारीमा स्वास्थ्य पूर्वाधारका क्षेत्रमा खासै काम गरेन, जसका कारण धेरै सङ्क्रमितको ज्यान गयो । भेन्टिलेटर र उपचार कक्षको अभाव अझै छ । कोरोनाको उपचारमा लापरबाही गरे पनि खोप ल्याउने र लगाउने संरचनालाई मजबुत पार्न स्वास्थ्य मन्त्रालयले तदारुकता देखाएको छ । यो हाम्रा लागि खुसीको खबर हो । सरकारको प्रयास सफल होस् । यसको छिटोभन्दा छिटो सहज तरिकाले हरेक नेपालीको खोप पाउने अवस्था रहोस् । नेपाललाई खोप दिन छिमेकी देश भारत र चीनले इच्छा देखाएको समाचारले पनि खोपको सुनिश्चितता हुने अपेक्षा बढाएको छ ।

(लेखक अधिवक्ता हुन् ।)
स्थायी घर : ठूलो भार्खु, रसुवा