गाई भैंसीलाई सुत्केरी भत्ता

  • त्रिशूली प्रवाह
  • २५ मंसिर २०७७, बिहीबार १४:२१
Logo of trishuli prawaha

धादिङवेंशी, धादिङ जिल्लाको दुई गाउँपालिकाले शुरू गरेको गाई, भैंसीलाई सुत्केरी भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । त्रिपुरासुन्दरी र खनियाँबास गाउँपालिकाले किसानले पालेको गाई, भैंसीलाई सुत्केरी भत्ता गत वर्षदेखि दिन थालेपछि कृषक उत्साहित भएका छन् ।

      भैंसी प्रर्वद्धन र दुध प्रयोजनमा बृद्धि गर्नुका साथै किसानलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले भत्ता दिने कार्यक्रम सञ्चालन गरिएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले जानकारी दिनुभयो । गाउँघरमा अहिले गाई, भैंसी पाल्नेको संख्या कम हुँदै गएको र दुध खाईसकेपछि मासुको प्रयोजनका लागि शहर पठाउने गर्दा भैंसी गाउँमा लोप हुने अवस्था आएकाले गाई, भैंसीको प्रर्वद्धन गर्न कार्यक्रम लागू गरिएको अध्यक्ष थापाले बताउनु भयो । अध्यक्ष थापाकाअनुसार गाई सुत्केरी भएमा १ हजार ५ सय र भैंसी सुत्केरी भएमा तीन हजार रूपैयाँ गाउँपालिकाले प्रदान गरिरहेको बताउनु भयो ।

      गाई, भैंसी सुत्केरी भएको रकम दाबी गर्न किसानले निवेदनको साथमा सुत्केरी पशुको माउ-बच्चाको फोटो, बीमा, वडाको सिफारिस र छिमेकीको सम्पर्क नम्बरसहित समावेंश गरेर गाउँपालिकाको कार्यालयमा कागजात पेश गर्नुपर्नेछ । खनियाँबासका किसान सन्त तामाङले पालिकाले सुत्केरी भत्ता दिन थालेपछि आफू जस्ता अन्य किसान भैंसी पालनतर्फ आकर्षित भईरहेको बताउनु भयो । खनियाँबास गाउँपालिकाले गत आर्थिक वर्षदेखि नै गाई, भैंसीलाई सुत्केरी भत्ता प्रदान गर्दै आएको पालिकाका अध्यक्ष रणबहादुर तामाङले बताउनु भयो ।